महत्वाकांक्षी योजनासहित एमालेको घोषणापत्र सार्वजनिक

जनतालाई झुटा आश्वासन बाँडेको विपक्षीको आरोप

0
Shares

काठमाडौं । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो महत्वाकांक्षी योजनासहितको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रमा सार्वजनिक गर्नुभएको हो । पाँच वर्षमा २० ग्यारेन्टी शीर्षकको योजना एमालेले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

एमालेले सार्वजनिक गरेको घोषणापत्रको योजना पूरा गराउन देशका सबै राजनीतिक दल एकजुट भएर लागे एक दशकमा पूरा गर्ने खालका रहेका छन् ।एमालेले सार्वजनिक गरेको घोषणापत्रमा समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने उल्लेख गरेको छ । राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने एजेन्डा एमालेले अघि सारेको छ । ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने एमालेको पुरानै एजेन्डा यसपटकको घोषणापत्रमा समावेश गरिएको छ । उसले यसपटक पनि मतदाता तान्ने खालका विषयवस्तुलाई समावेश गरेको छ जुन ५ वर्षमा गर्न सक्ने अवस्था देखिँदैन ।

त्यस्तै, स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने चुनावी प्रतिबद्धता व्यक्त गरेको देखिन्छ जसलाई विपक्षीहरूले जनतालाई झुटा आश्वासन बाँडेको आरोप लगाएका छन् । आवास विहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ । निरोगी नेपाल, सबल नागरिकको नीति अघि बढाउने, स्वच्छ पानी, सफा वातावरणको सुनिश्चितता गर्ने ग्यारेन्टी गरेको छ ।

सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति गर्ने, सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चित गर्ने, सामाजिक सुरक्षाको दायरा फराकिलो बनाइने, सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने, प्रतिव्यक्ति आय दोब्बर गर्ने, स्वस्थ महिनावारी, सुरक्षित मातृत्वको नीति कार्यान्वयन गर्ने ग्यारेन्टी घोषणापत्रमा उल्लेख गरेको छ । सबै प्रकारका भत्ता वृद्धि गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

आगामी दुई वर्षमा सबैको बैंक खाता भएको हुनेसमेत घोषणापत्रमा उल्लेख छ । एमालेले घोषणापत्रमा वार्षिक ५ लाख बेरोजगारीलाई रोजगार उपलब्ध गराउने घोषणा गरेको छ ।सबैका लागि काम र नियमित कमाई सुनिश्चित गर्दै वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको एमालेले कामदारको न्यूनतम ज्याला २५ हजार कायम गर्ने जनाएको छ । स्वदेशमा उत्पादन हुने वस्तुहरूको प्रोत्साहन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरिने घोषणापत्रमा उल्लेख छ ।

नेपाली नागरिक आवासविहीन वा सडक मानवको अवस्थामा नरहने ग्यारेन्टी गर्ने एमालेको योजना छ । आगामी २ वर्षभित्र देशलाई पूर्ण साक्षर बनाउने चुनावी प्रतिबद्धता गरेको छ । उच्च शिक्षाका लागि विदेश जानुपर्ने वाध्यता अन्त्य गर्ने घोषणापत्रमा उल्लेख छ । पाँच वर्षमा ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने एमालेको योजना छ । सबै साना किसान तथा साना व्यवसायीहरूलाई लघु बिमा सेवा उपलब्ध गराउने, उद्यमशीलताका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने, हरेक व्यक्तिलाई गर्भावस्थादेखि वृद्धावस्थासम्म राज्यद्वारा सुरक्षा दिइने घोषणापत्रमा उल्लेख गरिएको छ ।

२ वर्षमा विद्युत्मा सबैको पहुँच पु¥याइने, ५ वर्षमा विद्युत् उत्पादन क्षमता ६ हजार पाँच सय मेगावाट पु¥याइने घोषणापत्रमा उल्लेख छ । नेकपा एमालेले चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने ६ महिनाभित्रै नागरिकतासम्बन्धी समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।वंशजका आधारमा नागरिकता दिने क्रममा देखिएको समस्या एक महिनाभित्र समाधान गर्ने उसले दाबी गरेको छ । एमालेले आगामी मङ्सिर ४ को प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि सार्वजनिक गरेको घोषणापत्रमा धेरै विषयवस्तु अघिल्लोपटक भएको निर्वाचनमा उल्लेख गरिएका विषयवस्तु यो पटक दोहोरिएका छन् ।

