चेल्सी र मिलानको जित

0
Shares

लन्डन । 

यूईएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सी र एसी मिलानले जितको नतिजा आत्मसात गरेको छ । फुटबलको नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्लिस क्लब चेल्सी र इटालियन क्लब एसी मिलानले समूह चरणको अन्तिम खेलमा सफलता हात पारेका छन् ।

चेल्सीले घरेलु मैदानमा क्रोएसियन क्लब डिनामो जाग्रिवमाथि २–१ गोलअन्तरको पूनरागमन जित निकालेको हो । चेल्सीको जितमा रहिम स्टर्लिङ र डेनिस जाकारियाले गोल गर्दा डिनामोका ब्रुनो पेटकोभिकको गोल सान्त्वना बन्यो । स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलको सातौं मिनेटमा ब्रुनोको गोलबाट चेल्सी खेलमा पछि परेको थियो । तर, खेलको १८औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको ३०औं मिनेटमा डेनिस जाकारियाले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–१ ले अघि बढाए । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै चेल्सीको जितमा पर्याप्त बन्यो । अर्काे खेलमा मिलानले अष्ट्रियन क्लब साल्जवर्गलाई ४–० ले पराजित ग-यो । मिलानको जितमा ओलिभर जिरुउडले दुई तथा रेड क्रुनिक र जुनियर मेसिएसले समान एक गोल गरे ।

मिलानोमा बुधबार राति भएको खेलको १४औं मिनेटमा जिरुउडको गोलबाट मिलानले अग्रता लिएको थियो । ४६औं मिनेटमा रेडले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । ५७औं मिनेटमा जिरुउडले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै मिलानलाई खेलमा ३–० ले अघि बढाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जिरुउडको पासमा जुनियर मेसिएसले गोल गर्दै मिलानलाई फराकिलो जित दिलाए । यस नतिजासँगै समूह ‘ईं’ मा चेल्सी १३ अंक जोडेर शीर्षस्थानमा रह्यो । दोस्रो स्थानमा रहेको मिलानले १० अंक जोड्दा साल्जवर्गले ६ तथा डिनामोले ४ अंक जोड्यो ।

त्यसैगरी एक खेल बाँकी छँदै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले समूह चरणको अन्तिम खेलमा पूनरागमन जित निकाल्दा स्पेनिस क्लब सेभिया बराबरीमा रोकियो । सिटीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर ३–१ गोलअन्तरको पूनरागमन जित निकालेको हो । सिटीको जितमा रिको लेविस, जुलियन अल्भारेज र रियाद महारेजले गोल गर्दा सेभियाका राफा मिरको गोल सान्त्वना बन्यो ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा बुधबार राति भएको खेलको ३१औं मिनेटमा राफा मिरको गोलबाट सिटी पछि परेको थियो । उनले इस्कोको पासमा गोल गरेका थिए । ५२औं मिनेटमा रिकोले जुलियन अल्भारेजको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ७३औं मिनेटमा अल्भारेजले केभिन डि ब्रुएनाको पासमा गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । ८३औं मिनेटमा महारेजले अल्भारेजको पासमा गोल गर्दै सिटीलाई ३–१ को पूनरागमन जित दिलाए ।

अर्काे खेलमा डर्टमन्ड डेनिस क्लब कोपेनहेगनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । डर्टमन्डका थोर्गन हाजार्डले गोल गर्दा कोपेनहेगनका हाकोन अर्नर हाराल्डसनले बराबरी गोल फर्काए । यस नतिजासँगै सिटीले ६ खेलबाट १४ अंक जोड्यो । डर्टमन्ड ९ अंक जोडेर दोस्रो स्थानमा रह्यो । सेभियाले ५ अंक जोड्दा कोपेनहेगन ३ अंक जोडेर पुछारमा रह्यो ।युइएफए च्याम्पियन्स लिगकै समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्सलाई हराएपनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह ‘एच’ बाट उपविजेता बनेर प्रि–क्वाटरफाइनलमा प्रवेश ग¥यो । घरेलु टोलीलाई २–१ ले पराजित गरेपनि अर्काे खेलमा पोर्चुगिज क्लब बेन्फिकाले मकावी तेल हाइफामाथि ४–० को फराकिलो जित निकालेपछि पिएसजी गोल अन्तरमा पछि पर्दै समूहमा दोस्रो बनेको हो ।

