भक्तपुरमा भएको सवारी दुर्घटनामा घाइते भएका बालकको मृत्यु

0
Shares

भक्तपुर ।

भक्तपुरमा तीन वटा सवारीसाधन एकसाथ दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार दिउँसो सूर्यविनायक नगरपालिका–५ सृजनानगरमा भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार ६ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएपी राजु पाण्डेले बताउनुभयो ।

मोटरसाइकल चालक दोलखा घर भई काठमाडौं बौद्ध बस्ने ४९ वर्षीय ढावा शेर्पा घाइते भएका छन् । ढावाका ६ वर्षीय छोरा आर्जनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आर्जनको आज बिहान नर्भिक अस्पताल काठमाडौंमा मृत्यु भएको डिएसपी पाण्डेले बताउनुभयो ।

जगातीबाट काठमाडौं आउँदै गरेको बा ६ च ८८५८ नम्बरको कार, बा ५५ प ९९२२ नम्बरको मोटरसाइकल र बा ४ ख ५७९६ नम्बरको बस दुर्घटनामा परेका हुन् ।

डिएसपी पाण्डेका अनुसार ढावाको भने मध्यपुर ठिमीमा उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुर्घटना हुनुअघि एक जना पैदल यात्रुले बाटो काटेको देखिएको छ ।

जसले गर्दा एक्कासी कारले ब्रेक लगाउँदा पछाडिबाट आउँदै गरेको मोटरसाइकल कारमा ठोक्किएर लडेपछि एकै दिशामा गुडिरहेको बसले उनीहरूलाई किचेको हो ।

मोटरसाइकलमा सवार मृतककी आमालाई भने केही नभएको प्रहरीले जनाएको छ ।प्रहरीले अनुसन्धानको लागि बसका चालक दोलखाका २६ वर्षीय भरत चौलागाईं र कार चालक भक्तपुरकी २६ वर्षीया रिया कायस्थलाई पक्राउ गरेको छ।

दुर्घटनाको अनुसन्धान प्रहरी वृत्त जगातीले गरिरहेको परिसरले जनाएको छ ।