जसपाको आर्थिक एजेन्डा : सूचना प्रविधिमा जोड

0
Shares

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका निम्ति आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टीको घोषणापत्रमा मुलुकको सामाजिक, आर्थिक रूपान्तरण र आधुनिकीकरणका लागि विज्ञान–प्रविधिको अधिकतम् उपयोगलाई जोड दिँदै कम्प्युटर प्रविधिलाई गाउँ–गाउँमा विस्तारित गर्ने, प्रविधि क्षेत्रका नवीन सुरुवात (स्टार्टअप)को प्रवद्र्धन र विकासलाई प्राथमिकता दिएको छ ।
उक्त पार्टीले पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नति गरी ४ लेनको बनाउने र काठमाडौंको रिङरोडलाई ५ वर्षभित्र साइकल लेनको समेत व्यवस्था गरी ८ लेन बनाउने योजना घोषणापत्रमा उल्लेख गरेको छ ।

त्यस्तै, आर्थिक विकास र समृद्धिका लागि स्वदेशी तथा विदेशी पुँजी प्रविधि परिचालनका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने, मधेस-तराईको पूर्वपश्चिम जोड्ने हुलाकी राजमार्गको निर्माण पूरा गर्ने, पाँच वर्षभित्र ऊर्जा शक्तिमा आत्मनिर्भर हुने नीति अवलम्बन गरी आगामी पाँच वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बिमा कम्पनी आदिमा रहेको कोषलाई विद्युत् उत्पादनमा लगाउन प्रेरित गर्ने, विद्यमान स्थायी लेखा –प्यान)मा आधारित कारोबारको थ्रेसहोल्ड २० लाखबाट ५० लाख रुपियाँबनाउने र साना व्यावसायीको लेखाप्रणाली तथा व्यवसाय नवीकरणलाई सहज र सरल बनाउने नीति लिइएको छ ।

त्यसै गरी जसपाले ज्येष्ठ नागरिकलाई यातायातमा ५० प्रतिशत छुटको व्यवस्था गर्ने तथा नेपाललाई पर्यटकीय दृष्टिकोणले अँन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकसित गर्दै यस क्षेत्रलाई रोजगारी तथा विदेशी मुद्रा आर्जनको स्रोतका रूपमा विकास गर्ने नीति घोषणापत्रमा उल्लेख छ ।