नेवाः फिल्ममा नेपाल सम्बत आन्दोलनको प्रभाव



नेपालसम्बत आन्दोलन

देशकै नाममा स्थापना गरेको नेपाल सम्बत् भनेको नेपालकै मौलिक सम्बत् हो भन्ने कुरामा अब द्वैमत रहेन । यो सम्बत् कुनै व्यक्ति, संस्था, जाति वा धर्मको नाममा नभई राष्ट्रप्रेमको भावले देशकै नाममा स्थापित भएको नेपाल सम्बत् हो । त्यसैले पनि यस सम्बत्लाई नै राष्ट्रिय सम्बत् बनाई सरकारी मान्यता दिइनुपर्छ भनेर आवाज उठाउँदै आएको दशकौं भइसक्दा पनि सरकारले वास्ता गरिरहको थिएन ।

ईतिहासकै कुरा गर्दा नेपाल सम्बत्लाई राष्ट्रिय पर्वको रुपमा राज्यबाटै सम्वद्र्धन गर्नुपर्छ भनी आवाज उठाउने पहिलो व्यक्ति धर्मादित्य धर्माचार्य हुन् । निरंकुश राणा कालमा नै यस्तो क्रान्तिकारी आवाजलाई बुलन्द पार्ने दुस्साहस उनले गरेका थिए । धर्मादित्य धर्माचार्यले नेपाल भाषाको पत्रिका “नेपाल भाषा व बुद्ध धर्म” मा नेपाल सम्बत्बारे लेख लेखेर प्रचार प्रसार गरेका थिए । यो ने.सं. १०४८ तिरको कुरा हो ।

यस पछि विभिन्न समयमा नेवारहरुले नेपाल सम्बत्लाई राष्ट्रिय मान्यता दिनुपर्ने माग सहितको अभियानलाई तिब्र बनाउँदै लगेका थिए । यही कुरालाई हृदयंगम गर्दै ने.सं. ११२० कछलाथ्व ११ (वि.सं २०५६ मंसीर २ गते) का दिन नेपाल सम्बत्का प्रणेता शंखधर साख्वाःलाई सरकारले राष्ट्रिय विभूतिका रुपमा घोषित गरियो । यो एउटा नेपालकै लागि ठूलो उपलब्धी थियो । देशकै नामबाट स्थापना भएको नेपाल सम्वत् मौलिक सम्वत्को जन्मदातालाई सरकारले राष्ट्रिय विभूतिको रुपमा मान्यता प्राप्त भएको कम गौरबको कुरो होइन ।

नेपालमा पहिलो गणतान्त्रिक सरकारको स्थापना पश्चात शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको करीब दश वर्षपछि बल्ल नेपाल सम्बत्लाई राष्ट्रिय सम्बत्को मान्यता दिने निर्णय ग-यो । वि.सं. २०६५ साल कार्तिक ८ गते शुक्रबारका दिन मन्त्री परिषद्को बैठकले नेपाल सम्बत्लाई राष्ट्रिय मान्यता प्रदान गर्ने निर्णय गरेपछि देशमा झनै नेपाल सम्बत्को उत्सवलाई हर्षोल्लासका साथ मनाउने क्रम तिब्र रुपमा हुँदै आएको छ ।नेपाल सम्बतलाई लिएर यस्तो खालको आन्दोलनको आरम्भ नेवारहरुको छाता संगठन नेपाल भाषा मंका खलःको गठन पछि भएको हो । यो नेपाल सम्बत ११०० तिरको कुरा हो । यसरी हेर्दा नेपाल सम्बतको आन्दोलन शुरु भएको पनि चार दशक पार गरीसकेको छ । यहि चार दशकको अवधिमा नै नेपालमा नेपालभाषाका फिल्महरु बन्न शुर भएको हो ।

नेवाः फिल्मको यात्रा

नेपालभाषाको पहिलो फिल्म “सिलु” को प्रदर्शन आरम्भ भएको दिन २०४४ मंसीर ९ लाई नेवाः फिल्मको यात्रा शुरु भएको दिनको रुपमा गणना गर्ने हो भने पनि झण्डै साढे तीन दशकको यात्रा पार गरेको छ । यसरी हेर्दा नेवाः फिल्मको यात्रा देशमा नेपाल सम्बत्को आन्दोलन शुरु भए पछि नै भएको हो भनेर किटान गर्न सकिन्छ । नेपाल सम्बतले राष्ट्रिय मान्यता पाएको घोषणा हुन् करीब तीन दशक आन्दोलन गर्नु परेको थियो भने नेवाः फिल्मको यात्रा सुचारु हुन पनि कम गा-हो भने भएको थिएन ।

