नवौंमा आर्मीको अग्रता कायमै

गण्डकी पाँचौं स्थानमा


पोखरा । 

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ । यो समाचार तयार पार्दासम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र २४ कास्य पदकसहित कुल ९९ पदक हात पारिसकेको छ ।

दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकसहित ४९ पदक जितेको छ । एपीएफले १४ स्वर्ण, २० रजत र २५ कांस्य पदकसहित कुल ५९ पदकका साथ हाल तेस्रो स्थानमा रहेको छ । यसैगरी, बागमती प्रदेशले ११ स्वर्ण, १९ रजत र १५ कांस्यसहित कुल ४५ पदक जितेको छ । गण्डकी प्रदेशले ८ स्वर्ण, ६ रजत र १६ कांस्य पदकसहित ३० पदक जित्दै पाचौं स्थानमा छ ।

यता एनआरएनएले ४ स्वर्ण, ३ रजत ४ कांस्यसहित ११ पदक, प्रदेश १ ले २ स्वर्ण ६ रजत र १६ कांस्यसहित २४ पदक, मधेस प्रदेशले २ स्वर्ण, २ रजत र ७ कांस्य, लुम्बिनी प्रदेशले १ स्वर्ण, ७ रजत र ८ कांस्य, सुदूर पश्चिम प्रदेशले १ स्वर्ण, १ रजत, १० कास्य सहित १२ पदक र कर्णाली प्रदेशले १ स्वर्ण, २ कांस्य पदकसहित ३ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषदको आधिकारिक एप्समा उल्लेख छ ।

आर्मी शारीरिक सुगठनको टिम च्याम्पियन

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । पोखरा सभागृह हलमा भएको खेलका आधारमा समग्रमा ५९ अंकसहित टिम च्याम्पियन बनेको हो । शारीरिक सुगठन तर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले ५ स्वर्ण जितेको हो । यस्तै आयाजक गण्डकी प्रदेशले ३, पुलिस, एपीएफ र प्रदेश १ ले एक-एक स्वर्ण जितेको छ ।

टिम च्याम्पियन बन्ने क्रममा आर्मीले ५ स्वर्णसहित एक रजत र एक कांस्यपदक जितेको थियो । प्रदेश १ ले एक स्वर्णसहित एक कास्य, पुलिसले पनि एक स्वर्णसहित एक रजत र ३ कास्य पदक जितेको हो । यसैगरी, एपीएफले स्वर्णसहित ३ रजत र २ कास्य पदक जितेको हो ।

प्रतियोगितामा मधेश प्रदेशले २ रजत, बागमतीले २ रजत एक कास्य, लुम्बिनी प्रदेशले २ रजत र २ कांस्य जितेको छ । कर्णाली प्रदेश पदकविहीन बन्दा सुदूरपश्चिम प्रदेशले एक कांस्य पदकमा चित्त बुझाउनुपरेको हो ।प्रतियोगितामा ७ प्रदेशसहित ३ विभागीय टिमको सहभागिता रहेको शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । उनीहरूले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेन्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गरेका थिए । यस्तै, महिलाहरूले खुल्ला र महिला फिजिक्स खुल्लामा प्रतिस्पर्धा गरेका थिए । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

बुद्धिचालतर्फ आर्मीलाई स्वर्ण

प्रतियोगिता अन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा महिला तर्फको क्लासिक इभेन्टमा आर्मीले स्वर्ण पदक जितेको छ । प्रतियोगितामा आर्मीकी सुजना लोहनी क्लासिक चरणमा ९ अंक प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन् । प्रतियोगितामा लोहनीले क्लासिक चरणका सवै ९ खेल सम्पन्न हुँदा सवै खेलमा जित निकाल्न सफल हुनुभएको निर्णायक दीपेश गिरीले जानकारी दिए ।

