लिंक इन्टरनेशनल म्यानपावरका काफ्ले तनावमा

कर्तुत ढाकछोप गर्न विज्ञप्तिको सहारा

0
Shares

काठमाडौं ।

आफ्नो कर्तुत ढाकछोप गर्न मान्छेले कतिसम्म चलख्याइँ गर्न खोज्छन् भन्ने बसुन्धारास्थित लिंक इन्टरनेशनल प्यालेसमेन्ट कम्पनीका सञ्चालक कमल काफ्लेको व्यवहारले देखाएको छ ।

साउदी, कतार, युएई, बहराइन, मलेसियालगायत मुलुकमा नेपाली श्रमिकलाई रोजगारीका लागि पठाउँदा मोटो रकम असुलेको तथा युरोप, क्यानडा, साइप्रस, जापान लगायतका देशमा नेपाली श्रमिक पठाउने भन्दै थुप्रै युवाबाट पासपोर्ट र रकम समेत लिएर लामो समयदेखि उनीहरूलाई अलमल्याउने र आलटाल गर्ने गरेको पीडितको गुनासो बारे लिंक इन्टरनेशनल म्यानपावर कम्पनी र त्यसका सञ्चालक कमल काफ्लेको धन्दाका बारेमा समाचार प्रकाशित भएपछि आफ्नो कर्तुत छताछुल्ल हुने भयबाट बच्न उनले विज्ञापन मार्फत स्पष्टीकरण दिँदै नेपाल सरकारले तोकेको मूल्य मात्र म्यानपावर कम्पनीले लिने गरेको दाबी गरेका छन् ।

अध्यक्ष तथा सञ्चालकका नामबाट लिंक इन्टरनेशनल म्यानपावर कम्पनीले जारी गरेको विज्ञप्तिमा आफूले पोर्चुगल, क्यानडा, जापान, साइप्रस जस्ता मुलुकमा पठाउने भन्दै रकम र पासपोर्ट नलिएको उल्लेख गर्न सकेका छैनन् भने भारतीय दलालको निर्देशनमा साबिकको नाईल ओभरसिजलाई लिंक इन्टरनेशनलमा परिणत गरेको विषयमा पनि स्पष्टीकरण दिन सकेका छैनन् ।

नेपाल सरकारले तोकेको रकम मात्र वैदेशिक रोजगारीमा जाने कामदारबाट लिएको दाबी गर्ने लिंक इन्टरनेशनलका सञ्चालक काफ्ले आजका दिनसम्म कुन एक जना व्यक्तिलाई नेपाल सरकारले तोकेको रकममा विदेश उडाएका छन् ? त्यो पनि सार्वजनिक रूपमा दाबी गर्ने आँट गरुन् ।

दसैँकै मुखमा झन्डै दुई दर्जन बढी राहदानी र उनीहरूबाट लिएको जनही ३ लाखका दरले रकम फिर्ता गर्नु पर्दा युरोप जाने भन्दै बुझाएका राहदानी र रकम अरू पनि फिर्ता लिन आउने आशंकामा लिंक इन्टरनेशनलका सञ्चालक काफ्ले अत्तालिएका हुन् । उनले झन्डै २ सय बराबरको त्यसरी रकम र राहदानी कब्जा गरेको अवस्था छ ।

त्यसो त नेपाल सरकारले तोकेको शुल्क मात्र लिने गरेको भन्दै विज्ञप्तिमा दाबी गरेअनुसार कुनै पनि नेपाली श्रमिक लिंक इन्टरनेशनल म्यानपावरबाट खाडीका कुनै पनि मुलुकमा पुगेका छैनन् । अफिस रेट नै साढे दुई लाख राखेका काफ्लेले कति जना विदेश उडाए, त्यसैबाट उनले कति कमाए स्पष्ट हुन्छ ।

