मतदाता र दलका कार्यकर्तामा समेत चुनावी उत्साह घट्दै

0
Shares

काठमाडौं । 

आसन्न निर्वाचनको तयारीमा जुटेका राजनीतिक दल तथा उम्मेदवारलाई चुनावी माहोलले छोपे पनि आम मतदाता र कार्यकर्ताहरूमा उत्साह देखिएको छैन । राजनीतिक दल र नेताप्रतिको वितृष्णाका कारण यो निर्वाचनमा आम मतदाता मात्रै होइन, दलकै कार्यकर्तामा समेत उत्साह मरेको देखिएको छ ।

गत असोज २३ मा मनोनयन दर्ता गरेलगत्तै दलका उम्मेदवारहरूले मतदातासँगको भेटघाटलाई तीव्र बनाए पनि उनीहरूको चुनावी अभियानका कार्यकर्ता र मतदातहरूको उपस्थिति न्युन छ । उम्मेदवार र तिनका दलले अघि सारेका चुनावी एजेन्डाप्रति विश्वास नलागेकै कारण मतदातामा चुनावी उत्साह कम देखिएको दलका नेताहरूले नै बताउने गरेका छन् ।

२०४८ सालदेखि अहिलेसम्म एउटै अनुहार पटकपटक जनता माझ जाँदा नागरिकलाई समेत दिक्क लाग्नसक्ने जिकिर गर्दै नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘परिवर्तनलाई नयाँ ढंगले नेतृत्व गर्दै जानुपर्नेमा दलहरू अलमलमै देखिएका र जनताले सोचेजस्तो परिवर्तनको अनुभूति गर्न नपाएका कारण सर्वसाधारण जनतालाई चुनावी चासो कम भएको हुनसक्छ ।’ यद्यपि, उहाँले कार्यकर्ता तहमा भने चुनावी उत्साहमा कुनै कमी नरहेको दाबी गर्नुभयो ।

अघिल्ला निर्वाचनहरूमा दल तथा उम्मेदवारको अघिपछि लाग्नेहरूको निकै भीड देखिए पनि यो निर्वाचनमा उम्मेदवारसँग खासै मान्छेहरू देखिएका छैनन् । देशमा थुप्रै राजनीतिक परिवर्तनहरू भए तर ती परिवर्तनका नाममा अमुक व्यक्तिहरूको मात्रै हालिमुहाली चलेको छ । व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन हुन्छ भनेर आन्दोलनमा लागेका नागरिकले ३० औं वर्षसम्म परिवर्तन अनुभूति गर्न नसक्दा निराशा छाएको र उम्मेदवारहरूको चुनावी कार्यक्रममा उनीहरूको उपस्थिति समेत न्यून हुँदै गएको नागरिक समाजका अगुवाहरू बताउँछन् ।

त्यति मात्रै होइन, मुख्य राजनीतिक दलहरूले चुनावी गठबनधन गरेका कारण पनि कार्यकर्ता तहमा उत्साह कम भएको कतिपयको बुझाइ छ । दलहरूले प्रत्येक निर्वाचनमा बाँडेको आश्वासन पूरा हुन नसक्दा नागरिकमा निराशा छाएको पत्रकारिताका प्राध्यापक चीरञ्जीवी खनालले बताउनुभयो । राजनीतिक दलहरूमा युवाहरूको आकर्षण घटेसँगै दलमा उनीहरूको आबद्धता कम भएपछि चुनावी अभियानमा युवाको स्वस्फूर्त खटाइ समेत कम देखिएको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘१८ देखि ३० वर्ष समूहका युवाहरू दलमा आबद्धता कम छन् । दलका नेताहरूले चुनावताका दिएका आश्वासनहरू पूरा गर्न सकेका छैनन् । योसँगै बहुसंख्यक युवाहरू स्वतन्त्र बसेका छन् । यही कारणले अहिलेको चुनावी अभियानमा उत्साह कम भएको हो ।’

पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूको चुनावी अभियानमा लागेर हिड्नेहरूको जमात पनि निकै कम देखिएको छ । अघिल्ला निर्वाचनहरूमा आफ्नो उम्मेदवारलाई जिताउन खटेर लागेकाहरू समेत निराश छन् । नेताहरू भोट माग्न घरदैलो जाँदै गर्दा किसानहरू बारीमा काम गरिरहेको भेटिने गरेका छन् । चुनावले छोपेका नेताहरू भने कृषकले धान भित्र्याउँदै गरेका खेतबारीमै पुगेर उनीहसँगै धान काटेको नाटक गर्ने र फोटा खिचेर फेसबुकमा राख्ने गरिरहेका छन् । वर्षभर खाने अन्न थन्क्याउने चटारोमा रहेका किसानलाई नेताका कुरा सुन्न फुर्सदै नभएको किसानहरू बताउँछन् । उनीहरूले यो निर्वाचन पछि पनि यिनै पार्टी र नेताहरूबाट खासै आश नगरेको बताउँछन् ।

चुनावमा भोट माग्न आउँदै गरेका नेताहरूप्रति आफूहरूको त्यति धेरै अपेक्षा नभएको टिप्पणी गर्दै ओखलढुंगाको मोलुङ गाउँपालिकाका –२ का स्थानीय लालबहादुर सार्कीले भन्नुभयो– ‘यसअघि दुई–दुईपटक चुनाव जिताएर पठायौं । तर, जिल्ला र यहाँका जनताका समस्याका बारेमा उहाँहरूले केही गर्नुभएन, योपटक उहाँलाई हामी भोट त हाल्दैनौं नै, चुनावी कार्यक्रममा समेत जादैनौं ।’ योपटक अघिल्लो निर्वाचनमा मत नदिएका उम्मेदवारलाई मतदान गर्ने योजना बनाएका सार्कीले कसैको पनि चुनावी कार्यक्रममा सहभागी भने नहुने बताउनुभयो ।

देशमा जति पनि परिवर्तनहरू भए, ती सबै परिवर्तन सीमित वर्गले मात्रै उपभोग गर्ने पराम्परा बसेकोले जनतामा निराशा छाएको टिप्पणी गर्दै काठमाडौं बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेल (आरसी विमल) ले भन्नुभयो– ‘त्यो परिवर्तनबाट सीमित वर्गका नेताहरू, ठेकेदार, बिचौलियाहरूले मात्रै फाइदा लिए । तल्ला वर्गका आम नागरिकको जीवनमा परिवर्तनको अनुभूति हुन नसक्दा पार्टीका चुनावी अभियान कमजोर बन्दै गएका छन् ।’

मतदानमा समेत यसको असर देखिन सक्ने र लोकतान्त्रिक व्यवस्थामाथि नै खतरा उत्पन्न हुनसक्ने आशंका व्यक्त गर्दै उहाँले भन्नुभयो– ‘मेरो नेताले के भन्छ, के योजना ल्याउछ भनेर सुन्नकै लागि पनि चुनावी कार्यक्रहरूमा नागरिकको भीड लाग्ने परम्परा यो पटक देखिएको छैन । यसले नागरिकको निराशालाई इंगित गर्दछ ।’ दलहरूको निर्वाचन परिचालनको अवस्था हेर्दा एकातिर आम मतदाताको निराशा र अर्कोतिर गठबन्धन गरेर चुनावमा लागेका दलका कार्यकर्ताहरूमा समेत उत्साह कम देखिएको छ ।