चुनावको मारामार यता, भारत हिँडे जनता

‘कसलाई भोट हालेर हामीलाई के हुन्छ र ?’

0
Shares

बाँके । के गाउँ, के शहर–चुनावमय बन्दै गएको छ । राजनीतिक दलकासँगै स्वतन्त्र उम्मेदवारले घरघरमा पुगेर हात जोडिरहेका छन् । पाँच वर्षमा एकपटक ‘नेता’ले जनतालाई नमस्कार गर्ने, हात मिलाउने या ढोग्ने ‘पर्व’ नै होभन्दा हुन्छ, चुनाव ।
‘उम्मेदवार’ले आफ्नो भाग्य भनौं या रोजगारीको ‘परीक्षा’ गरिरहेका छन् ।

चुनावमा एकपटक मिहिनेत गरेपछि पाँच वर्षसम्म मस्तीको जीवन जिउन नेताहरू साम, दाम, दण्ड, भेदको नीति अनुशरण गरेर अघि बढेका छन् ।देशमा यत्रो चुनावी माहोल बनिरहँदा जनता रोजगारीका लागि भारततिर हुँइकिरहेका छन् । यिनीहरूलाई न चुनावमा मत हालेर कसैलाई जिताउने रहर छ न त मत हाल्नु आफ्नो अधिकार हो भन्ने नै हेक्का राखेका छन् । उनीहरूको एउटै प्रश्न छ– ‘कसलाई भोट हालेर हामीलाई के हुन्छ र ?’

कर्णाली प्रदेशका बहुसंख्यक मानिसलाई भारतमा गएर मौसमी मजदुरी गर्ने बाध्यता छ । नेपालीको महान् पर्व दशैं र तिहारमा घर आएका उनीहरू यति बेला धमाधम फर्किरहेका छन् । समूह–समूह बनाएर भारततिर जाने नेपालीको नेपालगन्ज नाकामा लर्को नै लागेको छ । विशेष गरेर कर्णाली प्रदेशका दैलेख, कालीकोट, जाजरकोट, रूकुम, रोल्पाका मानिस यो नाकाबाट भारततिर गइरहेका छन् । उनीहरूमध्येको धेरैको गन्तव्य भारतको कालापहाड, सिमला, प्रयाग, हैदरावाद, गुजरात हुने गर्दछ ।

यी स्थानमा नेपालीले दैनिक ज्यालादारीमा मजदुरी गर्दछन् । आफ्नो उत्पादनले तीन महिना पनि खाना नपुग्ने धेरै जना परिवारसहित नै मजदुरी गर्न भारत गइरहेका छन् ।दैलेखका झम्के सुनारले दशैं, तिहार मनाइयो । चुनावमा भोट हाल्न बसिएन भन्नुभयो । उहाँले थप्नुभयो– ‘हामी मजदुरी गरेर खानेलाई केको चुनाव ? दुई÷चार दिनअघि चाँडै गएर काम गरे अलि पैसा कमाउन सकिन्छ ।’

नेपालगन्जकै गल्लीहरूमा चुनावी माहोल बढ्दो छ । भारतमा मजदुरी गर्न हिँडेका यी नेपाली विभिन्न पार्टीका झन्डा र ब्यानर बोकेर हिँडिरहेका नेता तथा कार्यकर्तालाई हेर्दै परदेशतिर गइरहेका छन् । एक जनालाई फकाउन पाए पनि एउटा मत बढ्थ्यो भनेर दौडधुप गरिरहेका नेता तथा कार्यकर्तालाई देखेर सायद परदेशिएकाहरू हाँस्दा हुन् । जो एक जना होइन, हुलका हुल मत नहाल्ने निर्णय गरेर भारततिर गइरहेका छन् । उनका गाउँका नेताले यी परदेशिएकालाई १५ दिन रोक्न सकेको भए कति मत बटुल्थे होलान् ।

भारतको रूपैडिहाबाट छुट्ने पुराना बसमा नेपाली मात्रै देखिन्छन् । यस्तो दृश्य चाडबाड र धान रोप्ने बेलामा फर्किने र त्यसपछि जानेको हुने गर्दछ । अहिले रूपैडियाबाट नेपाली मात्रै भरिएर दैनिक ८-९ वटा बस गइरहेको छ । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाले दैनिक पाँच सय बढी नेपाली कामका लागि भारततिर गइरहेको बताएको छ । नेपालगन्ज नाकाबाट किनमेल गर्न जाने नेपालीको संख्या अधिक छ । यसको बीचमा कामका लागि भारत जानेहरू प्रस्ट चिनिने गर्दछ । नाकाबाटै टिकट काटेर यहीँबाट बस चढेर कामका लागि जाने भएकाले नेपालीहरू बीच सडकमा लुटिने घटना रोकिएको छ ।