लोहनीले क्लासिक इभेन्टको पहिलो चरणमा बागमती प्रदेशकी मार्सल तामाङ, दोस्रो चरणमा एपीएफकी सुरुची थिङ, तेस्रो चरणमा आर्मीकी सिन्दिरा जोशी र चौथो चरणमा प्रदेश नम्बर एककी खुस्वु थापालाई पराजित गरेका थिए ।त्यस्तै, क्लासिकल चरणको पाँचौ चरणको खेलमा लोहनी प्रदेश नम्बर १ की खेलाडी कृतिसारा अधिकारी, छैटौं चरणको खेलमा पुलिसकी पुनम प्रसाई, सातौं चरणको खेलमा गण्डकी प्रदेशकी पूजा भण्डारी र आठौ चरणको खेलमा गैरआवासिय नेपाली संघ (एनआरएनए) की खेलाडी शान्ति धमला र नवौँ चरणमा एनआरएनएकी सुशिला गुरुङलाई पराजित गरे।

प्रतियोगितामा आर्मीकै सिन्दिरा जोशीले ७ खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै रजत पदक जित्न सफल भइन् । त्यस्तै, प्रदेश नम्बर १ की खुस्वु थापाले ६ खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै कास्य पदक प्राप्त गर्न सफल भएको आयोजकले जनाएको छ । स्वर्ण पदक विजेता लोहनी आठौँ राष्ट्रिय खेलकुदमा महिला क्लासिक तर्फको क्लासिकल इभेन्टमा सवै खेल जितेर स्वर्ण पदक विजेता बनेका हुन् ।

गण्डकीको दोहोरो जित

समूह बी तर्फको खेलमा गण्डकीले मधेस प्रदेशलाई पराजित गरेको छ । घरेलु टोली गण्डकीले मधेसलाई १०९–३६ स्कोरले पराजित गरेको छ । गण्डकीलार्इृ जिताउन बिकास गुरुङले सर्वाधिक स्कोर १५ पोइन्ट जोडेका थिए ।
समुह ए अन्तर्गत खेलको अकं तालिकामा आर्मी ८ अकंका साथ शीर्ष स्थानमा रहेको छ भने पुलिस र बागमती प्रदेश समान ५, ५ अकंका साथ दोस्रो स्थानमा छन् । त्यस्तै, प्रदेश १ र लुम्बिनीको सामान ३, ३ अकंका साथ समूहको पुछारमा रहेका छन ।
समूह बीअन्तर्गत खेलको अंक तालिकामा एपीएफ ६ अंकका साथ शीर्ष स्थानमा छ भने कर्णाली र र गण्डकी समान ५, ५ अंकका साथ दोस्रो स्थानमा छन् । सुदूरपश्चिम प्रदेशल र मधेस प्रदेशले समान ४, ४ अंक ल्याएका छन् । ‘थ्रि अन थ्रि’ खेलतर्फ समूह ‘बि’ अन्तर्गत खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २१–३ स्कोरले पराजित गरेको हो ।

एथलेटिक्स

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार एथलेटिक्सको ५ स्वर्ण पदक निर्णय भएको छ । जसमा आर्मीले ३ तथा लुम्बिनी र कर्णाली प्रदेशले ११ स्वर्णपदक हात पारेका छन्। पोखरा रंगशालामा सोमबार भएको महिला १ सय मिटर हर्डल्समा आर्मीकी जयरानी थारूले स्वर्णपदक प्राप्त गरिन् ।

हिट चरण १५.१६ सेकेन्डको समयमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइसकेकी जयरानीले फाइनलमा स्वर्ण पदक जित्न १५.६९ सेकेन्डको समय लिइन् । उनले आफ्नै नाममा रहेको १५.२० सेकेन्डको कीर्तिमान उछिनेकी हुन् ।यस विधामा आर्मीकै निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत तथा एपीएफकी भागीरथी कुमारी थारूले १९.१३ सेकेन्डको समयमा पूरा गरेर कांस्य पदक जितिन् ।

