कत्तिको टिकाउ हुन्छन् फिरन्ते नेता-कार्यकर्ता ?



स्याङ्जा । नेकपा (एमाले) स्याङ्जाको जिल्ला सदस्य जिता राना नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । कांग्रेसले चापाकोटमा आयोजना गरेको चुनावी घरदैलो कार्यक्रममा एमालेको जिल्ला सदस्य एवं चापाकोट नगरपालिका–६ का वडा कमिटी इन्चार्ज जिता राना कांग्रेसमा प्रवेश गर्नुभएको चापाकोट नगरपालिकाका नगर सभापति विक्रम सारुले जानकारी दिनुभयो । रानालाई कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा प्रवेश गराउनु भएको हो ।

राजनीतिक दल बदल गर्ने र राजनीतिक उतारचढाव हुने क्रम अहिले दिनहुँ देखिएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा पार्टी फेर्ने संस्कार नयाँ भने होइन । तर, विगतमा यस्तो तरलता र पार्टी अदलबदल पहाडमा भन्दा मधेसमा बढी हुने गरेको देखिएको थियो । अहिले पहाडमा पनि यो रोग सल्केको देखिन्छ । यस्तो अदलबदल व्यक्तिगत स्वार्थ र ‘अवसर’ कै लागि गर्ने गरेको यी तथ्यले देखाउँछ ।

यता फेरी कांग्रेस चापाकोटका दुई दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । चापाकोट नगरपालिका वडा नम्बर १० कालिडाँडा, खोले गाउँमा भएको एक कार्यक्रमबीच उनीहरू एमालेमा प्रवेश गरेको नेता डा. बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो । कांग्रेस वडा नम्बर १० का वडा सचिव रोमाकान्त रेग्मीको नेतृत्वमा करिब दुई दर्जन कांग्रेस कार्यकर्तालाई एमालेका सचिव पद्मा कुमारी अर्यालले पार्टी प्रवेश गराउनु भएको हो ।

एक साता यताको मात्रै तथ्यांकलाई हेर्ने हो भने मुख्य तीन दल कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र)ले जिल्लामा पार्टी प्रवेश कार्यक्रमलाई महत्व दिइरहेका छन् । त्यसमा पनि एमालेले अन्य दुई दलको भन्दा बढी चुनावी प्रपोगन्डा ‘पार्टी प्रवेश’ लाई बनाइरहेको छ ।

चुनावको मुखमा पार्टी प्रवेश गर्ने नेता–कार्यकर्ता सैद्धान्तिक रुपमा प्रतिबद्ध भएर नआउने राजनीतिक विश्लेषक दिंकर नेपालको भनाइ छ । पार्टीले पनि आफ्नो दार्शनिक मूल्य÷मान्यता, विचारमा सहमत भएर अन्य दलका नेता–कार्यकर्ता आफ्नो पार्टीमा भित्राउनेभन्दा पनि चुनावी ‘भोट बैंक’ का लागि मात्र भित्र्याउने गरेका छन् ।

चुनावको मुखमा पार्टी फेरबदलमा कुनै सैद्धान्तिक विषयले प्राथमिकता पाउँदैनन् । ‘मान्छेहरू सबैभन्दा पहिले आफू रहेको दलले टिकट नदिएपछि अर्को दलबाट टिकट पाउने लोभमा बार्गेनिङ गरी प्रवेश गर्ने गरेको बढी देखिएको छ’, नेपालले भने, ‘मौका यही हो भन्ठानेर उनीहरु एक–अर्को पार्टी प्रवेश गरिरहेका हुन्छन् । सैद्धान्तिक आधार केही छैन, व्यक्तिगत लाभका लागि मात्र पार्टी परिवर्तन हुने गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्