उम्मेदवारको योजना : सडक, सदनदेखि वृत्ति विकाससम्म

0
Shares

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर २ मा ९ राजनीतिक दलले भाग लिएका छन् । सो क्षेत्रमा ९ राजनीतिक दलबाट ९ जना र स्वतन्त्रबाट ३ गरी जम्मा १२ जनाको उम्मेदवारी परेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरु गाउँ केन्द्रित बनिसकेका छन् । मतदाताको घरदैलोमा पुगेर मतदातासँगको सामिप्यता कसिरहेका उनीहरुले आ–आफ्ना एजेन्डालाई समेत मतदातासमक्ष प्रस्तुत गरिरहेका छन् । सबैजसो उम्मेदवार मतादातासँगको साक्षात्कारमा व्यस्त छन्, अनि आफ्ना चुनावी एजेन्डा सुनाइरहेका छन् । यसै सिलसिलामा स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवारहरुलाई चुनावी अभियानका सन्दर्भमा रहेर तपाईंको उम्मेदवारी किन र केका लागि भनेर सोधेका थियौं । प्रस्तुत छ– तिनै उम्मेदवारहरुसँग नेपाल समाचारपत्र दैनिकका लागि स्याङ्जा संवाददाता अमृत अर्यालले गरेको कुराकानीको सार:

 

मुलुकको भविष्य उज्यालो बनाउनु छ
धनराज गुरुङ (नेपाली कांग्रेस)
हिजो हामीले नेपालमा नयाँ व्यवस्था गणतन्त्र ल्यायौं । आम नेपालीको अवस्था बदललियोस् भनेर हामीले मुलुकको व्यवस्था परिवर्तन गरेका हौं नि । तर, मुलुकमा बदलिएको व्यवस्था अनुरूप आम नागरिकको अवस्था बदलियो कि बदलिएन ? भन्ने अहिलेको मुल प्रश्न हो । अहिले पनि हामीहरु हाम्रो मौलिक अधिकार प्राप्तिका लागि लडिरहनुपरेको छ । कतिले लडेर पाएका हौंला पहुँच नहुनेहरु लडेर पनि त्यो अधिकार प्राप्ति गर्न सकिरहेका छैनौं । यसर्थ मेरो उम्मेदवारी आम नेपालीले मौलिक अधिकार सहजै पाउनुपर्छ भन्ने अभियानको प्रारूप हो । राज्यलाई आम नेपालीप्रति उत्तरदायी बनाउनु अहिलेको प्रमुख अपरिहार्य विषय हो । अतः यो सिस्टम बसाल्नका लागि मैले आफूलाई अहिले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा प्रस्तुत गरेको छु । विशेष गरेर हामीले अहिले व्यवस्था बदल्यौं तर भ्रष्ट प्रवृत्ति बदल्न सकेका छैनौं । पहिलो मेरो योजना भ्रष्ट प्रवृत्तिको अन्त्य गरी सुशासनको प्रत्याभूति गराउने हो । मुलुक नै भ्रष्टाचारमा रुमलिएको बेला स्याङ्जा पनि अछुतो छैन । स्याङ्जा र मुलुकको उज्यालो भविष्यका लागि मेरो उम्मेदवारी हो ।

 


विकास र समृद्धि मेरो एजेन्डा
पद्माकुमारी अर्याल
नेकपा एमाले

विकास र समृद्धिको खाँचो छ भन्ने बहुमत भीडको प्रतिनिधिका रूपमा म मैदानमा उत्रिएकी छु । अहिले मेरो चुनावी अभियानका क्रममा पनि यो महिलाले केही गर्नसक्छ भन्ने दृढ विश्वास जागेको पाएकी छु । मतदाताहरुमा देखिएको यही विश्वास नै मेरो उम्मेदवारी हो । आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गरााउन तथा पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न म विगतदेखि नै लागिपरिरहेकी छु । स्वरेकको प्याराग्लाइडिङलाई राष्ट्रिय योजनाका रूपमा विकास गर्ने मेरो योजना रहेको छ । सिद्धार्थ राजमार्गलाई ४ लेनमा विस्तार, सबै मुख्य सडक कालोपत्रे, सबै बस्तीमा सडक नियमित सञ्चालन गराउनका लागि मेरो उम्मेदवारी हो । निरोगी नेपाल, सबल नागरिकको नीति अघि बढाउने तथा सफापानी, स्वच्छ वातावरणको सुनिश्चितता गर्ने अभियानमा म लागेकी छु । घर उज्यालो त मन उज्यालो सबैका लागि बिजुलीबत्ती सुनिश्चित गराउने एवं खेतबारीमा पानी, दोब्बर हुन्छ । उब्जनीको मान्यतामा अघि बढाउने सोचअनुरुप मेरो उम्मेदवारी परेको हो । सभ्य समाज ः मर्यादित नागरिकको नीति कार्यान्वयन गर्ने पक्षमा म छु । पूर्ण साक्षर जिल्ला र उद्यमशील शिक्षित युवाको नीति कार्यान्वयन गर्ने तथा हाम्रो उत्पादन स्वदेशी, बजार विदेशी बजारमा समेत बेच्ने वातावरण तथा कानुन निर्माणका लागि समेत मेरो उम्मेदवारी रहेको छ ।

राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्नु छ
लालगोपाल अर्याल
राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, एकता, स्वाधीनता, स्वाभिमान र समृद्धिका लागि समग्र राजनीतिलाई दिशा दिने र राष्ट्रिय शक्तिका सबै स्रोतहरुलाई त्यसतर्फ अभिमुख गराउने मेरो चाहना छ । संसदीय व्यवस्थामा राष्ट्रिय हितअनुकूलका कुराहरु संसद्मा राख्नका लागि मेरो उम्मेदवारी हो । हिन्दुराष्ट्र र राष्ट्रिय एकता कायम राख्न तथा संघीयताले मुलुकमा व्यायभारमात्र बढाएकाले संविधान संशोधन गरी संघीयता खारेज गर्नु पनि छ । यस क्षेत्रको भौतिक विकासका त गर्नु छँदै छ, नेपालको संविधानले समेत आत्मसात् गरेको समाजवाद उन्मुख प्रणालीको प्राप्तिका लागि उत्पादनका साधन र उत्पादन प्रणालीलाई तदनुकूल तुल्याउन तथा दलाल नोकरशाही पूँजीवादको चंगुलबाट जनता र देशलाई मुक्त गर्न भूमिका निर्वाह गर्नका लागि पनि मैले उम्मेदवारी दिएको हुँ ।

राजनीतिको फोहोर सफा गर्छु
टिकराज गुरुङ
राष्ट्रिय स्वतन्त्र पार्टी

राजनीतिमा देखिएको फोहोर सफा गर्न मैले मेरो उम्मेदवारी दिएको हुँ । देश विकास गर्न पहिला राजनीतिमा बढेको फोहोरी खेलको सफाइ गर्नुपर्छ । त्यसपछि विकासका काम अघि बढ्नेछ । मेरो उम्मेदवारी त्यही राजनीति सफाइ गर्न कुचो बोकेर आएको कुचीकारका रूपमा बुझ्नुस् । म पहिला राजनीति सफाइ गर्छु, अनि विकास । मेरो उम्मेदवारी कसैसँग बदला लिनका लागि होइन बदल्नका लागि हो । भ्रष्टाचार र विकृति तोड्नका लागि हो । जनताका न्यूनतम आवश्यकता परिपूर्ति गर्नका लागि हो । कुनै व्यक्ति कुनै विषयमा विद्यावारिधि गर्नुभनेको नीतिको विशेषज्ञ बन्नु हो । संसद्मा नीतिकै बारेमा काम हुन्छ, नीति बुझेको मान्छे नै जानुपर्छ । नीति बुझेको मान्छे प्रतिनिधिसभामा जान्छु भने त आम मतदाताले सहर्ष स्वीकार गर्नुहुन्छ भन्ने मेरो आशा छ ।


