महापुरुषले थपियो चुनौती : प्रदीप भट्टराई

0
Shares

निर्देशक प्रदीप भट्टराईले महापुरुषको व्यावसायिक सफलताले आफूमाथि थप चुनौती थपिएको बताएका छन्। चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले बुधबार महापुरुष टिमसँग दाङमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै निर्देशक भट्टराईईले आपूmद्वारा निर्देशित चौथो फिल्म महापुरुषलाई दर्शकले समीक्षात्मक र व्यावसायिक दुवै तरिकाबाट सफल बनाइदिएर आगामी दिनमा अझ उत्कृष्ट सिनेमाको अपेक्षा राखेकाले चुनौती भएको बताएका हुन्। दाङ शाखा अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले नायक अरूण क्षेत्रीको कामको तारिफ गरे। उनले अरूणको महापुरुष डेब्यु फिल्म भए पनि सशक्त अभिनयमार्फत दर्शकको मन जित्न सफल भएको र आफूलाई अपकमिङ स्टारको रूपमा उभ्याउन सफल भएको बताए।

काठमाडौं उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएको टिम बुधबार मोफसलका दर्शकलाई भेट्न र सफलताको खुसी साट्न नायक अरूण क्षेत्रीको गृहजिल्ला दाङ आइपुगेको थियो। गृहजिल्लामा अरूण सहितको महापुरुष टिमलाई दाङमा स्वागत एवं सम्मान गरेका छन्। कार्यक्रममा बोल्दै फिल्मका कार्यकारी निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ, कलाकारहरू राजाराम पौडेल, अरूण क्षेत्री र अञ्जना बराइलीले आम दर्शकलाई धन्यवाद र आगामी दिनमा पनि साथ र सहयोग गर्न आग्रह गरेका छन्।

दाङ शाखाका संस्थापक उपाध्यक्ष चेतन रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी कलाकार कमल गाउँलेलगायतले फिल्मले उठाएको विषय गहन र कलाकारको अभिनय सशक्त भएकाले फिल्म उत्कृष्ट बनेको चर्चा गरेका थिए। कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष सन्तोष केसीले गरेका थिए।