पिएसजी र बेन्फिकाले समान खेलबाट समान १४ अंक जोड्दा गोल अन्तर, गोल गरेको र बेहोरेको गोलपनि बराबरी भएपछि बढी अवे गोलका कारण बेन्फिका शीर्षमा पुग्यो । बेन्फिकाले ९ अवे गोल गर्दा पिएसजीले ६ अवे गोल गरेको छ । बेन्फिका र पिएसजीले समान ६ खेलबाट १४ अंक जोड्यो । युभेन्ट्सले तीन तथा मकावी हाइफाले ३ अंक जोडेर पुछारमा रह्यो । एलिएन्ज स्टेडियम टुरिनमा बुधबार राति भएको खेलमा पिएसजीको जितमा केलियन एमबाप्पे र नुनो मेन्डेसले गोल गरे । युभेन्ट्सका लियोनार्दाे बोनुचीले एक गोल फर्काए ।

खेलको १३औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले लियोनेल मेस्सीको पासलाई सदुपयोग गरेका थिए । ३९औं मिनेटमा बोनुचीले जुआन कोर्डाडोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६९औं मिनेटमा एमबाप्पेको पासमा नुनो मेन्डेसले गोल गर्दै पिएसजीको जित पक्का गरे ।

अर्काे खेलमा बेन्फिकाले मकावीमाथि ६–१ को सानदार जित निकाल्यो । बेन्फिकाको जितमा गोन्कालो रामोस, पिटर मुसा, एलेक्स ग्रिमाल्डो, राफा सिल्भा, हेनरिक एराउजो र जोओ मारियाले गोल गरे । मकावीका जरुन चेरेले एक गोल फर्काए । खेलको ५९औं मिनेटसम्म १–१ गोलको बराबरीको स्थितिलाई चिर्दै बेन्फिकाले थप ५ गोल थपेपछि समूह विजेता बन्न सफल भयो ।

त्यसैगरी स्पेनिस क्लब रियल मेड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा सानदार जित आत्मसात ग-यो । रियलले घरेलु मैदानमा स्कटिस क्लब सेल्टिकमाथि ५–१ गोलअन्तरको फराकिलो जित निकालेको हो । सान्टियागो बर्नबेउमा बुधबार राति भएको एकपक्षीय खेलमा रियलको फराकिलो जितमा लुका मोड्रिच, रोड्रिगो, मार्काे एसेन्सियो, भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले गोल गरे । सेल्टिकका लागि भने जोटाले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा नै लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई १–० ले अघि बढाए । मोरिट्ज जेन्जले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रियलले पेनाल्टी पाएको थियो । २१औं मिनेटमा रोड्रिगोले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । म्याथ्यु ओरिलेले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै रियललाई पेनाल्टी प्रदान गर्दा रोड्रिगो चुकेनन् । ३५औं मिनेटमा सेल्टिकले पेनाल्टी पाएपनि रियलका गोलरक्षक थिवाउट कोर्टुवाले बचाए ।

खेलको ५१औं मिनेटमा ड्यानी कार्भाजलको पासमा मार्काे एसेन्सियाले उत्कृष्ट गोल गर्दै रियललाई ३–० ले अघि बढाए । ६१औं मिनेटमा भाल्भेर्डेको पासमा भिनिसियसले गोल गर्दै रियललाई फराकिलो जिततर्फ अघि बढाए । ७१औं मिनेटमा फेडे भाल्भेर्डेले लुकास भास्क्वेजको पासमा गोल गर्दै रियललाई ५–० ले अघि बढाए । ८४औं मिनेटमा जोटाले फ्रिकिकमा सिधै गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियलले फराकिलो जित निकाल्न सफल भयो ।

यस जितसँगै रियल ६ खेलबाट १३ अंक जोडेर समूह ‘एफ’ मा शीर्षस्थानमा रह्यो । सेल्टिक दुई अंक जोडेर पुछारमा रह्यो ।यही समूहको अर्काे खेलमा आरबी लाइप्जिगले साख्तर डोनेस्कमाथि ४–० को सानदार जित निकाल्यो । लाइप्जिगको जितमा क्रिस्टोफोर एनकुनकु, आन्द्रे सिल्भा, डोमिनिक जोबोस्लाईले गोल गर्दा एक गोल उपहार पायो । भालेरी बोन्डरले आत्मघाती गोल गरे । यस जितसँगै लाइप्जिग १२ अंक जोडेर समूहमा दोस्रो भयो । साख्तर ६ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।