कृष्णलाल महर्जन : जसलाई सन्न्यास लिन पार्टीले दिएन

0
Shares

ललितपुर । 

६८ वर्षीय कृष्णलाल महर्जन, पार्टीमा संकट परेको बेला पार्टीको सधैं रोजाइमा पर्ने ललितपुरका नेता हुनुहुन्छ । महर्जनलाई राजनीतिक वृत्तमा यही कारणले बढी चिनिने गरेको छ । यसपटकको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ललितपुर क्षेत्र नं २ का लागि महर्जनले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको छ ।

महर्जनको यो चौथोपटकको उम्मेदवारी हो । यसपटक भने उहाँ एकीकृत समाजवादीको उम्मेदवार रहनुभएको छ । ‘अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले दुईदुईपटक संसद् विघटन गर्नुभयो । संविधान असफल बनाउन खोजियो । पार्टी एक व्यक्तिको स्वेच्छाचारितामा चलेको थियो । नीति, सिद्धान्त, विचार केही भएन । त्यसको विरुद्धमा विद्रोह गरेर बाहिर निस्किएको हुँ’ –उम्मेदवार महर्जनले भन्नुभयो ।

२०५६ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) ले ललितपुर क्षेत्र नं २ को उम्मेदवारमा महर्जनलाई पहिलोपटक रोजेको थियो । पार्टीभित्र लो–प्रोफाइलमा रही सक्रिय रहँदै आएका महर्जनलाई त्यति बेला उम्मेदवार बन्ने मनैदेखि चाहना थिएन । उम्मेदवार बन्ने चाहना नराख्नुमा इँटाभट्टा सञ्चालनमा व्यस्त रहेको र त्यसमाथि महर्जनको बुबा कान्छा महर्जनको निधन भएको वर्ष दिनको तिथि पनि सकिएको थिएन ।

तत्कालीन नेकपा (माले) बाट सिद्धिलाल सिंह उठ्ने भएपछि पार्टीलाई विजयी गराउन महर्जनलाई उम्मेदवारी दिन लगाइएको थियो ।उम्मेदवार महर्जनका अनुसार त्यसका दुई, तीन वटा कारण रहेका थिए । पार्टी विभाजनले अस्तव्यस्त हुँदा महर्जनको विकल्पमा पार्टीभित्र अर्को सशक्त उम्मेदवार थिएन । दोस्रो सिंहलाई २०४८ र २०५१ सालमा चुनाव जिताउन महर्जन निकै खटिएका थिए । तेस्रो सिंह र महर्जन नजिकको दाजुभाइ भएकाले पारिवारिक मत तान्न पनि सकिने पार्टीको आँकलन थियो । ‘आफ्ना दाजु एवं नेकपाका कम्युनिस्ट आन्दोलनका एक सशक्त नेता एवं दाजु सिद्धिलाल सिंहसँग चुनाव लड्ने मेरो चाहना थिएन । पार्टीले मलाई उम्मेदवारी दिन लगाइयो’ –उम्मेदवार महर्जनले पुराना कुरा सम्झिँदै भन्नुभयो ।

पञ्चायती व्यवस्थाविरुद्धको संघर्षमा ‘दन्त्यकथा’ का नायकझै छवि बनेको सिंहलाई चुनावमा हराएपछि महर्जन संसद्को राजनीतिमा उदाउनुभएको थियो । पहिलोपटक सांसद हुँदा संसद्मा नियमित उपस्थिति हुने र समसामयिक सवालमा आफ्नो कुरो राख्ने महर्जनको ललितपुरका जनताले रुचाएका थिए । समसामयिक सवालमा आफ्नो कुरो राख्ने स्वभावलाई भने महर्जनको अघिल्लो संसद्मा देखा परेन ।

२०७४ सालको निर्वाचनमा विजयी भएपछि विकास निर्माणका धेरै प्रस्ताव लगेका थियो । पार्टीभित्र आफ्नो प्रस्तावलाई निकै बेवास्ता गरेको महर्जनको अनुभव रहेको छ । ‘पार्टीभित्र माधव गुटको सांसद भनी फरक व्यवहार ग¥यो । संसद्मा बोल्न दिँइदैनथ्यो । बोल्न अनुमति माग्दा समय छैन भनी संसदीय दलका उपनेताले कहिले अनुमति नै दिएनन् । यस्तै, व्यवहार एकपटक होइन, दुईपटक होइन पटकपटक व्यहोर्नुप¥यो । निकै उकुसमुकुसको अनुभूति भयो । बाध्य भएर पार्टी छाडेको थिएँ’ –उम्मेदवार महर्जनले भन्नुभयो ।

२०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा पार्टीले आफूलाई उम्मेदवार बनाउनेमा निकै आशावादी थियो । सिद्धिलाल सिंह नै चुनाव उठ्ने भए पनि उहाँले टिकट पाउनुभएन । निर्वाचनमा एमालेको पराजय व्यहोर्नुप¥यो । लगातार चारपटक जितेको सो क्षेत्र एमालेको हातबाट फुत्किएकाले पार्टीले २०७० सालमा भएको निर्वाचनमा महर्जनलाई फेरि उम्मेदवार बनाएको थियो ।

पहिलोपटक निर्वाचनमा महर्जनले चुनावी खर्चको लागि लिइएको ऋण तिर्न इँटा ओसारपसार गर्न प्रयोग गरिरहको ट्रक बच्नुपरेको थियो । ‘२०७० सालमा महर्जनलाई चुनाव प्रचारप्रसारका क्रममा अरू उम्मेदवारको दाँजोमा खर्च गर्न निकै कठिनाइ भएको थियो । २०७४ सालको निर्वाचन एक, दुई महिनाअघि महर्जनका ९० वर्षीया आमा कान्छी महर्जनको निधन भएको थियो पूरै परिवार शोकाकुल स्थितिमा थियो । यसले गर्दा चुनावमा होमिने इच्छा थिएन । तैपनि पार्टीले उम्मेदवार बनायो’ –उहाँले भन्नुभयो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दुईपटक भेटेर यसपटक निर्वाचनमा आफू उम्मेदवार नबन्ने कुरा राखेको बताउँदै महर्जनले भन्नुभयो– ‘मेरो कुरो सुनेर नेता नेपालले हुन्छ पनि भन्नुभएको थियो । पछि म नभएको समयमा जिल्लाका नेता र कार्यकताहरू नेता नेपालकहाँ पुगेर मलाई नै उम्मेदवार बनाउनुपर्ने कुरो जोडदार रूपमा राखेको सुनेँ । पार्टीको अस्तित्व बचाउने कुरो मुख्य प्रश्न रह्यो । यसले गर्दा अन्तिम क्षणमा उम्मेदवार बन्ने प्रस्ताव स्वीकार गरेको हुँ ।’

उम्मेदवार मनोनयन दर्ता गर्ने दिन गत असोज २३ गते आइतबारको अघिल्लो दिन बेलुकासम्म पनि उम्मेदवार बन्न पार्टीले गरेको आग्रह महर्जनले इन्कार गर्दै आउनुभएको थियो । ‘पार्टीलाई संकटबाट टार्न पुनः चुनावी मैदानमा उत्रिएको हुँ । सत्तागठबन्धनका दलहरूको बलियो समर्थन र विगतमा गरेको काम नै चुनाव जित्ने मेरो मुख्य आधार हुन्’ –उम्मेदवार महर्जनले भन्नुभयो ।