पिकेको बिदाइ खेलमा बार्सिलोनाको जित

0
Shares

लन्डन, (एजेन्सी)

भेट्रान डिफेन्डर जेरार्ड पिकेले क्याटलान क्लब बार्सिलोनाबाट बिदाइ लिएको खेलमा जित आत्मसात गरेको छ । स्पेनिस ला लिगाअन्तर्गत अल्मेरियाविरुद्ध २–० गोलअन्तरको जितको खेलबाट डिफेन्डर पिकेले व्यवसायिक खेल करिअरबाट संन्यास लिएका हुन् । अल्मेरियाविरुद्ध पिकेलाई नै कप्तानीको जिम्मेवारी प्रदान गरिएको थियो । उनलाई आन्द्रे क्रिस्टेन्सेनले प्रतिस्थापन गरे ।

उनलाई नोउ क्याम्पमा हजारौं समर्थकमाझ क्लबले सुखद् बिदाइ गरेका छन् । उनले यसै साता अल्मेरियाविरुद्धको खेल आफ्नो व्यावसायिक करिअरको अन्तिम खेल हुने बताएका थिए ।सन् २००९ देखि २०१८ सम्ममा पिकेले स्पेनका लागि १ सय दुई क्याप जित्दा ५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । बार्सिलोनाको एकेडेमीकै हुर्किएका पिकेले २००४ देखि २००८ सम्म इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा खेलेका थिए ।

उनले बार्सिलोनामा ८ ला लिगा, ७ कोपा डेल रे, ६ सुपर कोपा, ३ च्याम्पियन्स लिग, ३ युइएफए सुपर कप र ३ फिफा क्लब विश्वकप जितेका छन् । यस्तै युनाइटेडबाट समान एक प्रिमियर लिग, कम्युनिटी शिल्ड र च्याम्पियन्स लिग जितेका छन् । स्पेनबाट समान एकपटक फिफा विश्वकप र युरो कप जितेका छन् ।

बार्सिलोनाले घरेलु मैदानमा अल्मेरियालाई पराजित गरेको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र फ्रान्की डि जोङले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । नोउ क्याम्पमा शनिबार राति भएको खेलको सातौं मिनेटमा रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता लिनबाट चुक्यो । फेरान टोरेसको हेडर काइकीले हातले छोएको भन्दै रेफ्रीले भिएआरको सहायता लिदै बार्सिलोनालाई पेनाल्टी प्रदान गर्दा लेवान्डोस्कीको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

त्यसपछि बार्सिलोनाले गोलको लागि दोस्रो हाफ नै कुर्नुप-यो । ४८औं मिनेटमा डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । उनले सर्जियो बुस्क्वेट्सको पासलाई सदुपयोग गरेका थिए । ६२औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । अन्सु फातीको हाफ भली प्रहार गोलरक्षकले बचाउन नसक्दा रिवाउन्डमा डि जोङले गोल गर्न सफल भएका थिए । त्यसपछि पनि अल्मेरियालाई लगातार दबाबमा राखे पनि थप गोल निस्कन सकेन । यस जितसँगै बार्सिलोना १३ खेलबाट ३४ अंक जोड्न सफल भएको छ । पराजित अल्मेरियाको १३ अंक छ ।