नेपाल संवत् ११४३ सत्यमोहन जोशीको नाममा समर्पित गरौं !

0
Shares

काठमाडाैं ।

नेपालीहरूको मौलिक संस्कृति बनेको नेपाल संवत् ११४३ संघारमा छ । यता हामी संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको दुखद् निधनमा शोक मनाइरहेका छौं । एकातिर प्रसन्नताको पर्व छ भने अर्कातिर शोकको सागर । नेपाल संवत्लगायतका नेपालका सांस्कृतिक मौलिकतामाथि आजीवन अनुसन्धान गरेर हामीबाट बिदा लिएका सत्यमोहनप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नका लागि यसपटक नेपाल संवत् उहाँकै नाममा समर्पित गर्नु आवश्यक भएको छ ।

शताब्दीपुरुष सत्यमोहन जोशीज्यूसँगको यहाँ प्रकाशित तस्बिर सरकारमा एमालेको नेतृत्व रहेको बेलाको हो । तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीज्यूले मलाई शिक्षामन्त्री नियुक्त गर्नुभएको थियो । म सत्यमोहनज्यूसँग आशीर्वाद लिएर जिम्मेवारी बहन गर्न चाहन्थे । यसैबीच स्वास्थ्यमा केही समस्या रहेका सत्यमोहनज्यूलाई राष्ट्रपति विद्या भण्डारीज्यूले आफ्नो तर्फबाट सुस्वास्थ्यको कामना गरिदिन पनि मलाई आग्रह गर्नुभयो । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ल्याएको थियो ।

यसअन्तर्गत मुलुकका विभिन्न विद्यालयलाई सहयोग गर्ने कार्यक्रममा छात्रावाससहितको सुविधासम्पन्न एक नयाँ विद्यालय स्थापना गर्ने र त्यसको नाम सत्यमोहन जोशी विद्यालय राख्ने सोच बन्यो । मैले सत्यमोहनज्यूकै निवासमा उहाँलाई भेटेर राष्ट्रपतिज्यूको सन्देश र विद्यालयको सोच दुवै सुनाएँ । समुद्रजस्तै शान्त स्वभावका उहाँले ‘राष्ट्रपतिज्यूलाई धन्यवाद सुनाइदिनुहोला, शैक्षिक कार्यक्रमले मुलुकको विकासमा योगदान दिनसकोस्’ भनेर आशीर्वाद दिनुभयो ।

मुलुकको राजनीतिक परिस्थितिमा तरलता सिर्जना भयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु हुन नपाउँदै एमाले सरकारलाई अप्रजातान्त्रिक तरिकाले ढालियो । तर, पुनः एमालेको सरकार बन्नेछ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु हुनेछ । सत्यमोहनज्यूको नाममा नमुना विद्यालय स्थापना हुनेछ । यो मेरो विश्वास हो ।मैले जसरी हेर्दा पनि सत्यमोहनज्यूलाई विशेष नमुनाका पात्र देख्छु । उहाँको व्यक्तित्वलाई सही अर्थमा बहुआयामिक मान्नैपर्छ । आफैं प्रामाणिक र गहन अनुसन्धान गर्ने तथा आफूले संकलन गरेको ज्ञानलाई अरूसमक्ष पु¥याउने अभियानमा समर्पित उहाँ ‘सादा जीवन उच्च विचार’ का दृष्टान्त हुनुहुन्थ्यो ।

न्युजिल्यान्डमा उच्चशिक्षा हासिल गरेका संस्कृतिविद् उहाँको बौद्धिक क्षमतालाई तीन–तीनपटक मदन पुरस्कार पाउनुले मात्र पनि पर्याप्त मात्रामा प्रमाणित गर्दछ ।१ सय ३ वर्षको लामो आयु पाएका सत्यमोहनले आइतबार बिहान अन्तिम स्वास फेर्दा म उहाँको निकटमा थिएँ । अन्तिम क्षणमा उहाँको अनुहार हेरिरहँदा राष्ट्रियता, जातिगत एकता र सांस्कृतिक मौलिकताका क्षेत्रमा राष्ट्रलाई जुन स्तरमा उहाँले सेवा पु¥याउनुभयो त्यसका पत्रहरू एकपछि अर्को खुल्दै जान्थे । नेपालीलाई आफ्नो जीवनका अनेक घटनाबाट उहाँले पाठ सिकाइरहनुभएको प्रमाणित हुन्थ्यो ।

