जाडो छल्न बेंसी झरेका मुस्ताङी ब्यापारमा रमाउँदै

0
Shares

पर्वत।

चिसो मौसमको सुरुवातसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेसी झर्न थालेका छन् । कात्तिक महिना सुरु भएदेखि नै उनीहरुले गाउँ छाडी देशका विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार सुरु गरेका हुन् ।

वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताउनुभयो । यसरी व्यापारमा निस्किएकाहरुले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजित लगायतका सामग्रीको व्यापार गर्दै आएका छन् ।

चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको छ । मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारणहरु जाडो छल्न तल बेसी झर्ने गरेका हुन् । चिसोको मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविहरुले पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन सञ्चालन गर्ने गरेका छन् । ‘धेरैजसो गाउँ अहिले सुनसान बनेका छन्, यो अवस्था फागुनसम्म रहन्छ,’ मुस्ताङमा अध्यापनरत शिक्षक राजकुमार पोख्रेल भन्नुहुन्छ, ‘अन्नबाली पनि नहुने भएपछि उनीहरूले घुम्ती व्यापारबाटै जीविका चलाउनुपर्ने अवस्था छ ।’ उपल्लो मुस्ताङमा फापर, आलु, जौ, गहुँजस्ता अन्नबाली केही मात्रामा खेती गर्ने गरिएको छ ।

यो मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गरेर बर्खायामलाई पुग्ने गरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन छ । मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दा जिल्लाकै तल्लो क्षेत्रका साथै पर्वत, म्याग्दी, बागलुङ, कास्की, गोरखा, तनहुँलगायत देशका धेरैजसो जिल्लामा पुगेर घुम्ती व्यापार गर्ने गरेको स्थानीय समाजसेवी तिलक विकले बताउनुभयो ।

उपल्लो मुस्ताङका धेरैजसो बासिन्दा कुनै न कुनै प्रकारको व्यापार व्यवसाय गर्न जाडो लाग्नासाथ बेसी झर्न थाल्छन् । व्यापार गर्न नहिच्किचाउने र सानो ठूलो जुनसुकै व्यापार गरिरहने मुस्ताङीहरुको विशेषता रहेको पाइन्छ ।