पाँचौं अन्तर्राष्ट्रिय ट्राई एड्भेन्चर मंसिरमा

0
Shares

काठमाडौं । 

नेपाली सेनाले आयोजना गर्दै आइरहेको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइएड्भेन्चर प्रतियोगिताको पाँचौं संस्करण मंसिर दोस्रो साता हुने भएको छ ।

आयोजक नेपाली सेनाले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्राइएड्भेन्चर ९ मंसिरमा धादिङको बैरेनी र चरौंदीमा हुने जानकारी गराएको हो । धादिङको बैरेनीदेखि चरौँदीसम्म सञ्चालन हुने प्रतियोगितामा हरेक टोलीले ६.७ किलोमिटर दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर ¥याफ्टिङ गर्नुपर्नेछ । एक टोलीमा ४ जना खेलाडी हुनेछन् । यी चारै जनाले अन्तिमसम्म दूरी पूरा गर्नुपर्नेछ ।

विजेता टिमले २ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । चौथो र पाँचौं हुने टिमले क्रमशः २० र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पाँचौं संस्करणमा १० विदेशी र १५ नेपाली गरी २५ टिमको सहभागिता रहने अनुमान गरिएको सेनाले जनाएको छ । सेनानी राजीव चन्दले भारत, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, चीन, बेलायत र अमेरिकालगायत १० देशलाई निमन्त्रणा गरिएकोमा बेलायत र भारतबाट सहभागिता निश्चित भइसकेको जानकारी गराए ।

भारतबाट तीनवटा टिमले सहभागिता जनाउने पक्का भएको सेनाले जनाएको छ । मंसिर १ गतेसम्म टिम दर्ता अवधि तोकिएको छ । सेनाले २०७१ देखि दौड, साइक्लिङ र -याफ्टिङ गरी तीन विधाको साहसिक ट्राइएडभेन्चर प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।