वि सं २०४४ मा सार्वजनिक भएको “सिलु” पछि दोस्रो नेवाः फिल्मको दर्जा पाएको “राजमति” सम्म आई पुग्न करीब एक दशक पर्खनु परेको थियो । “राजमति” को प्रदर्शन वि सं २०५२ फागुनमा भयो । यो एक दशक भित्र नेवाः चलचित्रको दर्जा पाएका यी दुई चलचित्रहरु बाहेक पनि “चरित्र”, “चिपः निपः”, “निपाः ख्वाःपाः” र “न्हिला न्हिला हुँ” जस्ता चार वटा चलचित्र पनि नेपालभाषामा नै बनेका चलचित्रहरु हुन् तर ती चलचित्रहरु भिडियो प्रविधिमा बनेका भएकाले ओझेलमा परेका फिल्महरु हुन् । च्यति बेला चलचित्रको मान्यता पाउन सेलुलोयड भनिने फिल्ममा खिंचिनु पथ्र्यो ।

यसरी अगाडि बढेको नेवाः फिल्मको यात्रा पनि पुनजाग्रित हुन फेरी अर्को एक दशक कुर्नु परेको थियो । वि सं २०६० को दशकमा निर्देशक आर्यम नकर्मिको “सुभाय्” ले नेवाः फिल्मको यात्रालाई आजको अवस्थासम्म पुग्न सघाएको मानिन्छ । यो चलचित्र तयार भएर प्रदशर्नमा आउँदा कहीं कतैबाट चुहिएर घरघरमा पुगेको थियो अर्थात एक प्रकारले पाइरेसी हुन पगेको थियो । यो पाइरेसी कुनेै आर्थिक लोभ प्रलोभनले नधइृ असावधानीवश भएको थियो तर घरघरमा पुगे पछि यस्को लोकप्रियता भने ज्यादै चुलियो । अहिलेको भाषामा भन्ने हो भने भाईरल नै बन्न पुगेको थियो ।

नेपाल सम्बत आन्दोलन र नेवाः फिल्मको पुनर्जागरण

पुनर्जागरणको चरणमा आर्थिक रुपमा शहिद हुन पुगेको “सुभाय” ले नेवाः फिल्म पनि लोकप्रिय हुन सक्छ भन्ने पुष्टि गरेको थियो तर त्यतिबेला बनेका नेवाः फिल्महरु भिडियो प्रविधिमा बनेकाले हलहरुमा स्थान पाउन सक्ने अवस्था थिएन । तर नेवार समुदायमा नेवाः फिल्म हेर्ने अभिलाषा बढ्न थालेको ले नेवाः फिल्महरु भिडियो प्रविधी मै भए पनि बनाउने क्रमले तिब्रता लिन थाल्यो । यसरी बनेका नेवाः फिल्महरु दर्शकसम्म कसरी पु-याउने भन्ने उपाय खोज्दै जाँदा केही नेवाः फिल्मकर्मिहरुले देखेको बजार भनेको प्रत्येक वर्ष नेपालसम्बत न्हूदँको अवसरमा हुने विशाल साँस्कृतिक -यालि र न्हूदँको औपचारीक समारोह गर्ने स्थल बसन्तपुर हो । त्यतिबेला त्यस्तो -यालि र न्हूदँ समारोह स्थलमा नेपालभाषामा प्रकाशित साहित्यिक कृति लगायतका सामग्रीहरु बिक्रि गर्न ल्याउने चलत शुरु भई सकेको थियो भने त्यस्ता -यालि र सभामा नेवार समुदायको विशाल उपस्थिति रहने भएकोले सर्जक र दर्शकको संगम राम्रै हुने गरेको देखियो ।

यति अवधि भित्र फिल्म निर्माण र प्रदर्शनको प्रविधि परिवर्तन भई सिडी डिभिडिको रुपमा आई सकेको थियो । यसरी त्यतिबेला प्रकाशमा आएका नेवाः फिल्महरुले पनि सिडी डिभिडिको रुप लिइसकेको थियो । यस्ता सिडी डिभिडि नेपाल सम्बत न्हूदँको अवसर पारेर फिल्मप्रेमिहरु माझ पु-याउने कार्य तदारुकताका साथ अगाडि बढ्न सफल भयो । यतिमात्र नभई नेवाःफिल्मकर्मिहरु आआफ्ना फिल्महरु दर्शकसम्म पु-याउनकालागि हरेक वर्ष नेपालसम्बतको न्हूदँलाई पर्खेर बस्ने गरेको पाइयो । यसरी नेपालसम्बतको आन्दोलनले नेवाः फिल्मलाई संरक्षण र प्रवद्र्धन गर्न प्रत्यक्ष रुपमा महत्वपुर्ण भुमिका खेलेको पाइन्छ ।

