नेपाली युवा जापानी प्रहरीद्वारा सम्मानित

0
Shares

जापान ।

जापानको फुकुओकास्थित एक कन्विनिएंस स्टोरमा म्यानेजरको रुपमा कार्यरत नेपाली युवा शालिकराम सापकोटा फुकुओका प्रहरीद्वारा प्रशंसा पत्र सहित सम्मानित भएका छन्।

जापानी सञ्चार माध्यमहरुमा प्रकाशित खबरका अनुसार,ती युवाले आफ्नो पसलमा आएका एक वृद्ध उमेरका ग्राहकलाई ठगिमा पर्नबाट जोगाईदिई ठगी जन्य आपराधिक गतिविधिहरुलाई न्यूनीकरण गर्न मद्दत गरेकोमा फुकुओका प्रिफेक्चर प्रहरीले उनको कर्मलाई प्रशंसा गर्दै सम्मान गरेको हो।

एक वृद्ध व्यक्तिलाई फोन गरी ठग्न खोज्ने ठगहरुले तिम्रो कम्प्युटरमा भाइरस पसेको छ, कन्बिनी स्टोरमा गई ५० हजार येनको कार्ड किन्नुपर्छ भनेपछि वृद्ध जापानीले विश्वास गरी फोनमा बोल्दै ठगहरुले भने अनुसार कार्ड किन्न कन्बिनी स्टोरमा पुग्दा नेपाली मेनेजर सापकोटाले यो ठगी केस हो भनी शंका लागि ती वृद्ध व्यक्तिको फोन मागेर कुरा के हो ? म यस व्यक्तिको छोरा हुँ भनी ठगहरूलाई भन्ने बित्तिकै फोन काटेहालेछन् । यसरी यदि उनले ग्राहकलाई केही पनि नसोची कार्ड बेचिदिएका भए ५० हजार येन ठगी हुने थियो । तर सापकोटाको तदारुकताले ती वृद्ध ठगिनबाट जोगिए । र यही उपकारी कामका लागि प्रहरीले उनलाई सम्मान गरेको हो ।

यो घटना गत महिनाको २४ तारिख घटेको थियो भने,सापकोटालाई हिजो(नोभेम्बर ९ तारिख) प्रशंसा पत्र सहित सम्मान गरिएको हो । सापकोटा सामाजिक सञ्जाल टिकटक तथा युट्युब मार्फत जापानका नेपाली समुदाय लक्षित विभिन्न जानकारी मूलक सामग्रीहरु पनि सम्प्रेषण गर्ने गर्दछन् ।

जापानमा पछिल्ला केही वर्षयता वृद्ध/वृद्धा लक्षित अनलाइन एव टेलिफोन ठगीका घटनाहरु बढ्दो गतिमा रहेको छ।स्रोत: TNC テレビ西日本