कास्की-३ मा बराल र पौडेल चुनावी मैदानमा, कसले मर्ला बाजी ?

0
Shares

कास्की ।

कास्की क्षेत्र नं ३ मा निर्वाचन बहस निकै गरमागरम छ । गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता रामजी प्रसाद बराल ‘जीवन’ को उम्मेद्वारीले यस क्षेत्रको निर्वाचन चर्चा निकै विशेष छ । बराल संयुक्त गठवन्धनको तर्फका साझा उम्मेद्वार हुन् ।

बरालको प्रतिस्पर्धामा नेकपा (एमाले) का नेता दामोदर पौडेल (बैरागी) चुनावी मैदानमा छन् । उनी कास्कीमा परिचित नेता हुन् । उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन् । यद्यपि प्रतिनिधि सभा सदस्यका लागि भने दुवै उम्मेदवार नयाँ अनुहार हुन् । लोकप्रिय घोषणपत्र लिएर दुवै उम्मेद्वार घरदैलोमा सक्रिय भएका छन् ।

यस निर्वाचन क्षेत्रमा यसअघि एमालेका जगतबहादुर विश्वकर्मा विजयी भएका थिए । विकलाई विसं २०७४ को निर्वाचनमा माओवादी केन्द्रको साथ थियो । उनले कांग्रेसका शुक्रराज शर्मालाई पराजित गरेका थिए । त्यसबेला विश्वकर्माले ३२ हजार ६९० मत ल्याएर जित्दा शर्माले २४ हजार ३०४ मत ल्याएका थिए । करिब आठ हजार ३०० मतान्तर रहेको आँकडालाई विश्लेषण गर्दै एमालेका बैरागी यो पटक पनि चुनाव जित्ने दाउमा छन् ।

यो निर्वाचनमा एमाले विगतको विरासत जोगाउने कसरत गर्नेछ तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अहिलेको निर्वाचनमा भने समीकरण बदलिएको छ । नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग(अलग पार्टी भए भने एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको छ । अहिलेको निर्वाचनमा कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन छ ।

यस निर्वाचन क्षेत्रमा अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाका १, २, ३, ५, ६, १८, १९, २३, २४, २५ र २६ गरी ११ वडा पर्दछन् । यीमध्ये वैशाखमा भएको स्थानीय तह निर्वाचनमा अन्नपूर्णमा एमाले र माछापुच्छ्रेमा कांग्रेसले जितेको छ । महानगरको ११ वडामध्ये तीन वडा एमालेले सात वडा कांग्रेस र एउटा वडा स्वतन्त्रले वडाध्यक्ष पदमा जितेका थिए ।

स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारको दलगत मतले एमाले ठूलो दल देखिन्छ भने सत्ता गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र समेतको मत जोड्दा गठबन्धन केही मतले अघि देखिन्छ । स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २९ हजार ८०५ मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार ८४६ मत प्राप्त गरेका थिए । यसबाहेक माओवादी केन्द्रका वडाध्यक्षले दुई हजार ४०० र एकीकृत समाजवादीका वडाध्यक्षले ५०१ मत पाएका थिए ।

कूल एक लाख एक हजार ७१५ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा(९क) मा ५२ हजार ८६२ र प्रदेशसभा (ख) मा ४८ हजार ८५३ मतदाता छन् । यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १५ उम्मेदवार प्रतिस्पर्धामा रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क) मा ७ जना र (ख) मा ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।