‘लौरो’ बोकेर ताराबहादुर घर घरमा

0
Shares

काभ्रे।

कार्तिक १७ गतेदेखि उम्मेदवारहरुले प्रचार प्रसार गर्ने अनुमति पाएसँगै घर दैलो अभियानलाई तीब्र बनाएका छन् । लौरो चुनाव चिन्ह लिएर उम्मेदवार बनेका भुम्लु गाउँपालिकाका ताराबहादुर कुँवरको अभियान भुम्लु गाउँपालिकाको ऐतिहासिक धार्मिक तिर्थस्थल मुलखर्क भिमसेनबाट शुरु गरेका छन् ।

अभियानका संयोजक शेरबहादुर कुँवरले लौरो चुनाव चिन्ह लिएर उम्मेदवार बनेका ताराबहादुर कुँवरको सामाजिक जीवन र अभियानका बारेमा मतदाताहरुलाई घर दैलोमा बुझाउने कार्य भईरहेको छ । ताराबहादुर कुँवरले लौरो बोकेर घर घर पुगी मतदाताहरुलाई निर्वाचन चिन्ह र मतदान गर्ने स्थानकाबारेमा मतपत्र बोकेर मतदाता शिक्षा समेत दिईरहनु भएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा १ का उम्मेदवार ताराबहादुर कुँवरले केही दिन अघि प्रतिज्ञा पत्र सार्वजनिक गरेका थिए । ‘म निर्वाचित भए पछि मुलखर्क भिमसेन तथा पलाञ्चोक भगवतीलाई साक्षी राखेर कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, भौतिक संरचना निर्माण, पर्यटन, रोजगार, सामाजिक तथा आर्थिक क्षेत्रको विकास गर्नेछु’–उम्मेदवार कुँवरले भन्नुभयो–‘भूमि बैक, विज बैक स्थापना गरी कृषकहरुले भोगिरहेको रसायनिक मलको ब्यवस्थापनमा विशेष ध्यान दिनेछु ।’

कृषिमा सिंचाई, ब्यवसायीक रुपमा तरकारी र फलफूल खेती, कृषि प्रोत्साहन भत्ताको ब्यवस्थापन गरिने कुँवरले बताउनु भएको छ । शिक्षाको गुणस्तर सुधार्न आवश्यक रणनीतिक योजना निर्माण गरी हरेक नागरिकहरुको नि:शुल्क शिक्षा प्राप्त गर्ने नैर्सिगिक अधिकारलाई स्थापित गरिने उहाँले बताउनु भयो ।

वडाहरुमा १५ शैयाको अस्पताल निर्माण गरी नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने, नि:शुल्क स्वास्थ सेवाको ब्यवस्थापन गर्ने, एक घर एक धाराको अवधारणालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने, स्थानीय स्तरमा आई पर्ने विकासका विभिन्न पाटाहरुलाई सम्बोधन गर्ने उहाँको प्रतिज्ञा छ ।

भोटेकोशी(सुनकोशी) तथा इन्द्रावती नदीहरुमा बन्ने विद्युत्तगृहहरुमा जिल्लाका एक घर ५० कित्ता शेयर नि:शुल्क दिने र ३० प्रतिशत शेयर स्थानीय ब्यक्तिहरुको लगानीको सुनिश्चितताको ब्यवस्थाका लागि ब्यवस्थापन गर्ने, निर्वाचन क्षेत्र भित्र विद्यमान रहेको तर पहिचान गर्न नसकिएका समस्याहरुलाई उच्च प्राथमिकतामा राखि नीति निर्माण गरी कार्यान्वयन गर्ने कुँवरले बताउनु भयो । तेमाल र कोशिपारी जोड्ने पक्कि पुल निर्माण गरी कोशिपारी क्षेत्रलाई थप समृद्ध बनाउने उहाँको प्रतिवद्धता छ ।

कुँवरले चौवास, कोलाँती भुम्लु, मुलाबारी, जामुने, फँलाटे, दोलालघाट, पाँचखाल १२, पलाञ्चोक भगवती आसपासका क्षेत्रमा पुगेर मतदाता भेटघाट गरेका छन् । धुलिखेलका विभिन्न वडाहरु, पाँचखाल, भुम्लु र मण्डन क्षेत्रमा पुगेर मतदातालाई लौरो अभियानका बारेमा जानकारी गराएको उहाँले बताउनु भयो ।