नेपाल संवत्को मौलिकता र युवाको भूमिका



नेपालको सभ्यता इतिहासको विविध कालखण्डमा स्थापित भएका शाषकहरूको बाहुबल, तिनका धार्मिक, सांस्कृतिक र सामाजिक दर्शनका आधारमा परिमार्जित हुँदैआएका छन् ।

पूर्वीय दर्शनशास्त्र र दक्षिण एसियामा नेपालभूमिको जति आध्यात्मिक महत्व पाइन्छन् त्यति नै भूकम्प, आगलागी र रोगव्याधी जस्ता प्राकृतिक प्रकोपका घटनाहरू पनि पाइन्छन । यसरी आइपरेका विपत्तिहरूको सामना गर्दै आर्थिक सामाजिक परिस्थितिको आमूल परिवर्तनलाई ईतिहासमा स्थापित गर्न विभिन्न समयमा धार्मिक आस्था, व्यक्ति वा राजाका नाममा (आयातीत इस्वी, विक्रम जस्तै नेपालमा प्रचलित शक संवत् र मानदेव संवत् आदि)नयाँ संवत्हरूको थालनी भएको पाईन्छ । यसै सन्दर्भमा नेपालको इतिहासमा लिच्छवीकालको उत्तरार्धमा सन् ८७९ मा राष्ट्रकै नाममा स्थापित नेपाल संवत्को आफ्नै महत्व रहेको छ ।

लिच्छवी राजा राघवदेवबाट घोषित मानिएको नेपाल संवत्को थालनीसँगै लिच्छवीहरूको स्थान थकुरी राजाहरूले लिएको प्राय लेखकहरूले उल्लेख गरेको देखिन्छ । तर नेपाल संवत् अगाडीसम्म स्थापित मानदेव संवत्को लिच्छवी राजाबाटै विस्थापन कसरी सम्भव भयो? संवत्को थालनी कसले कुन परिवेशमा गरेका हुन भन्ने यकीन प्रमाणको अभावमा नेपाल संवत् उल्लेख भएका हालसम्म प्राप्त अभिलेखहरूका आधारमा विदेशी इतिहासविद मेरी स्लसर लगायत विभिन्न विद्वान अध्ययेताहरूकोे विभिन्न तथ्यगत तर्कहरू सार्वजनिक भएका छन । तर ईतिहासकारहरू यस संवत्सँग जोडिएको बालुवा र सुनको कथामा विश्वस्त देखिन्नन ।

संस्कृतिविद साफल्य अमात्यका अनुसार लिच्छवीकालको उत्तराद्र्धमा हाँडीगाउँको ३ महिना लामो आगलागीले विस्थापित जनताको पुनरुत्थानस्वरूप म्हः पूजाको प्रारम्भ भएको हुनसक्ने अनुमान गरिएको छ । उनी राजा राघवदेवका पालामा उक्त विपत्तिलाई पार लागेको कारण हाल सम्म निरन्तरता पाएको आत्म (शरीर) पूजा म्हः पूजा थालिएको पनि मत राख्दछन । स्मरणीय छ म्हः पूजाका दिन नयाँ संवत्को थालनीस्वरूप विशेषतः नेवाः समुदायले यस संवत्लाई राष्ट्रिय संवत्को मान्यताको माग सहित भएका भाषिक साँस्कृतिक आन्दोलनहरूको उपलब्धिका रूपमा बृहत सांस्कृतिक कार्यक्रमसहित न्हूदँ मनाउँदै आएका छन ।

नेपाल संवत् थालनी वर्षदेखि अरि मल्लको उदय अगाडीका संवत् ३२२ सम्मको समयकाललाई इतिहासकारहरूले अन्धकार युग भन्ने गरेका छन् । हुन त जयदेव दोश्रोको राज्यकाल वि.सं. ७८० देखि नेपाल संवत् शुरू हुनु अगाडिको समयका प्रमाणित ऐतिहासिक सामग्रीहरू नपाइनाले संवत् थालनीका कारण र ऐतिहासिक तथ्यहरू निरन्तर खोजीको विषय हुन सक्लान् । तर, स्थापनाकालदेखि मल्लकाल अवधिभर आधिकारिक राष्ट्रिय संवत्का रूपमा प्रचलित रहेको यो संवत् ८८८ मा पृथ्वी नारायण शाहले शक संवत्लाई मान्यता दिई यसलाई बेवास्ताको प्रयास गरेको देखिन्छ ।

यसका बाबजूद विभिन्न अभिलेखहरूमा यसको प्रयोग निरन्तर भएकै पाईन्छ भने संवत् १०२४ अर्थात सन १९०३ मा तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेर राणाका पालामा आधिकारिक विक्रम संवत्को प्रयोगपश्चात् यस संवत्को प्रयोग झन छाँयामा पर्दै गयो । यसका बावजूद हालसम्मका नेपाली चाडपर्वको तिथिमितिका आधार मान्दा भने शक संवत्सँगै नेपाल संवत्कै प्रयोग व्याप्त देखिन्छ । नेपालमा प्रचलित निम्न संवत्को प्रयोग अवधि हेर्दा नेपाल संवत् नै सर्वाधिक चल्तीमा रहेको देखिन्छ ।

