गठबन्धनको शीर्ष नेतृत्वद्वारा ओलीको खरो आलोचना

चुनावी अभियान

0
Shares

 काठमाडौं ।

नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रवृतिको खरो आलोचना गरेका छन् ।

मंगलबार लललितपुरमा संयुक्त चुनावीसभामा गठबन्धनका शीर्ष नेताहरूले ओलीको अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कमदका विरुद्ध अग्रगनका पक्षपातीहरू एक ठाउँमा उभिएको बताउँदै प्रतिपक्ष गठबन्धनप्रति आक्रोश व्यक्त गरेका थिए ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले पूर्वप्रधानमन्त्री ओलीले दुई–दुई पटकसम्म संसद् भंग गरेर संविधान मिच्ने काम गरेको र आवधिक निर्वाचनको चक्रलाई समेत मिच्न खोजेको आरोप लगाउँदै भन्नुभयो– ‘जनताले चुनेको संसद्लाई मनपरी गरेर भंग गर्न मिल्दैन ।

यो–यो अवस्थामा बाहेक संसद् भंग गर्न पाइँदैन भन्ने व्यवस्था हामीले गरेका थियौं । राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गर्ने ओली नै अहिले तीनै जनतामाझ मत माग्न जानु लाजको विषय हो ।’ रातारात राष्ट्रपतिकहाँ जानु आवश्यक नभएको टिप्पणी गर्दै देउवाले भन्नुभयो– ‘त्यही काम बिहान ६÷७ बजे गरेको भए पनि हुन्थ्यो । लहडमा भंग गरिदिनुभयो । लहडमा उहाँले के गर्नुहुन्छु, के गर्नुहुन्न के थाहा ?’

प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री ओलीले दुई वर्षअघि नै संसद् विघटन गरेर संविधान र लोकतन्त्रलाई मास्ने प्रयास गरेको आरोप लगाउँदै भन्नुभयो– ‘अहिलेको यो संविधान राम्रो संविधान छ, यो संविधान बचाएर सबैले मिलेर देशको विकास गर्नुको विकल्प छैन । अहिले गठबन्धन छ, जहाँ जो उम्मेदवार छ, त्यहीँ भोट हालौँ । जहाँ रूख छ, त्यहाँ हालौं । कलम भए पनि हालौँ, हँसिया हथौडा भए पनि हालौं ।’ अहिले सत्ता गठबन्धन राम्रोसँग चलिरहेको र चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने विश्वास व्यक्त गर्दै उहाँले गठबन्धनलाई स्थायी लोकतन्त्र, शान्ति र विकासका लागि मतदान गर्न आग्रह गर्नुभयो । उहाँले गठबन्धनको सरकार बनेपछि मुलुकको आर्थिक अवस्थामा समेत सुधार हुँदै आएको दाबी गर्नुभयो ।

सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले नेतृत्वमा राजावादी, अलगाववादी र देशलाई विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन भएको आरोप लगाउनुभयो । सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने भन्नासाथ प्रतिपक्षीले अपवित्र गठबन्धन गरेको टिप्पणी गर्दै दाहालले भन्नुभयो– ‘केपी ओलीसँगको गठबन्धनमा राजावादीहरू, अलगाववादीहरू, देशलाई विखण्डन गर्न चाहने तत्वहरू र प्रतिगमनकारीहरूको गठबन्धन प्रष्ट देखिएको छ ।’

मुलुकमा अप्राकृतिक, अपवित्र र प्रतिगमनकारी कसरत चलिरहेको र गठबन्धन निर्माण नगरेको भए संसद् विघटन भएपछि राजनीतिक समस्या उत्पन्न हुने अवस्था रहेको भन्दै उहाँले निर्वाचनपछि पनि गठबन्धन आवश्यक पर्ने बताउनुभयो । देशलाई निरंकुशता र अराजतकताको भूमरीमा हाल्ने प्रवृत्ति पार्टी र संसदीय दलको नेता ओलीबाटै शुरू भएको स्मरण गराउँदै दाहालले वैधानिक संस्थाका अवैधानिक सेटिङले माधवकुमार नेपाल र आफूलाई दुई ठाउँमा बस्नुपर्ने बनाइदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘अहिले प्रतिपक्ष गठबन्धनमा कस्ता अनुहारहरू छन्, कस्ता भाषा बोल्छन्, सबैले बुझेका छन् कि तिनीहरू प्रतिगमनका मतियार हुन् । हाम्रो गठबन्धनमा संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा, समानुपातिक, समावेशी मान्यतासहित संघीयताको रक्षा गर्ने स्पष्ट उद्देश्य छ । हामीले गठबन्धन बनाउँदै गर्दा प्रष्ट गरेका थियौं, हाम्रो गठबन्धन सरकार बनाउनको लागि मात्रै, सत्ता प्राप्तको लागि मात्रै नभई व्यवस्था जोगाउनका लागि हो ।’

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटा पार्टीले जित्ने र अर्को पार्टीले हार्ने नभई परिवर्तनले जित्ने कि परिवर्तन विरोधीले जित्ने भन्ने फैसला हुने दाहालको भनाइ छ । संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, देशका सबै उत्पीडित जाति, वर्ग, क्षेत्र समुदायलाई समावेशी, समानुपातिकसहित स्थापित भएको, लोकतन्त्रको रक्षा गर्ने कि यसलाई उल्ट्याउन दिने भन्ने ठूलो लडाइँ चलिरहेको भन्दै उहाँले थप्नुभयो– ‘हामी ब्यालेटबाट राजनीतिक ब्याटल लड्दैछौं । ब्यालेटबाटै अग्रगमन र प्रतिगमनको ब्याटल लड्दै गरेकाले यसलाई सामान्य नसोचियोस् भन्ने अपिल गर्न चाहन्छु । यो राष्ट्रको एकता, लोकतन्त्रको परिवर्तनको रक्षासँग सम्बन्धित मुद्दा हो । हामी विजयी हुने कि प्रतिक्रान्तिकारी विजयी हुने भन्ने फैसला मङ्सिर ४ गते हुन्छ ।’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले नेतृत्व गरेको गठबन्धन अपवित्र भएको टिप्पणी गर्दै गणतन्त्र र संविधान जोगाउन अहिलेको सत्ता गठबन्धन गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘दुई पटक संविधान कुल्चिने काम भएको थियो । अधिकार नाघेर तत्कालीन प्रधानमन्त्रीले कदम चाले । हामी एकै ठाउँमा उभिएर संविधान र लोकतन्त्र जोगायौं ।’
 

सत्ता गठबन्धनको संयुक्त अपिल

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त अपिल जारी गरेका छन् । विधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूको पक्षमा मतदान गर्न भन्दै उनीहरूले मंगलबार संयुक्त अपिल जारी गरेका हुन् ।

संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने नेताहरूले निष्कर्ष निकालेका छन् । उनीहरूले संयुक्त अपिलमार्फत भनेका छन, ‘नेपालको संविधान २०७२ ले परिकल्पना गरेअनुरूप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरू प्रतिवद्ध रहेका छौं । लोकतान्त्रिक गठबन्धनको यो नै साझा र प्रष्ट वैचारिक धरातल र सहकार्यको आधार हो ।’

पाँच दलीय गठबन्धनको उद्देश्य मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्मविपरीत दुई–दुईपटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटनलगायत तात्कालीन सरकार प्रमुखको अनेकौं स्वेच्छाचारी कदमहरूलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको गठबन्धनका शीर्ष नेताहरूले बताएका छन् ।