मतदाता शिक्षा दिँदै निर्वाचन कार्यालय र दलहरू

0
Shares

पाल्पा । 

मतदान प्रक्रिया र बदर मतको संख्या कम गर्नका जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको समन्यवमा आज १८ गतेदेखि वडा–वडामा मतदाता शिक्षा दिइने भएको छ ।

पाल्पा जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुक्मांगत अर्यालका अनुसार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र वडामा वडा सचिवको नेतृत्वमा रहने समितिले निर्वाचन शिक्षा दिनेछ । वडा सचिवले मतदाता शिक्षाका लागि स्वयंसेविका नियुक्ति गरी निर्वाचन शिक्षा दिनेछन् ।

वडा सचिव र स्वयंसेविकाले वडाको टोल तहमा पुगेर मतदाता शिक्षा दिनेछन् । उनीहरुले मतदान कसरी गर्ने र आफ्नो मत कसरी सुरक्षित गर्ने भन्ने विषयमा जानकारी गराउने छन् । निर्वाचन कार्यालयले अनुगमन अधिकृतहरुलाई मंगलबार प्रशिक्षण समेत दिइएको थियो ।

उता, पाल्पामा दलहरु आफैंले मतदाता शिक्षा दिन थालेका छन् । बदर मतको संख्या कम गर्नका लागि वाम–लोकतान्त्रिक गठबन्धन दलले मतदाता शिक्षामा आफ्नै कार्यकर्तालाई परिचालन गर्ने बताइएको छ । गठबन्धन दलले मतदाता शिक्षाका लागि कार्यकर्तालाई टोल–टोलमा नमुना मतपत्रसहित पठाउने तयारीमा रहेको छ ।

गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले गठबन्धन दलको तर्फबाट मतदाता शिक्षाका लागि तानसेन नगरपालिका र बगनासकाली रैनादेवी छहरा गाउँपालिका र रिब्दीकोटमा प्रशिक्षण दिने नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयोे । बाँकी स्थानीय तहमा छिट्टै शिक्षा दिने तयारी गठबन्धनले गरेको छ । उहाँले निर्वाचनको प्रचार–प्रसारसँगै मतदाता शिक्षाका लागि हरेक वडामा व्यक्तिहरु खटाइने जानकारी दिनुभयो ।

‘निर्वाचनका लागि आयोगले दिएको प्रचार–प्रसारको समयसीमाभित्र मतदाता शिक्षाका लागि कार्यकर्ता खटाउने तयारीमा रहेको तथा आम नागरिकले मतदानमा भाग लिन पाउने राजनीतिक अधिकार संरक्षणका लागि मतदाता शिक्षा जरुरी रहेको श्रेष्ठको भनाइ छ । मतदान कसरी गर्ने र आफ्नो मत कसरी सुरक्षित गर्ने भन्ने विषयमा मतदाता शिक्षामा खटिएका व्यक्तिले सिकाउने बताइएको छ ।

दुई प्रतिनिधि र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा कुल १ सय १८ मतदान केन्द्र रहेका छन् भने २ सय ४६ मतदानस्थल रहेको छ । भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी, सुरक्षा केन्द्रसम्मको पहुँचलाई विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि सुरक्षा समितिले मतदान केन्द्रको वर्गीकरण गरेको हो ।

समितिले २९ वटा मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील सूचीमा रहेको जनाएको छ । यस्तै, ५० वटालाई सम्वेदनशील र ३९ वटालाई सामान्यमा राखेको छ । यहाँ १ लाख ३ हजार १ सय १८ महिला र ९८ हजार २ सय ८ पुरुष गरी २ लाख १ हजार ३ सय २६ मतदाता रहेका छन् ।उता नेकपा एमालेले पनि जिल्लामा मतदातालाई मतदान प्रक्रिया र यसको प्रभावकारीताका लागि कार्यकर्ता परिचालन गरि मतदाता शिक्षा दिने सो पार्र्टीले जनाएको छ ।