डेंगु संक्रमणले ५५ जनाको मृत्यु, ५० हजार भन्दा बढी संक्रमित

0
Shares

काठमाडौँ।

यतिबेला नेपालका नेताहरुलाई राजनीतिको चटारो बढीरहेकाबेला, दिनदिनै बढेको वातावरणीय प्रदुषणमा रमाएका लामखुट्टे पनि रमाउँदै देशका ७७ वटै जिल्लाका घरघरमा पुगेर डेंगुको उपहार छोड्न तछाडमछाड गरिरहदा कुनैपनि राजनीतिक दलका नेताहरुले नियन्त्रणका लागि चुईक्क सम्म बोलेको सुनिदैन । पछिल्लो २४ घण्टामा डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

नेपालमा साउन देखि कात्तिक २१ गते सम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक गरेको तथ्यांक अनुसार डेंगुसंक्रमणबाट मृत्यु हुनेको संख्या ५५ जना पुगिसकेको छ । डेंगु संक्रमितको संख्या ५० हजार २ सय ५३ जना पुगेको छ ।

नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो। सन् २००५ मा भने डेंगुका बिरामीनै थिएनन् । सन् २००६ देखि डेंगुको संक्रमण बढ्दै जादाँ ३२ जनामा संक्रमण देखियो । त्यसपछि एकैपटक सन् २०१० मा डेंगु सक्रमण बढी ९ सय १७ जना संक्रमित भएका थिए भने सन् २०१३ मा संक्रमितको संख्या घटेर ६ सय ८६ जना, २०१६ मा पुग्दा पुन: बढ्दा १ हजार ५ सय २७ जना पुगेको थियो । सन् २०१७ मा २ हजार १ सय ११ जना, सन् २०१८ मा ८ सय ११ जना रहेकोमा सन् २०१९ मा गएर डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेँगुको संक्रमण फैलिएको थियो । सन् २०२० र २०२१ मा कोरोना भाइरसको संक्रमण बढेसँगै मानिसहरुको जमघट, खानपान लगायत सरसफाईमा आएको सुधारका कारणले नेपालमा डेंगु संक्रमण कम देखिएको थियो । सन् २०२० मा ५ सय ३० जना र सन् २०२१ मा ५ सय ४० जना डेंगुका बिरामी देखिएका थिए । तर सन् २०२२ मा कोरोना भाईरस मत्थर हुँदै जानु, स्थानीय निर्वाचनले धेरै मानिसहरुका बीचमा भएको जमघट, सरसफाईमा ध्यान नदिनु, वातावरण प्रदुषित हुनु र अत्यधिक बर्षासँगै काठमाडौमा फोहोरमा ठूलो राजनीतिक चलखेल हुनुले डेंगु फैलाउने लामखुट्टे बृद्धि भएको र निर्मुलीकरणका लागि स्थानीय, प्रदेश र संघ तीन भागमा बाडिएको सरकारले लामखुट्टे खोज्ने निर्मूलपार्ने जिम्मा एकले अर्कोलाई देखाएर पन्छिएकै कारण नेपालमा यति ठूलो संख्यामा डेंगु संक्रमितको संख्या बढ्नुका साथै मृत्युको मुखमा पुगेको स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यहीँ लार्भा वयस्क भएपछि टोकेर डेंगुको रोग लाग्ने गर्दछ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको भनिए पनि बिरामीको संख्या अझै पनि बढीरहनुले आवश्यकता अनुसारको खोजी अभियान र निर्मुलीकरण फितलो नै रहेको र राजनीतिक दलको चुनावी माहोल बढ्दै जाँदा फोहोरको डंगुर भने बढ्ने र पुन डेंगु बढ्ने संकेत देखिएको स्वास्थ्य विज्ञहरुले औल्याउँदै सरकारलाई खबरदारी गरेका छन् ।