जनताको वृत्ति विकास गर्छु
रिमीसरा गाहा राना
राष्ट्रिय जनमुक्ति पार्टी

पछाडि परेको र पछाडि पारिएको वर्गको उत्थान र वृत्ति, विकास गर्नु छ । अहिले देश बेचेर खान लागिसके । बहुदलीय लोकतान्त्रिक समाजवाद उन्मुख, भ्रष्टाचारमुक्त समृद्ध राष्ट्र निर्माणका लागि पनि मैले उम्मेदवारी दिएकी हँु । जनमुक्ति विचारधारा, जातीय समानुपातिक प्रतिनिधित्व र पहिचानसहितको पूर्ण संघीय सरकार निर्माण गर्नु छ । त्यसका लागि म उभिएकी छु । हामी लामो समयदेखि आन्दोलनमा जोडिएका छौं, एकखालको पीडाबाट गुज्रिएका छौं । पीडा बुझेको र पीडा महसुस गरेको नेतृत्व अनि पीडा नबुझेको नेतृत्व फरक हुन्छ । क्षेत्रीय, जातीय र भौगोलिक उत्पीडन बुझेको मानिस त्यस ठाउँमा जानु र नजानुमा आकाश–पाताल फरक पर्ने भएकाले अरूभन्दा पीडा बुझेकै नेतृत्व चयन हुनुपर्छ ।


दीर्घकालीनरूपमा समस्या समाधान गर्छु
सागर ढकाल
स्वतन्त्र उम्मेदवार

मेरो उम्मेदवारी स्वतन्त्रताका लागि हो, स्वच्छन्दताका लागि होइन । देशको विषम परिस्थितिलाई मूलधारमा ल्याउन युवाको नै मुख्य जिम्मेवारी रहेकाले युवावर्गबाट मेरो उम्मेदवारी रहेको छ । आम नागरिकको एकै प्रकारको गुनासो छ, सहजै मौलिक अधिकार कसरी प्राप्ति गर्ने ? यो अधिकार दिलाइदिने भन्दै वषौंदेखि कबुल गर्दै आएका राजनीतिक दलहरुप्रति मतदाताको गुनासो छ । सहजै मौलिक अधिकार प्राप्ति हुन्छ भन्ने आशमा मत हाल्दै आएका आमनागरिकले त्यो अधिकार अहिलेसम्म पनि पाउन नसक्दा दलहरुप्रति निराशा जाग्नु स्वाभाविकै पनि हो । चुनाव आउँछ आश्वासन ठूलै पाइन्छ, तर व्यवहारत ः त्यो आश्वासन पूरा हुँदैन भन्ने जनगुनासो व्यापक रूपमा छ । अतः आम मतदाताको यो गुनासोलाई दीर्घकालीन समाधान हुने गरी काम गर्नका लागि मैले आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्दिनँ ।

बोलीमा होइन, कर्ममा विश्वास गर्नुस्
डोलराज विक
नेकपा माक्र्सवादी (पुष्पलाल)

शोषणरहित र भ्रष्टाचारमुक्त देश बनाउनका लागि मैले उम्मेदवारी दिएको हुँ । म राजनीतिकर्मी भएको नाताले मलाई आम मतदाताको मनोभावलाई झनै नजिकबाट नियाल्ने मौका पनि मिलेको छ । म चुनावी अभियानका क्रममा घरदैलोमा पुग्दा मतदाताहरुको गुनासा, असन्तुष्टि सुनेको छु । ती असन्तुष्टि गुनासाहरुको सम्बोधनको खाका तयार पारिरहेको पनि छु । यो मेरो प्रण पनि हो, कि आम नागरिकको मौलिक अधिकार प्राप्तिका लागि मेरो सक्रियता, दौड या लडाइँ नै भनौं, जारी राख्नेछु । म भत्ता प्रािप्तका लागि मात्रै नभई काम गरेर देखाउन शाहस राख्छु र काम गरेर देखाउने प्रण पनि मैले मनैदेखि गरेको छु । मूलतः आम मतादताहरुलाई मौलिक अधिकार कसरी प्रदान गर्ने भन्ने मेरो योजना मैले मतदाताहरुलाई सुनाइरहेको छु, उहाँहरु मप्रति सकारात्मक हुनुहुन्छ । म बोलीमा मात्रै होइन, कर्ममा विश्वास राख्ने मान्छे हुँ । साम्राज्यवाद र भारतीय विस्तारवादको विरोधका लागि, दीर्घकालीन कृषि क्रान्ति सम्पन्न गरी नयाँ जनवादी व्यवस्था स्थापना गर्नका लागि, सामन्तको जमिन राष्ट्रियकरण गरी बिनामुआब्जा किसानलाई जमिनको स्वामित्व हस्तान्तरण गर्नका लागि र जनआन्दोलनबाट प्राप्त सीमित अधिकारको संरक्षण गर्नका लागि मेरो उम्मेदवारी हो ।

