भुरा माछा : सरकारले खोलामा छाड्दै, स्थानीयले मार्दै

0
Shares

हेटौंडा।

पूर्वी मकवानपुरको वागमती गाउँपालिका वडा नम्बर–४, झुरझुरेस्थित वागमती नदीमा १ लाख माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटांैडाले वागमती नदीमा रहु र नैनी जातका १ लाख माछाका भुरा नदीमा छाडेको हो ।

वागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यता र प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटांैडा प्रमुख सरोजकुमार यादवको सभाध्यक्षता रहेको कार्यक्रममा भुरा छाडिएको हो ।

कार्यक्रममा घलानले पालिकामा माछा मारेर जीविका चलाउने समुदाय रहेको भन्दै भविष्यमा उक्त कार्यले उक्त समुदायलाई सहयोग पुग्ने बताउनुभयो । घलानले वर्तमान समयमा खोलानालमा विभिन्न विद्युतीय उपकरण प्रयोग र कलकारखानाबाट फालिएका विभिन्न केमिकलले खोलामा माछाको संख्या घट्न पुगेको बताउउँदै त्यस्तो कार्य सबै मिलेर रोक्नुपर्ने बताउनुभयो ।

कार्यालय प्रमुख यादबले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातका माछा छाड्ने गरिएको बताउनुभयो । खोलामा फोहोर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउनेलगायत कारण जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकासका लागि उक्त कार्य गरेको कार्यालय प्रमुख यादवले बताउनुभयो ।

उहाँले नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशय क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेट्रिकटन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने गरेको जानकारी दिनुभयो । जसमध्ये प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको यादबले बताउनुभयो ।

कार्यालयले यसअघि नारायणी नदीमा ४० हजार भुरा छाडेको थियो भने मकवानपुरको सामरी नदीमा ३४ हजार माछाका भुरा छाडेका थियो । आर्थिक वर्ष २०७९/०८० को कार्यालयको वार्षिक कार्यक्रमका रुपमा ६ वटा कार्यक्रम रहेकोमा आगामी कार्यक्रम कोशी, कर्णाली, सप्तकोशी, कालीगण्डकीलागायत नदीमा रहेको जानकारी गराइएको थियो ।

खोलामा माछाका प्रजातिहरु लोप हुने अवस्थामा गएपछि मकवानपुरको छतिवनस्थित सिमात र बकैया खोलामा ५० हजार स्थानीय जातका माछाका भुरा छाडिएका थिए । नदी र खोलामा पाइने स्थानीय प्रजातिका माछाको संरक्षण गरी माछा मारी जीविकोपार्जन गर्ने माझी, दनुवार राईजस्ता समुदायको आयआर्जनमा सघाउन मत्स्य विकास केन्द्र हेटौंडाले ५० हजार रहु र नैनी जातका माछाका भुरा खोलामा छाडेको थियो ।

स्थानीय जातको माछाको घरका रुपमा खोल्साखोल्सी, खोला र नदीलाई मान्ने गरिन्छ । खोलामा विषादि हाली माछा मार्ने, करेन्ट लगाउने र ब्लाष्ट गर्नेजस्ता अवैधढंगबाट माछा मारिँदा देशभर नै नदी र खोलाका माछाको अस्तित्व खतरामा छ ।

देशभर नै खोलामा बिषादि हाली माछा मार्ने गलत प्रवृत्ति बढ्दा खोलाका माछाको अस्तित्व नै खतरामा पर्न थालेको र यसैको कारण जाल हाली माछा मार्ने माझी र राई दनुवारजस्ता जातिको पेशासमेत संकटमा परेकाले स्थानीय जातको माछा संरक्षणको लागि भुरा छाडिँदै आएको छ ।

छतिवनको कर्मचुली र पावसमा गठित माछा संरक्षण समितिले खोलामा हालिएको उक्त माछाको संरक्षण गर्ने भनिए पनि त्यहाँ छाडिएका माछा तौल नपुग्दै सकिएका छन् । माछा हालिएपछि खोलामा विषादि प्रयोग गर्न र ब्लाष्ट गरी माछा मार्न नदिइने कर्मचुली माछा संरक्षण समिति अध्यक्ष कृष्ण माझीले बताउनुभएको थियो । तर, त्यसो हुन सकेन ।

खोलामा छाडिएका माछाका भुरा संरक्षणका लागि स्थानीयबासीलाई परिचालन गरिएको थियो । सामुदायिक बन संरक्षण गरेको जस्तै स्थानीयले खोला र यसको माछाको संरक्षण गर्नसके खोलाको समेत संरक्षण हुने यादबको भनाइ छ । स्थानीय सचेत युवाहरुले केही समय रातभर गस्ती गरी माछा जोगाउने प्रयास गरे पनि त्यो निष्प्रभावी बन्दा माछाका भुरा आधा किलोभन्दा बढी तौलका हुन सकेनन् । ‘हामीले खोलामा कफ्र्यु लगाएजस्तै रातभर गस्ती गर्दा पनि भुराहरु हुर्किन सकेनन्,’ गाउँमा माछा संरक्षणमा जुटेका विवश माझीले भन्नुभयो–हामीले सानोमा माछा नमार्न आग्रह र रोक्ने धेरै प्रयास गरे पनि त्यो सफल हुन सकेन ।
स्थानीय अधेंरी र जुइनालगायत क्षेत्रमा माछा मारेर बिक्री गरी परिवार पाल्दै आएका माझी समुदायको पेशा हाल धरासयी बनेको छ । स्थानीयले माछा संरक्षणमा चासो नदेखाउँदै विष हाल्ने, करेन्ट लगाएर मार्ने र बम पड्काएर मार्ने क्रम नरोकिएपछि ५० हजार भुरामध्ये अधिकांश आधा किलोभन्दा बढी तौल बनाउन नपाइ भान्सामा पुगेको गुनासो माझीले गर्नुभयो ।

माछा संरक्षणका लागि गठित समिति सक्रिय नबन्दा विविध उपाय अपनाएर अवैध तरिकाले माछा मार्नेहरुको संख्या बढ्दै गएकाले माछा जोगाउन नसकिएको उहाँले बताउनुभयो । अवैधढंगले माछा मारेका ४ जनालाई हात्तीसुँडे प्रहरीले प्रक्राउ गरी जरिवाना गराएर आइन्दा त्यसो नगर्ने सर्तमा छाडेको थियो । पछिल्लो समय फितलो कारबाही र स्थानीयकै निष्क्रियताका कारण माछा जोगाउन हम्मे परेको माझीको भनाइ छ ।

स्थानीय युवाको अर्को समूहले खोलामा माछा मार्न खुलेको हल्ला गाउँभर फिँजाएपछि हजुरबुबादेखि नातिसम्मकाहरु खोलामा माछा मार्न पुगेको स्मरण गर्दै माझीले अवैध कारोबारीले ती दुई खोलाका माछा मारेर ड्रमका ड्रम बिक्री गर्ने गरेकोले यस्तो अवस्था आएको बताउनुभयो ।