नेवाः फिल्मको बजारको रुपमा न्हूदँ

नेपालसम्बतको न्हूदँलाई लक्ष्यित गरेर फिल्महरु समेत निर्माण गरिएका उदाहरणहरु धेरै भेटिन्छन् । नेपालसम्बतको न्हूदँ को दिन यसरी सिडि डिभिडि को बजार बढ्न थालेपछि कतिपय फिल्महरु सिडि डिभिडिका रुपमा सो दिन बजारमा ल्याइने गरियो । टेलिभिजनमा प्रसारण भईसकेका कतिपय टेलि सिरीयलहरु समेत संग्रहित गरेर फिल्मको रुपमा सिडि डिभिडिका रुपमा ल्याए । यसले प्रत्यक्ष रुपमा निर्माताहरु लाभान्वित भए भने कलाकार र प्राविधिकहरुको सिर्जना घरघरमा पुग्ने वातावरण बन्यो ।

यसै क्रममा नेपालभाषामा बनेका म्युजिक भिडियोहरुको संग्रहका रुपमा “हसना” नामक डिभिडि संग्रह पनि नेपालसम्बत ११२२ को न्हूदँ को दिन सार्वजनिक भयो । जुन डिभिडिलाई नेपालभाषाको पहिलो म्युजिक भिडियो संग्रहको रुपमा लिईन्छ । त्यसपछि मात्रै नेपालभाषाका म्युजिक भिडियो संग्रहहरु क्रमिक रुपमा प्रकाशमा आउने गरेको देखिन्छ । यस्ता सिडि डिभिडिहरुको बजार भनेको नेपालसम्बतको न्हूदँ को दिन नै हो ।

नेवाः फिल्ममा नेपालसम्बत

यसरी नेपालसम्बतको न्हूदँले नेपालभाषाको गीतसंगीत र फिल्म क्षेत्रमा धेरथोर बजारको रुप लिएको देखिन्छ भने नेवाः फिल्ममा नेपालसम्बतको आन्दोलनलाई पनि सांकेतिक रुपमा चित्रण गर्ने प्रयास पनि भएको पाईन्छ । त्यस्ता एक नेवाः फिल्ममा निर्देशक आर्यम नकःमिको “न्हूदँ” पनि हो । जुन फिल्ममा नेपालसम्बतलाई लिएर हुने गरेको आन्दोलनलाई सांकेतिक रुपमा चित्रण गरिएको छ । यस्तै गरी निर्देशक रत्नकाजी महर्जन लुनिभाको निर्देशनमा बनेको “पात्रो” पनि नेपालसम्बत र न्हूदँको सेरोफेरोको कथा बोकेको फिल्म हो ।
नेवाः फिल्म र गीत संगीतको बजार प्रवद्र्धनमा मात्र नभई फिल्मको विषयको रुपमा समेत नेपालसम्बतको कथा प्रस्तुत गरेबाट नेवाः फिल्मको विकासमा नेपालसम्बतको आन्दोलनको प्रत्यक्ष प्रभाव परेको स्पष्टे देखिन्छ ।

अन्त्यमा

हुनत यसबीचमा बनेका नेवाः फिल्महरुमा विशेष गरेर हास्य शैलीका कथाहरुका फिल्महरुको संख्या धेरै रह्यो तर फिल्म भित्र राजनैतिक चिन्तनको खोजि पनि नभएको भने पक्कै हैन । यसैक्रममा निर्देशक हरिकृष्ण दुवालको “लिधंसा” लाई त्यस्तै राजनैतिक चिन्तन बोकेको फिल्मको रुपमा लिन सकिन्छ भने निर्देशक रत्नकाजी महर्जन लुनिभाको शर्टफिल्म “मुद्दा” मा राज्यको एक भाषिय नीतिको कारण अन्य भाषामाथि भएको थिचोमिचोको उत्पीडनलाई देखाइएको छ । नेपालसम्बतको आन्दोलनको उत्सर्गका साथसाथै नेवाः फिल्म क्षेत्रमा शर्ट फिल्मले पनि राम्रो प्रभाव छोड्न थालेको पाइन्छ । यस्ता शर्टफिल्महरु विषयगत रुपमा शसक्त हुने गरेको पाइन्छ । मानवीय संवेदना देखि लिएर राजनैतिक भाषिक चिन्तन मात्र नभई प्रविधि र विचारमा समेत अब्बल ठहरिएका उदाहरणहरु धेरै छन् ।जेभएपनि नेवाः फिल्मको उत्थानमा नेपालसम्बतलाई लिएर भएको आन्दोलनको ठूलो भुमिका रहेको कुरा पनि यहाँ उल्लेख गरेका तथ्यहरुबाट प्रष्ट हुन्छ भने यो आन्दोलनको कारण नै नेवाः फिल्मको बजार सिर्जना भयो भने विषय पनि सिर्जना भएको कुरा उल्लेखनीय हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्