शिक्षक संगठन पनौतीको नगरपालिकालाई १८ बुँदे ध्यानाकर्षण

14
Shares

काभ्रे।

नेपाल राष्ट्रिय शिक्षक संगठन पनौती नगर समितिले पनौती नगरपालिकालाई १८ बुँदे ध्यानाकर्षण गराएको छ । अध्यक्ष सुर्दशन भट्टराई र सचिव ओमप्रकाश वाईवाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा इन्द्रेश्वर माध्यमिक विद्यालयमाथि गरिएको गैरकानुनी हस्तक्षेपलाई तत्काल सच्याउन आग्रह गरिएको छ ।
इन्द्रेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षका विषयलाई लिएर नगरपालिका, विद्यालय र वडा कार्यालयबीच अधिकारका सन्दर्भमा केही दिन भएको हस्तक्षेपकारी विवादलाई संगठनले गम्भिरतापूर्वक लिएको बताएको छ । ‘नगर प्रमुख आफैले विना प्रतिस्पर्धा शिक्षकहरु काजमा नियुक्ति गर्ने, विद्यालयका प्रधानाध्यापकलाई लाचार बनाउँदै नगर प्रमुख आफैले हस्ताक्षर गरेर स्पष्टीकरण लिने, विद्यालय ब्यवस्थापन समितिको गठन र विघटन आफै गर्ने जस्ता कानून विपरितका कार्यहरु तत्काल रोक्न माग गर्दर्छाै’–अध्यक्ष सुर्दशन भट्टराईले भन्नुभयो–‘नगरपालिकाले हाम्रो सुझाव तथा ध्यानाकर्षलाई कमजोर सम्झिएर एकलौटी गरिरह्यो भने त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वंम नगरप्रमुख हुनु अनुरोध गर्दछौं ।’

ध्यानाकर्षण पत्रमा न्यून वेतनमा कार्य गर्ने बालविकास सहजकर्तालाई अघिल्लो कार्यकालमा जनप्रतिनिधिहरुले गरेको निर्णय जस्ताको तस्तै कार्यान्वन गर्न माग गरिएको छ । नगर प्रमुख रामशरण भण्डारी निर्वाचित भए लगत्तै सहकर्ताको पारिश्रमीक कट्टा गरिएको छ । विद्यालय कर्मचारीको तलब स्केल प्राथमिक तहको शिक्षक सरह बनाउन, विद्यार्थीको अनुपातका आधारमा विषयगत शिक्षक दरवन्दी वितरण गर्न, शिक्षकहरुको मनोवल उच्च राख्न तहगत प्रोत्साहनको ब्यवस्था गर्न, मासिकरुपमा तलव भत्ता निकासका ब्यवस्था गर्न, अग्रेजी माध्यममा अध्यापन हुने विद्यालयका विद्यार्थीहरुलाई नि:शुल्क अग्रेजी पुस्तक उपलब्ध गराउन, नगरको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्न शिक्षक संगठन पनौती नगर समितिले ध्यानाकर्षण गराएको छ ।

त्यस्तै सशर्त अनुदानलाई समयमै निकासा गर्न, शिक्षा ऐन अनुसार प्रधानाध्यापक भत्ता ब्यवस्था गर्न, अभिभावक शिक्षा कार्यक्रम नगरको बार्षिक कार्ययोजनामा समावेश गर्न, शिक्षक तथा प्रधानाध्यापकहरुका लागि क्षमता अभिवृद्धि तालिम उपलब्ध गराउन, प्रविधिमैत्री शिक्षाका लागि एक शिक्षक एक ल्यावटपको अवधारणा कार्यान्वयन गर्ने लगायतका विषय समावेश गरिएको छ ।