विश्वयुद्धको छायाँमा तेस्रो विश्वकप

0
Shares

काठमाडौं । 

सन् १९३८ तिर स्पेनमा गृहयुद्ध चर्किरहेको थियो । नाजी जर्मनीद्वारा अस्ट्रियामाथि हमला गरेको स्थिति थियो । इटालीका तानाशाह बेनिटो मुसोलिनीको विद्रोही कार्यहरू भइरहेका थिए । अर्को विश्वकप लगातार युरोपमा आयोजना गर्दा विवादास्पद भएको थियो । दोस्रो विश्वयुद्धको बादल पूरै युरोपतिर छाइरहेको थियो । प्रतियोगिता नै नहुने जस्तो भइरहेको अवस्थामा तेस्रो विश्वकप फ्रान्समा सम्पन्न भएको थियो ।

प्रतियोगिता सम्पन्न भए पनि यो विश्वकप सबैभन्दा असफल प्रतियोगिताको रुपमा चित्रित गरिएको छ । प्रतियोगितामा उरुग्वेले बहिष्कार गरेको थियो । उरुग्वे त्यो राष्ट्र हो जसले पहिलो विश्वकप जितेको थियो । यसपछि इटालीमा भएको विश्वकप पनि उरुग्वेले बहिष्कार गरेको थियो । यस्तै, दक्षिण अमेरिकाको अर्को राष्ट्र अर्जेन्टिनाले पनि यो विश्वकप बहिष्कार गरेको थियो । सन् १९३६ मा फ्रान्स र अर्जेन्टिनाले प्रतियोगिता आयोजना गर्न प्रस्ताव राखेका थिए । तर, फिफाको कंग्रेसले फ्रान्सलाई रोज्यो र नियम पनि तोड्यो । पहिल्यै फिफाले एकचोटि दक्षिण अमेरिकामा र अर्कोचोटि युरोपमा प्रतियोगिता आयोजना गर्ने वचन दिएको थियो । तर, यो नियम तोडेपछि फिफासँग अर्जेन्टिना रिसायो र प्रतियोगिता बहिष्कार गरेको थियो ।

दक्षिण अमेरिकी फुटबलका दुई पावरहाउसले बहिष्कार गरे पनि अर्को पावरहाउस राष्ट्र ब्राजिलले भने भाग लियो । साथै, क्युबा पनि ब्राजिलको सहयोगी बन्यो । यसै विश्वकपमा छनोट भएको अस्ट्रियाले भाग लिन पाएन । जर्मनीले अस्ट्रियालाई नियन्त्रण गरेपछि अस्ट्रिया खेल्नबाट वञ्चित भएको थियो । यही अवसरमा जर्मनीले अस्ट्रियाका उत्कृष्ट खेलाडीलाई आफ्नो टोलीमा सामेल गराएका थिए ।जर्मनीले अस्ट्रियाका खेलाडीलाई राखेर आफ्नो टोलीलाई बलियो त बनायो तर, प्रतियोगितामा पहिलो चरणबाटै बाहिरिनुपरेको थियो । जर्मनीलाई स्विट्जरल्यान्डले हराएको थियो । अस्ट्रिया प्रतियोगितामा नहुँदा स्विडेन भने नखेली नै क्वार्टरफाइनलमा पुगेको थियो । यस्तै, पहिलो चरणको अन्य खेलमा इटालीले नर्वेलाई २–१ ले हराएको थियो । इटालीले झन्डै हारिसकेको खेल जितेको थियो ।