सत्यमोहन जोशीको शरीर अध्ययनका लागि अस्पतालमा राखिने निर्णय पनि विशिष्ट व्यक्तिका लागि सुहाउने निर्णय बनेको छ । उहाँको आइतबार बिहान ७ बजेर ९ मिनेटमा ललितपुरको किस्ट अस्पतालमा निधन भएपछि परिवारजन र अस्पतालबीच भएको छलफलमा शरीर अध्ययनका लागि राख्ने सहमति भयो । जीवित छँदै शरीर दान गरेका सत्यमोहनज्यूको यो व्यवहार पनि आदर्श छ । उहाँको इच्छाअनुसार नै परिवारजनले पार्थिव शरीर नजलाउने निर्णय गरे । उहाँको शरीर अस्पतालमै विद्यार्थीको अध्ययनका लागि सुरक्षित गरिनेछ ।

अस्पताललाई हस्तान्तरण गर्नुअघि सत्यमोहनज्यूलाई अन्तिम श्रद्धाञ्जली दिन उहाँको शव ललितपुर महानगरपालिकाको प्राङ्गणमा राखिएको थियो । राष्ट्रिय झण्डा ओडाएर उहाँलाई उच्च सम्मान दिइयो । मंगलबार उहाँको नाममा राष्ट्रिय बिदाको घोषणा पनि गरियो । यति सम्मान दिँदा पनि मलाई भने उहाँको योगदानको अगाडि हामीले उहाँलाई दिएको श्रद्धाञ्जली अत्यन्त न्यून अनुभूति भइरहेको छ ।तर्क, तथ्य, मानवीयता तथा लोकतान्त्रिक आस्था बोकेका पुनर्जागरणका सूत्रधार व्यक्तित्व सत्यमोहनबाट सिक्नुपर्ने अनेक पक्षहरू छन् ।

५२ वर्षअघि तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकारद्वारा पुरातत्व विभागको निर्देशक (प्रमुख) मा नियुक्त गरिएका संस्कृतिविद् सत्यमोहन जोशी प्राचीन प्रस्तरकलाका ज्ञाता हुनुहुन्थ्यो । उहाँ मन्दिरका टुँडालको काष्ठकला, काठमाडौं उपत्यकाको बौद्ध र हिन्दू धर्मको अन्तरसम्बन्ध, नेवार सभ्यताको प्राचीनता र गहिराइ, पाटन दरबार क्षेत्रका समुदायहरूको उत्पत्ति, कर्णाली भेकको लोकसंस्कृति, ऐतिहासिक व्यक्तित्व अरनिकोका अन्वेषणकर्ता तथा थुप्रै थुप्रै सूचना र ज्ञानका स्रोत हुनुहुन्थ्यो । धेरै नबोल्ने तर आवश्यक परेको बेला सटिक सुझाव दिने, रत्तिभर पनि विशेष सहुलियत र आदरको अपेक्षा नराख्ने उहाँ अन्तिम अवस्थामा पनि शारीरिक तथा मानसिक रूपमा सक्रिय हुनुहुन्थ्यो । इतिहासको अनुसन्धान मिथ्या र किंवदन्ती नभई प्रमाणमा आधारित हुनुपर्दछ भन्ने उहाँ समाज र संस्कृतिको उत्पत्तिमा चाहिँ मिथ्या र किंवदन्तीको पनि महत्व हुने दृष्टिकोण राख्नुहुन्थ्यो ।

निष्कर्षमा सत्यमोहनज्यू नेपाली पहिचानका लागि समर्पित उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल संवत् ११४३ म उहाँमा समर्पित गर्दछु । नयाँ वर्षका हरेक गतिविधि सत्यमोहनज्यूकै कृतित्व र योगदानको चर्चा गर्दै बिताउने छु । देश–विदेशमा रहेर नेपाल संवत्का अवसरमा कार्यक्रम गर्ने समूह तथा संस्थालाई पनि यसपटकको नेपाल संवत् उहाँमै समर्पित गर्न अनुरोध गर्दछु ।