एमाले–माके एकताको नेकपा सरकारको नेतृत्व गर्नुभएका केपी ओलीले जनतालाई ठूला–ठूला आश्वासन बाँड्ने तर कार्यन्वायन सोचेजस्तो नगर्ने उसको सबैभन्दा ठूलो बिफलता देखिन्छ ।सबै राजनीतिक दलले घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । प्रायः दलका योजना हेर्दा केही वर्षभित्रै देशमा कायापलट हुने प्रतिवद्धता व्यक्त गरेको देखिए पनि त्यसको कार्यान्वयन दश प्रतिशतसम्म हुन नसक्ने अवस्था नेताहरूले नै सिर्जना गर्ने गरेको अधिवक्ता कृतिनाथ शर्माको टिप्पणी छ ।

‘सबै दलका घोषणा पत्र निकै राम्रा आएका छन्,’ उहाँले भन्नुभयो– तर ती घोषणा पत्र केवल चुनावको बेला जनता ढाँट्ने कागजी एजेन्डा मात्रै हुन् । चुनावपछिको सत्तामा पुग्ने भन्ने जालझेलमा कार्यकाल सकिने भएकाले आफ्ना एजेन्डा के छन् भनेर कुनै दलले हेर्नेसमेत फुर्सद निकाल्नेवाला छैनन् ।’

गल्ती सच्याउने हैन, ढाकछोपको उपाय

मंगलबार जारी भएको एमालेको घोषणापत्रमा आफ्नो पालामा गरेका गल्ती र कमजोरीलाई सच्याएर नगई ढाकछोपको उपाय अवलम्बन गरेको देखिन्छ । तत्कालीन सत्ता सहयात्री दल तथा आफ्नै पार्टीका नेतालाई नेकपा एमालेको अराजक र अलोकतान्त्रिक कार्य गरेर सरकार असफल बनाएको आरोप लगाएको छ ।घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले जनादेशविपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र आफूलाई सडकबाटै कारबाही गर्ने अराजक काम भएपछि बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरेको प्रष्टीकरण दिनुभएको छ ।

उहाँले भन्नुभएको छ– ‘जनादेशविपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य गरिए ।’एमालेले आफ्नो घोषणापत्रमार्फत् जनता, ‘पुरानो जनादेशको बनावट भत्काइएको यसै पृष्ठभूमिमा, प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनका घोषणा गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण गरियो ।

‘तत्कालीन नेकपाभित्रका अवसरवादी, अराजक र अपवित्र पात्रहरू यसका लागि प्रयोग भए, उनीहरूका लागि आन्दोलन र देशको भविष्य भन्दा आफ्नो अहंकार, कुण्ठा तथा आफ्नो परिवार र गुटको हित ठूलो भयो ।’यसरी घोषणापत्रमार्फत आफ्नो लाज ढाक्ने काम गरिएको देखिन्छ । सत्तारुढ गठबन्धन दलका नेताहरूले ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई प्रतिगमन भनिरहेका बेला एमाले अध्यक्ष ओलीले भने सत्तारुढ गठबन्धन बनेर नयाँ सरकार बन्नुलाई प्रतिगमनको रूपमा लिनुभएको छ ।

‘जनादेशप्राप्त आफ्नो सरकार हटाएर सर्वोच्च अदालतको परमादेशबाट सरकार बन्नु नै प्रतिगमन हो’ –उहाँले भन्नुभयो । ओलीले आउँदो निर्वाचनलाई षड्यन्त्रमूलक ढंगबाट विस्थापित गरिएको जनमतलाई पुनःस्थापित गर्ने मौकाका रूपमा लिने भन्दै मतदातालाई आश्वस्त पार्ने कोसिस गर्नुभएको छ ।

एमालेका २० ‘ग्यारेन्टी’

१) पहिलो सेसन: समृद्धि अधिवेशन
२) नेपालीलाई: मात्र नागरिकता
३) हङ्गर: नो लङ्गर
४) सुरक्षित छाना: पुग्छ सबैको चाहना
५) पढाइ भविष्यको: जग बसाइ
६) फ्रि मिटर: दश हजार लिटर
७) खेतबारीमा पानी: खाडीमा हैन, स्वदेशमै जवानी
८) भूमिगत तार: सहर बजार
(९) ५ लाख रोजगार: न्यूनतम ज्याला २५ हजार
(१०) स्वस्थ महिनावारी: १५ सय वर्षभरि
(११) हामी सामाजिक: सभ्य नागरिक
(१२) उत्पादन स्वदेशी: बजार विदेशी
(१३) कमाइ: युवाको रोजाइ
(१४) प्रेसर–सुगर: भइन्न बिरामी औषधि बेगर
(१५) फ्रि युनिट: ५० युनिट
(१६) दिनदिनै सडक विस्तार: विकासका पूर्वाधारको आधार
(१७) नो लाइन:सेवा अनलाइन
(१८) समृद्धिसँगको नाता: सबैको बैंक खाता
(१९) फाइभ जी सञ्चार: आइटीमा चमत्कार
(२०) हाम्रो अर्थ: १०० खर्ब