कुमालेलाई पाला बनाउन र बेच्न भ्याईनभ्याई

0
Shares

भक्तपुर ।

तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर दीपावलीका लागि चाहिने माटाका पाला बनाउन र बेच्न भ्याई नभ्याई भएको छ । माग अनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचो, लगायतका क्षेत्रका प्रजापतिहरुलाई भ्याई नभ्याई भएको हो ।

भक्तपुर र मध्यपुर थिमिमा उत्पादन भएको पाला भक्तपुर, काठमाण्डौ, पोखरा, नुवाकोट, नेपालगञ्ज, भैरहवा, काभ्रे, जिरी, दोलखा लगायतका विभिन्न जिल्लामा खपत हुने गरेको छ । हरेक बर्ष व्यापारीले तिहार अघि नै आएर अर्डर दिएर गएका पाला बनाउने र आफूले खुद्रा बिक्री गर्न पनि पाला बनाउने गरेका छन् । अर्डर अनुसारको पाला, धूपौरो दही राख्ने ठेकी बनाउन पनि भ्याई नभ्याई भएको भक्तपुर नगरपालिका १२ पोटरीस्क्वायरका राजेश प्रजापतिले बताउनुभयो ।

अन्य समयमा माटाका भाँडाहरू फाटफुट बिक्री हुने गरेको भएपनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको छ। पाला बनाउने प्रजापतिको संख्या घटेपछि पेशा अंगाल्दै आएकाहरुलाई भने पाला बनाउन भ्याई नभ्याई भएको हो ।

पछिल्लो समय तिहारमा बत्ति बाल्नकै लागि विद्युत बत्तीको माग समेत उच्च हुने गरेको छ तर तिहारमा बिजुलीका रंगीचंगी बात्ती बालेर झिलीमिली पार्ने गरेपनि अनिर्वाय रुपमा दियो पनि बाल्नु पर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायीहरु बताउँछन् ।

केही वर्ष अघि मैनबत्ती बाल्ने प्रचलन देखिएपनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारी रामप्रसाद प्रजापति बताउनुहुन्छ ।

विभिन्न आधुनिक विद्युतिय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षा, धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको हो ।

कुमालेहरुले तयार भएको पाला होलसेल व्यापारीहरुलाई बिक्री गरिन्छ । होलसेल व्यापारीहरुले पाला हजारौंको संख्यामा खरिद गर्ने र उनीहरुले केही मुनाफा खाएर काठमाण्डौं उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ताहरु माझ पु¥याउने गरेको रामप्रसादले बताउनुभयो ।

कोरोना संक्रमण,माटोको अभाव र प्लाष्टिकका भाँडाको बढ्दो प्रयोगका कारण यो पेशा संकटमा परेको कुमालेहरुले गुनासो गरेका छन् ।
भक्तपुर र थिमीमा झण्डै तीनसय भन्दा बढी घरपरिवार कुमाले माटोको भाडा बनाएदै आएकोमा अहिले विस्थापित हुदै करिब १५० घरपरिवारमा सिमित भएका छन् ।
विश्व मै चर्चामा रहेको र नेपाल आउने पर्यटकको आकर्षणको केन्द्र रहेको छ कुमालेको माटोको भाडा बनाउने पेशा ।दिपावलीको अवसरमा मैन बाल्ने प्रचलन व्यापक भएपनि विगतका केही वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रम पनि बढेको छ ।सुरक्षाको दृष्टिकोणले समेत पाला उत्तम मानिने गरिन्छ ।
गएको वर्षको तुलनामा यस वर्ष पालाको माग धेरै भएकाले प्रजापति समुदायलाई फुर्सद छैन ।

परम्परागत रुपमा बनाइने माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने गर्छन् । काठमाण्डौ उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्थानबाट लाखौँ माटोका सामग्रीहरुको माग आएपछि त्यो समुदायलाई अहिले भ्याइनभ्याइ भएको हो ।

माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको कुमालेहरू बताउँछन् । माटोका पालाको माग भक्तपुरमा मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा समेत बढेकाले पाला बनाउन भ्याइनभ्याइ भएको उनीहरु बताउँछन् ।