यसैगरी, आयोजक राष्ट्र फ्रान्सले बेल्जियमलाई ३–१ ले हरायो भने ब्राजिलले पोल्यान्डलाई हराउन निकै कसरत गर्नुपरेको थियो । यो खेल ब्राजिलले ६–५ ले जितेको थियो । युरोपको बलियो टोली चेकोस्लोभाकियाले नेदरल्यान्ड्सलाई ३–० ले पराजित ग¥यो । हंगेरीले डच इस्ट इन्डिजलाई ६–० ले पाखा लगाएको थियो । डच इस्ट इन्डिज भनेको हालको इन्डोनेसिया राष्ट्र हो । विश्वकपमा एसियाबाट विश्वकपमा खेल्ने यो पहिलो राष्ट्र बनेको थियो । तर, प्रदर्शनको हिसाबले टोलीले निराशाजनक परिणाम बेहोर्नुपरेको थियो । तर, क्युबाले भने युरोपेली राष्ट्र रोमानियालाई पराजित गरेर सनसनी मच्चाएको थियो ।

क्वार्टरफाइनल खेल

क्वार्टरफाइनलमा विश्व च्याम्पियन इटालीले फ्रान्सलाई ३–१ ले हराएको थियो । पहिलो हाफमा दुवै टोली १–१ बराबरीमा थिए । दोस्रो हाफमा सिल्भियो पिओलाले दुई गोल गरेर इटालीलाई अन्तिम चारमा पु-याएका थिए । यस्तै ब्राजिलले चेकोस्लोभाकियालाई अर्को दिनको खेलमा २–१ ले पराजित गरेको थियो । पहिले खेलेको खेल ब्राजिल र चेकोस्लोभाकिया १–१ बराबरीमा सकिएको थियो । त्यतिबेला पेनाल्टीको नियम नभएको हुँदा खेल बराबरी भएमा अर्को दिन खेल खेलाउने प्रावधान रहेको थियो ।

पुनः खेलाइएको दोस्रो खेलमा भने ब्राजिल पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । फेरि ब्राजिल र चेकोस्लोभाकियाका एक–एक खेलाडी रेड कार्ड पाउँदै बाहिरिएपछि ब्राजिल ९ र चेक टोली १० खेलाडीबाट खेलेका थिए । चेकका उत्कृष्ट खेलाडी नेजेड्लीको खुट्टा भाँच्चिएर खेल्न सकेनन् । तर, अर्का खेलाडी प्लानिका भाँच्चिएको हात लिएर नै खेले । रोबेर्टोले खेल सकिन एक मिनेट बाँकी हुँदा गोल गरेर ब्राजिललाई जित दिलाएका थिए ।अन्य दुई खेलमा भने हंगेरीले स्विट्जरल्यान्डलाई २–० ले हरायो भने स्विडेनले क्युबामाथि ८–० को फराकिलो जित निकाल्दै क्युबा टोली कमजोर रहेको सावित गरेको थियो ।

सेमिफाइनल खेल

सेमिफाइनलमा इटालीले ब्राजिललाई २–१ हराएर फाइनल पुग्नबाट वञ्चित गरिदियो । ब्राजिलले प्रतियोगिताभरि ५ गोल गरिसकेका लियोनीदासलाई खेलाएन । यसको परिणाम इटालीसँग पराजय बेहोर्नु परेको थियो । यद्यपि, तेस्रो स्थानको लागि भएको खेलमा लियोनिदासलाई टोलीमा बोलायो र यो खेलमा ब्राजिलले स्विडेनलाई ४–२ ले हराएको थियो । उक्त खेलमा लियोनिदासले दुई गोल गरेर प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले कुल ७ गोल गरे ।

इटालीले जित्यो

फाइनल खेलमा इटालीको सामना हंगेरीसँग भएको थियो । त्यतिबेला इटाली विश्व विजेता भए पनि हंगेरी निकै बलियो टोली थियो । सबैले हंगेरीले विश्वकप जित्ने अनुमान लगाएका थिए । तर, इटालीले यो खेल ४–२ ले जितेर उपाधि रक्षा गरेको थियो । इटालीलाई जित दिलाउन जिनो क्लाउसी र पिओलाले २÷२ गरे । इटाली पहिलो हाफमै ३–१ को अग्रतामा रहेर विजय हुने पक्का गरिसकेको थियो ।