पैसा कमाउनका लागि लिंक इन्टरनेशनल म्यानपावर कम्पनीको अर्को धन्दा नेपाली महिलालाई खाडीका केही मुलुकमा एउटा कामको स्वीकृति लिएर घरेलु कामदार (हाउसमेड)का रूपमा पठाउने पनि हो । लिंक इन्टरनेशनलले त्यसरी पठाएका थुप्रै महिला आजका दिनमा दासका रूपमा घरभित्रको काम गर्न बाध्य भएका छन् । यहाँबाट निःशुल्क रूपमा उडाइएका ती महिला खसीबोका जसरी अवधि तोकेर विक्री गरिएका हुन् । त्यसरी पठाइएका उनीहरू अवधि पूरा नभई स्वदेश फर्कन पाउँदैनन् । ‘गु चलाए गन्ध’ भनेझैँ आफ्नो कर्तुत लुकाउन विज्ञप्ति जारी गर्दा लिंक इन्टरनेशनल म्यानपावर कम्पनीका सञ्चालक कमल काफ्ले झन् बदनामी र अविश्वासिला बनेका छन् ।

म्यानपावर कम्पनीको कार्यालयमा मात्रै होइन, उक्त म्यानपावर कम्पनीले पालेका एजेन्ट र वरपरका छिमेकीसम्मले बुझेका छन् कि लिंक इन्टरनेशनलबाट खाडी मुलुकमा जानका लागि दुई लाख पचास हजारदेखि तीन लाखसम्म बुझाउनु पर्छ । त्यतीमात्र हो र रु यहाँ मोटो रकम बुझाएर खाडी पुगेका नेपाली श्रमिकले त्यहाँ भने अनुसारको काम नपाएर फर्कनु परेको खण्डमा समेत विभिन्न बहाना बाजी गर्दै रकम फिर्ता दिन समेत आलटाल गर्ने गर्छन्, लिंक इन्टरनेशनलका सञ्चालक काफ्ले ।

म्यानपावर कम्पनीलाई अनुगमन गर्ने, पीडितले गरेको उजुरी उपर न्याय दिलाउने वैदेशिक रोजगार विभागलाई समेत काफ्लेले गन्दैनन् । केही कर्मचारीलाई आर्थिक प्रभावमा पारेको र वैदेशिक रोजगार व्यवसायी संघको नेता भएका कारण उनले पीडितलाई हेपाहा व्यवहार गर्ने गरेका हुन् । त्यसो त गृह जिल्लाकै श्रम तथा सामाजिक मन्त्रालयका सचिव एकनारायण अर्यालको नाम समेत उनले जोडेर लाभ लिँदै आएका छन् ।

युरोप जान खोज्नेहरूलाई निकट नातेदार रहेका जिनियस इजुकेशन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालिका सञ्चालक सुजन भट्टराईसँग मिलेर उनले रकम असुल गर्ने गरेका हुन् । कन्सल्टेन्सीको लाइसेन्स लिएर युरोप पठाउने धन्दामा लागेपछि सुजन भट्टराई यती बेला पक्राउ परेका छन् । सुजनको पक्राउ सँगै युरोप प्रकरणमा आफू पनि तानिन सक्ने डर काफ्लेमा पनि छ ।

धेरै कामदार पठाउने लिस्टमा टप फोरमा परेको लिंक इन्टरनेशनलका सञ्चालकको आम्दानीको स्रोत पनि शंकाकै घेरामा देखिने भएपछि सम्पत्ति शुद्धीकरण विभागले पनि उनको खोजीनिती नगर्ला भन्न सकिन्न । वैदेशिक रोजगार विभाग र सम्पत्ति शुद्धीकरण विभागको नजरबाट जोगिन वैदेशिक रोजगारीमा जानेसँग असुल गरिएको मोटो रकम नगदमै लिने गरेका लिंक इन्टरनेशनलका सञ्चालक पछिल्ला दिनमा तानिएको विवादले तनावमा छन् ।