रियलले अंक बाँड्यो


लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगाको खेलमा रियल मेड्रिडले बराबरी खेल्दै अंक बाँडेको छ । सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा रियल स्पेनिस ला लिगामा बराबरीमा रोकिएको हो । १० खेलाडीमा समेटिएको रियल घरेलु मैदानमा जिरोनासँग १–१ गोलको बराबरीमा रोकियो ।

रियलका लागि भिनिसियस जुनियरले गोल गर्दा जिरोनाका क्रिस्टियन स्टुआनीले बराबरी गोल फर्काए । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलले पाहुना टोलीमाथि बल पोसेसन राख्दै लगातार दवाब सिर्जना गरेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

खेलको ७०औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । फेडे भाल्भेर्डेको पासलाई अनमार्क रहेका भिनिसियसले बललाई सहजै जाली चुमाए । ७८औं मिनेटमा क्रिस्टियन स्टुआनीले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पेनाल्टी बक्समा मार्काे एसेन्सियोले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायतामा जिरोनालाई पेनाल्टी प्रदान गर्दा स्टुआनी चुकेनन् । ९०औं मिनेटमा रोड्रिगोले मारियानो डियाजको पासमा गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा रियल जितबाट वञ्चित बन्यो ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रियल १० खेलाडीमा समेटिन पुग्यो । टोनी क्रुस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरियो । जर्मन मिडफिल्डर टोनी क्रुसले आफ्नो व्यावसायिक खेल करिअरमा पहिलोपटक रातो कार्ड पाएका हुन् । क्रुसले दोहोरो पहेलो कार्डसहित व्यावसायिक करिअरकै पहिलो रातो कार्ड पाएका हुन् ।

त्यसपछि थप गोल निस्कन नसक्दा रियल बराबरीमा रोकिन बाध्य बन्यो । यस बराबरीका बावजुत अपराजित रहेको रियल शीर्षस्थानमा उक्लन सफल भएको छ । रियलले दोस्रो स्थानमा रहेको बार्सिलोनामाथि स्पष्ट १ अंकको अग्रता बनाएको छ ।