सम्भवत यीनै आधारमा तत्कालीन राणा शासन विरुद्ध बुद्धधर्म व नेपालभाषा पत्रिकाका सम्पादक एवं भाषिक अभियन्ता धर्मादित्य धर्माचार्यले संवत् १०४९ सन १९२८मा नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणाको माग गरे । उनैको पाईलालाई पछ्याउँदै नेपालभाषाका भाषिक अभियन्ताहरूको सक्रियता पनि बढ्न थाले । नेपालभाषा मंकाः खलःका सचिव एवं भाषिक अभियन्ता नरेशबीर शाक्यका अनुसार संवत् १०७१ (सन १९५०)मा काठमाडौंका प्रेम बहादुर कंसाकारको अगुवाईमा भाषिक संस्था च्वसाः पासाःको आह्वानमा नेपाल संवत्को उपलक्ष्यमा बृहत् प्रभातफेरी (नसंचा उलेगु) कार्यक्रमको आयोजनाको सुरूवात गरे ।

नेपाल संवत्को आधुनिक इतिहास र युवा प्रसंग

नेपाल संवत्बारे धेरै तर्क र बहस सुन्ने गरिन्छ, तर एक जागरुक युवाले सुनको तर्कमा निरन्तरताभन्दा नेपालमा राणाकालको अन्त्येष्टीका लागि शुरू भएको आन्दोलनहरूसँगको ऐतिहासिक घटनाक्रमलाई नियाल्नु सामाजिक विज्ञानसम्मत हुने देखिन्छ । अर्थात राजनैतिक परिवर्तनमा विभिन्न शहिद, अभियन्ता र राष्ट्रिय विभूतिहरू छन् । तीमध्ये माथि उल्लेख गरिएका वि.सं. २०२० मा बित्नुभएका धर्मादित्य धर्माचार्यले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यताका लागि आवाज उठाउँदा बखत उनी २६ वर्षका युवा थिए ।

२००७ साल अर्थात संवत् १०७१ सम्म पुग्दा उत्कर्षमा पुगेको आन्दोलनसँगै थालनी भएको नेपाल संवत्को प्रभातफेरि कार्यक्रमका पछिल्ला अगुवा पद्मरत्न तुलाधर बन्न पुगे । संवत्सँगै नेपालभाषाको उत्थानकालागि उनैको पहलमा थालिएको नेपालभाषा मंकाः खलः ललितपुरमा संवत् ११०० मा स्थापना पनि भयो । राजा महेन्द्रको पञ्चायती व्यवस्था र राष्ट्रियताको अभियानमा नेपाली विविधताको समानताको अभाव देखेर भाषिक आन्दोलनहरू चर्किए । त्यससँगै सांस्कृतिक जुलुसको रूप लिएको कार्यक्रममा मसालको साटो मैनयात्राको रचनात्मक रूप पनि देखिए । यसरी नेपाल संवत्को पूर्वसन्ध्यामा पाटनमा थालिएको सीःमतया मैन यात्राले संवत् ११२४ सम्म निरन्तरता पाउँदै रह्यो ।

नेपालभाषा मंकाः खलः यलको आह्वानमा इच्छुक टोल संस्थाहरूले पालैपालो आयोजना गर्दै आएको सी मतयाः पाटनको पौराणिक जात्राहरूको रुटमा कायम थियो । ११२५ मा भने इच्छुक सामाजिक संस्थाले यो रुट बृहत् बनाउने प्रस्तावमा चर्को बहस पनि श्रृजना भयो । आर्थिक संकलन र मैनयात्राले बृहतता पाउने हुनाले राम्रो भन्ने र वार्षिक निरन्तरताका लागि भविष्यका आयोजकहरूमा आर्थिक भार बढ्नाले यो प्रस्ताव बेठिक भन्ने दुइ तर्क देखिए । त्यसैबेलाको बहसमा सबैलाई मान्य हुनेगरी दीर्घकालीन निर्णय गराउन महत्वपूर्ण भूमिका खेलेका व्यक्तित्व थिए, हालै बित्नु भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी । उनीलगायत अग्रज भाषिक अभियन्ताहरूले सुझाएको तर्कका आधारमा पौराणिक सापारु (गाइजात्रा) रुटमा मैनयात्रा सीमित गर्नेगरी गरिएको निर्णय कार्यान्वयनमा तत्काल देखिएको आयोजक संस्थाको अभाव देखियो । उक्त अभावलाई पूर्ति गर्न बढेको युवा जमात थिए रोट्राक्ट क्लब अफ ललितपुर, पाटन र यल । स्मरणयोग्य छ, सो काल २०६६ अर्थात ६२÷६३को राजनैतिक परिवर्तनपछि विविध अधिकारहरू संस्थागत गर्ने जागरुकताको समय थियो ।

