भत्काइएको स्थानमा सामुदायिक भवन बनाउन माग

नःघलको त्वाः छेँ विवाद

0
Shares

काठमाडौं । 

काठमाडौं महानगरपालिकाले डोजर चलाएर भत्काइएको बाङ्गेमुढास्थित त्वाः छेँ (टोल घर) लाई सामुदायिक भवनको रूपमा पुनःनिर्माण गर्न स्थानीयवासीले माग राखेका छन् ।

स्थानीय बासिन्दाका अनुसार २८ नं. वडा कार्यालय र सामाजिक-भाषिक संस्थाले केही समय अघिसम्म चर्चेर आएको उक्त भवन माथिको दुवै पक्षले स्वामित्व दाबी गर्दै आए पनि घरधनी प्रमाणपत्र कसैको नाममा पनि बनेको देखिँदैन ।कुनै बेला उक्त स्थानमा सार्वजनिक शौचालय थियो ।

वि.सं. २०३३ सालतिर छ वरपरका वटा टोल नःघल, बाङ्गेमुढा, न्ह्योखा, त्यंग, न्हैकतला र खिलँ टोलका बासिन्दाहरूको संयुक्त पहलमा चन्दा संकलन गरेर उक्त भवन ठड्याइएको थियो । वि.सं. २०३५ सालमा निर्माण सम्पन्न गरिएको दुई तले उक्त भवनमा स्थानीय जनताकै सुविधाका लागि भनेर सहमतिमा वडा कार्यालयलाई बस्न दिइएको थियो । पछि तीनतले पारिएको उक्त भवनमा केही दिन अघि काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि उक्त भवनको स्वामित्व विवाद फेरि सतहमा आएको हो ।

महानगरपालिकाको उक्त कदमपछि महानगरपालिकाको समर्थनमा भन्दा विरोधमा जनमत मुखरित भएको छ ।अहिले स्वामित्व दाबी गर्ने दुवै पक्षको दाबी नपुग्ने बताउँदै भवन निर्माण गरिँदाका बखत योगदान गरेका स्थानीय बासिन्दा त्यसको सही हकदार ६ वटा टोलका बासिन्दा सम्मिलित निर्माण समिति भएको र त्यहाँ राखिएको शिलालेख यसको प्रमाण भएको दाबी गर्छन् ।

त्यस शिलालेखमा चन्दादाता र पुनःनिर्माण समितिका पदाधिकारीहरूको नामावलीको फेहरिस्त रहेको छ । मुद्दाका बेला ओझेलमा पारिएको यही शिलालेखलाई आधार बनाएर यतिखेर उनीहरू त्यस भवनको स्वामित्व दाबी गर्दै मुद्दा हाल्ने तयारीमा जुटेका छन् ।जिल्ला अदालतले २०७३ कात्तिक २३ गते गरेको फैसलामा भनिएको छ – ‘उक्त भवन साविकदेखि काठमाडौं महानगरपालिकाको वडा समिति सञ्चालनमा रहेको भन्ने कुरा स्थलगत सर्जमिन समेतबाट खुलेको छ ।

उक्त भवनमा कामनपाको वडा समितिको नाममा खानेपानी र विद्युत् जडान भएको समेत पाइन्छ । अगाडि विवेचना गरिएबमोजिम महानगरपालिकाले आफ्नो क्षेत्रभित्रको सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने अधिकार र कत्र्तव्य एकातिर रहेको छ भने अर्कोतर्फ सर्वसाधारण जनता र टोलवासीका योगदान र सहभागितामा निर्माण भई वडा समिति समेत सञ्चालन भएको सार्वजनिक प्रयोगमा रहेको भवन स्थानीयवासीकै हकहित तथा सुविधाको निमित्त प्रयोग एवं उपभोग हुने हो भन्ने कुरामा पनि दुई मत हुँदैन ।’ अहिले पनि स्वामित्व विवादको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बताइन्छ ।

उक्त भवन थाय्मदु टोलको टोल घर भएको दाबीसहित थाय्मदु निवासी कृष्ण सुन्दर मल्ल सहितका व्यक्तिहरूले वडा कार्यालयविरुद्ध वि.सं.२०७१ मङ्सिर १५ गते मुद्दा हालेकोे थियो ।उक्त भवनको छेवैमा त्यंग टोलका ज्यापू समुदायको नासः द्यः (इष्ट देवता) रहेको छ । उक्त ठाउँको फोहर पन्छाउन र टोल घर निमाण गर्न त्यतिखेर तिनै ज्यापू समुदायले महिनौं दिनसम्म श्रमदान गरेको र उनीहरूलाई खाजा ख्वाउने प्रवन्ध निर्माण समितिले गरेको स्थानीयवासी गुह्यरत्न शाक्य स्मरण गर्नुहुन्छ ।

वडा नं २७ र २८ गाभिएर २५ नं वडा कायम हुनु अघिसम्म यसै भवनबाट २८ नं वडा कार्यालय सञ्चालन भइआएको थियो । २५ नं वडा कार्यालय मासंगल्लीमा सरिसकेको छ । २५ नं वडा कार्यालयले मेयर विद्यासुन्दर शाक्यको पालामा त्यस भवनलाई भत्काएर पार्किङसहितको ६ तल्ले भवन निर्माण गर्न चाहेको थियो । तर, उक्त योजनामा सहमति जुट्न सकेन । त्यस भवनबाट उठ्ने बहालबापतको रकम कहाँ गयो भन्ने प्रश्न पनि कतिपयले उठाउने गरेका छन् ।

यहाँका पाका व्यक्तिहरू तत्कालीन २८ नं वडाकै सम्पूर्ण टोलवासीको टोल घरको रूपमा परिचित यस त्वाः छेँ भवनको स्वामित्व दावी गर्दै २०७१ सालमा मुद्दा हाल्ने पक्षले शिलालेखमा रहेको निर्माण समिति र चन्दादाताको नामावलीलाई प्रमाणको रूपमा पेस नगरी थाय्मदु टोलकै मात्र टोल घर भनी दलील पेस गर्दा मुद्दा फिलतो भई मागबमोजिमको फैसला नआएको विचार व्यक्त गर्छन् । उनीहरू भन्छन्– ‘सार्वजनिक प्रयोजनका लागि त्यहाँ अब सामुदायिक भवन बनाइनुपर्छ । त्यहाँ वडा कार्यालय बस्न चाहे पनि ठाउँ उपलब्ध हुनेछ । टोलवासीकै हित हुने सामाजिक गतिविधिलाई पनि सँगसँगै निर्माण समिति स्वयंले सञ्चालन गर्न सक्छ । यसमा आपत्तिको कुरो भएन ।’