स्याङ्जा १ (क) मा सुन्दास र थापाबीच कडा प्रस्तिपर्धा



स्याङ्जा ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ (क) मा ६ राजनीतिक दलले भाग लिएका छन् । सो क्षेत्रमा ६ राजनीतिक दलबाट ६ जना र स्वतन्त्रबाट १ गरी जम्मा ७ जनाको उम्मेदवारी परेको स्याङ्जा जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

प्रदेश सभा सदस्यको एक पदका लागि स्याङ्जा क्षेत्र नं १ (क) मा नेकपा (एमाले) बाट सीता कुमारी सुन्दास, नेकपा माओवादी केन्द्रबाट अमृत थापा, हाम्रो नेपाली पार्टीबाट मकवुल मियाँ, मंगोल नेशनल अर्गनाइजेसनबाट तीर्थ गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यलाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका भुवन सिं थापा र स्वतन्त्रबाट दुर्गादत्त भुसाललको उम्मेदवारी परेको मरासिनीले जानकारी दिनुभयो ।

सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादीकी अमृता थापा र एमालेकी उम्मेदवार सीता कुमारी सुन्दासले चुनाव जित्ने दाबी गरिरहनुभएको छ । उहाँहरुले चुनावी प्रचार प्रसारका कार्यक्रमहरु गरिरहनुभएको छ । गत प्रदेशसभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा माओवादीका दीपक थापा १७ हजार ३ सय ९२ मत ल्याई विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलप्रसाद पंगेनीले १४ हजार ६ सय ६६ मत ल्याउनुभएको थियो । स्याङ्जा क्षेत्र नम्बर १ (क) मा ५४ मतदानस्थल र ८५ मतदान केन्द्र निर्धारण गरिएको छ । यस क्षेत्रमा कुल ६२ हजार ५ सय ५७ मतदाता रहेका छन् । तीमध्ये ३९ हजार ५ सय ५८ पुरुष, ३१ हजार ९ सय ९९ महिला मतदाता रहेका छन् ।

यस निर्वाचन क्षेत्रमा बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका, वालिङ नगरपालिकाको ३ र ४, भीरकोट नगरपालिकाको १, २, ३ र ४ तथा पुतलीबजार नगरपालिकाको १, २, ७, ८, ९, १०, ११ र १२ वडा समेटिएका छन् । गत बैशाखमा भएको स्थानीय चुनावको मत हेर्दा स्याङ्जा क्षेत्र १ (क) मा गठबन्धनका उम्मेदवार अगाडि देखिन्छन् ।

बिरुवा गाउँपालिकामा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ४ हजार ३ सय ३१ मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत ४ हजार ८ सय ५० रहेको छ । नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले ५ सय ३६, मंगोल नेशनल अर्गनाइजेसनले १ सय २१, समाजवादीले १ सय १५ र राप्रपाले १ सय मत ल्याएका थिए । हरिनास गाउँपालिकामा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ३ हजार ८ सय १३ मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत ४ हजार ८ सय १० रहेको छ । नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले ८ सय ५० र समाजवादीले २४ मत ल्याएका थिए ।

क्षेत्र न. १ (ख) मा पर्ने भीरकोट नगरपालिकाको वडा १, २, ३ र ४ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ३ हजार २ सय ३० मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत २ हजार १ सय ९२ रहेको छ । क्षेत्र नं १ (ख) मा पर्ने वालिङ नगरपालिकाको ३ र ४ वडामा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले १ हजार २ सय १० मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत १ हजार ३ सय ७ र जनता समाजवादीको १४ मत रहेको छ । नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले ४३, मंगोल नेशनल अर्गनाइजेसनले ४७ र राप्रपाले २१ मत ल्याएका थिए ।

क्षेत्र नं १ (क) मा पर्ने पुतलीबजार नगरपालिकाको १, २, ७, ८, ९, १०, ११ र १२ वडामा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ४ हजार ९ सय ६१ मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत ४ हजार ६ सय ४१ रहेको छ । नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले ४ सय १८, राप्रपाले ४ सय २२, मंगोल नेशनल अर्गनाइजेसनले १ सय ४, एकीकृत समाजवादीले २२ र स्वतन्त्रले १ सय १६ मत ल्याएका थिए ।

यसरी नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले १७ हजार ५ सय ४५ मत ल्याएका थिए भने यहाँ नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत १७ हजार ८ सय रहेको छ । नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले १ हजार ८ सय ४७, राप्रपाले ५ हजार ४३, मंगोल नेशनल अर्गनाइजेसनले २ सय ७२, एकीकृत समाजवादीले १ सय ६१ र स्वतन्त्रले १ सय १६ मत ल्याएका थिए । सत्ता गठबन्धन र एमालेबीच स्थानीय चुनावको मत हेर्दा दुई हजार बढी मतान्तर देखिन्छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्