नीतिगत काम गर्नेछु
गणेशप्रसाद पाण्डेय
नेपाली कांग्रेस (बीपी)

प्रतिनिधिसभामा गएपछि नीतिगत काम गर्नेछु । यसअघि निर्वाचित भएका तर जनताको आकांक्षा नबुझेकाहरुमाथि चरम आक्रोश छ । अधिकांश नेतृत्वले भोलिको दिनमा परिवर्तन दिन्छु भनेका थिए र अहिले पनि भनिरहेका छन् । भोलि परिवर्तन दिन्छु भन्नेहरुले आज परिवर्तित भएर देखाउन सकेनन् । देश संसदीय पद्धतिको बाटोमा हिँड्दै गर्दा म पनि हिँडेको हुँ । मेरो उम्मेदवारी देश र जनताका समस्या निराकरणका लागि हो । हामी संसद्मा पुग्नुभनेको नारायण गोपालको हातमा हार्मोनियम पुग्नुजस्तै हो । दुवैले दुवैको शोभा बढाउँछ । म उम्मेदवार भएको कुनै पद लिनका लागि होइन, खाली संसद्को सदस्य मात्र हुन आएको हो । हुन त संसद् पनि आफैंमा एउटा पद नै हो । संसद्लाई सुदृढीकरण गर्छु । मेरो त्योभन्दा अतिरिक्त अरू केही आकांक्षा छैन । अब संसद्भित्रबाट लोकतन्त्रको सुदृढीकरणमा लाग्नेछु ।


विकृति–विसंगतिको अन्त्य गर्छु
चिरञ्जीवी पाण्डेय
स्वतन्त्र उम्मेदवार

राष्ट्र र जनताको हितमाका लागि मैले उम्मेदवारी दिएको हुँ । अब रूपान्तरण र परिवर्तनको दिशामा अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा हो । नातावाद, कृपावाद, धनवाद र नेताको सामिप्यवादले चुनावमा टिकट पाउने पद्धतिका विरुद्धमा लागेको छु । लगनशील, कर्तव्यनिष्ठ, इमानदार र योग्य कार्यकर्ताले चुनावमा टिकट पाउने पद्धति स्थापनार्थ गर्नु छ । म निर्वाचित भएमा पूर्वाधार विकासको काम गर्न पाएमा जनताको स्वास्थ्यमा लगानी गर्छु । देशमा लोकतन्त्र त आयो तर सँगसँगै यसमा फोहोर विकृति पनि आयो । त्यस कारण अहिलेको राजनीतिक नेतृत्वले त्यो सफा गर्नुपर्छ । हाम्रो राजनीति दोहनको राजनीति भइरहेको छ । दोहनको राजनीतिलाई जनमोहित अर्थात् जनतालाई मोहित गर्ने बनाउनु छ ।


पुनः हिन्दुराष्ट्र कायम गर्छु
नरबहादुर खड्कथोकी
एकीकृत शक्ति नेपाल

यान्त्रिक किसिमको संवादमा रमाउने ठूला र पुराना दलहरुको शैली रह्यो । मतदाताको हातमा घोषणापत्र थमाउने, नमस्कार गर्ने र हिँड्ने काम मात्रै भयो । समाजका अनेक तप्का र तहका मानिसबीच आफूलाई घुलमिल गराएर आफ्नो नेतृत्वको औचित्य प्रमाणित गर्नुपर्ने अवसरबाट उनीहरु चुके । नेपाल हिन्दुराष्ट्र नै कायम हुनुपर्छ । वैदिक सनातन धर्मसापेक्ष राष्ट्र निर्माणका लागि तथा राष्ट्रियता र राष्ट्र एकताका लागि मेरो उम्मेदवारी हो । सुदृढ र एकीकृत सार्वभौमसत्ताका लागि एवं गैरजातिवादी राज्य प्रणालीका लागि पनि लड्नु छ । मौलिक सभ्यता र सम्पदाको संरक्षण, जनमुखी कर नीति, पेसालाई पुरस्कृत गर्ने र भ्रष्टाचारीलाई मृत्युदण्डसम्मको कानुन निर्माणका लागि पनि मेरो उम्मेदवारी हो । अनावश्यक खर्च होइन, न्यूनतम खर्च मात्रै गरेर पनि जनताको विश्वास लिन सकिन्छ भन्ने एक प्रकारको परीक्षा गर्न पनि म आएको छु ।