विशेषतः ललितपुरका विभिन्न जातीय समाज र स्थानिय क्लबहरूको आयोजनामायुवा परिचालन गर्दै आएको मैनयात्रा अन्तर्राष्ट्रिय स्तरको रोटरीअन्तर्गत रहेको युवा संस्था आफैंले आयोजना गर्ने अवस्थामा पुग्नु नवयुवाहरूको आकर्षण र सक्रिय सहभागितामा पनि बदलियो । संवत् ११२५ देखि संस्कृति संरक्षण र प्रवद्र्धनका लागि युवा नारासहित रचनात्मक मौलिक कलाकारिता, नृत्य गायन प्रस्तुतिसँगै स्थानिय संस्कृति प्रवद्र्धनमा निरन्तर लागिपरेको रोटराक्ट क्लबले हालसम्म पनि यसलाई निरन्तरता दिँदै आएका छन ।

हरेक वर्ष युवा कलाकारितालाई प्रवद्र्धनकासाथै मूर्त अमूर्त संस्कृति जगेर्नामा लागिपरेको ललितपुरको एक संस्था र एक व्यक्तित्वलाई विशेष सम्मान पनि गर्दै आएको छ । यसरी सम्मानित हुने व्यक्तित्वहरूमा संगीत शिरोमणि उस्ताद कुमारलाल श्रेष्ठ, बौद्धबिद्वान धर्मरत्न शाक्य देखिटबलाबादक बालकलाकार रोशन राजकर्णिकार रहेका छन भने कात्तिक नाच संरक्षण समितिजस्ता संस्थाहरू रहेका थिए । उक्तकार्य निरन्तरतामा कोभिड काल र ने.सं. ११३८मा भाषिक अभियन्ता पद्मरत्न तुलाधरको निधन वर्ष झैं हालै बित्नुभएका शताब्दी पुरुष सत्यमोहन जोशीप्रतिको सम्मानमा भने मैनयात्रा स्थगन गरी शोक सभाको रूपमा आयोजना गरिने भएको छ ।

उपसंहार

नेपाल संवत्, सांस्कृतिक तथा भाषिक जागरणको लामो इतिहास निर्माणमा नेवाः समुदायको अग्रसरता सदैव रहनाले यो संवत् नेपालको मौलिक संवत्भन्दा नेवाः जातिको मात्र हो भन्ने भ्रम पनि स्थापित रहिआएको छ । चन्द्रशमशेरको शासनकाल वि.सं १९६० अघिसम्म राष्ट्रिय संवतको मान्यता पाएको नेपाल संवत् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकै भनाइमा पनि ‘‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरू भएको नेपाल संवत् राणाशासनसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो । यो सारा नेपालीहरूको मौलिक संवत् हो ।’’

तर प्रसंगवश बिर्सन नहुने कुरा भने, माथि उल्लेखित संक्षिप्त इतिहास निर्माणमा अग्रजहरूको सांस्कृतिक, भाषिकलगायतका चिन्तन र दुरदृष्टिलाई यथार्थमा परिवर्तित गर्न सदैव युवापुस्ताकै जोश गाँसिएको तथ्य नकार्न सकिन्न । युवाहरू स्वभावैले विद्रोही नै रहन्छन तर युवा जोशलाई व्यवस्थित र संस्थागत गर्न नसकिएर सेलाउँदै जाने तीनका जोशले युवा पुस्तान्तरणमा हौसलाभन्दा नैराश्यता बढी देखिने गरेको छ । नेपाल संवत्लाई उत्सवसँगै मौलिक संवत्को जागरण दिलाउन पछिल्लो २ दशकमा देखिएको युवापुस्ताकोजोश फेरी पनि क्षणिक नबनोस् भन्नाका लागि सम्बन्धित निकाय र विशेषत बृहत् समारोह समितीहरूले युवापुस्तालाई पनि समान व्यवहार र सम्मानित गर्न सक्नुपर्दछ ।

युवापुस्ताका प्रतिनिधि संस्थाहरूलाई मात्र भए पनि समेटेर, उनीहरूको योगदानलाई सम्बोधन नगर्ने हो भने बिगत केही दशकको अन्तरालमा देखिएको दु्रत शहरीकरण, आर्थिक बिचलन र अवसरको कमीका कारण राजनैतिक नैराश्यतातर्फ उन्मुख हाम्रो देशमा परिवर्तनका लागि युवा पुस्ताको जोश सदैव उस्तै रहन्छ पनि भन्न सकिन्न । यस तर्फको परिवर्तनका लागि पनि नेपाल संवत्प्रतिको अपनत्व जागरणले सहयोग हुन सक्दछ, नयाँ संस्कृतिको संस्थागत विकास हुन सक्दछ ।

अन्तमा, शताब्दी पुरुष सत्यमोहन जोशीज्यूसँगको थोरै समय अनुभवका आधारमा अनुभूत गरेको कुरा — संस्कृति पुराना राम्रा प्रचलनको मात्र निरन्तरता हैन, संस्कृति भनेको हाम्रो सामूहिक प्रयासमा स्थापित हुने नयाँ मौलिक बहुजन हितका गतिविधि पनि हो । त्यसले संस्थागत निरन्तरता पाउनुपर्छ । अस्तु ।

प्रतिक्रिया दिनुहोस्