चौधरीलाई स्वर्ण

१ सय १० मिटर पुरुष हर्डल्समा पनि आर्मीकै जीवन चौधरीले स्वर्ण पदक जित्न सफल भए। चौधरीले निर्धारित दूरी १५.०३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् ।सो इभेन्ट्समा पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत पदक तथा आर्मीका राम प्रसाद थारूले १६.०० सेकेन्डको समयमा पूरा गरी कास्य पदक जिते ।

ओली र अधिकारी विजेता

एथ्लेटिक्सको डिस्कस थ्रोमा आर्मीका चित्रबहादुर ओलीले ३८.४८ मिटरको दूरी फ्याल्दै स्वर्ण पदक हात पारे । पुलिसका पुस्कल खड्काले ३२.७५ मिटरसहित रजत पदक जिते भने सुदूरपश्चिमका हेमन्त पाल ३१.१० मिटर फालेर कांस्य पदक जिते ।
महिलातर्फ लुम्बिनी प्रदेशकी संगिता अधिकारीले ३५.१० मिटरको दूरीसहित स्वर्ण पदक प्राप्त गरिन् । सो विधामा एपिएफकी जितकुमारी महतो ३३.६० मिटरसहित रजत पदक जितिन् भने आर्मीकी मिलन बढामगरले ३२.३५ मिटर फालेर कास्य पदक प्राप्त गरिन्।

दुर्गालाई कीर्तिमानसहित स्वर्ण

कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले पुरुष ३ हजार मिटर स्टिपल चेजमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जितेका छन् । उनले निर्धारित दुरी ८ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । यसअघि सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भन्डारीले ८ मिनेट ५७ः३० सेकेन्डको कीर्तिमान बनाएका थिए ।
सो स्पर्धामा एपीएफका अजित कुमार यादवले ९ मिनेट २१ः१० सेकेन्डमा दुरी पूरा गर्दै रजत तथा नेपाली सेनाका सुवास कार्की ९ मिनेट २१ः१० सेकेन्डमा पार गर्दै कांस्य जिते ।

टेबलटेनिसमा पुलिसको वर्चश्व

नवौं राष्ट्रिय खेलकुद अन्तरगत टेबल टेनिसको टिम इभेन्ट्समा विभागीय नेपाल पुलिस क्लबले वर्चश्व जमाएका छन् । सोमबारसम्म ५ इभेन्ट्समा पदकको छिनोफानो हुँदा पुलिसले पुरुष टिम, महिला टिम, पुुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा इभेन्ट्समा स्वर्ण जित्न सफल भएका हुन् । एक स्वर्ण एपीएफका खेलाडीले जितेको छ ।

सोमबार सम्पन्न पुरुष डबल्समा स्यान्टु श्रेष्ठ, विनेश खनियाँ, संयोग कपाली, विपुल महर्जन र प्रदीप रोका रहेको पुलिसले एपीएफलाई ३–१ सेटमा हरायो । महिला टिम इभेन्ट्सतर्फ नविता श्रेष्ठ, एलिना महर्जन, मञ्जु सुवाल, यस्वासी अवाल, शुभाश्री श्रेष्ठ रहेका छन् । पुरुष डबल्सतर्फ स्यान्टु श्रेष्ठ र विनेश खनियाँ, मिक्स डबल्सतर्फ विनेश खनियाँ र एलिना महर्जन रहेका थिए । महिला डबल्स इभेन्टतर्फ सिक्का सुवाल र वियन्का राईको जोडीले एपिएफलाई स्वर्ण जिताइन् ।

सहभागी ११ टिममध्ये एपीएफले २ रजत, पुलिस, आर्मी र बागमती प्रदेशले समान १ रजत जितेका छन् । बागमती, एनआरएनए, प्रदेश १ र आर्मीको समान २ कांस्य जितेका छन् । पुलिस र गण्डकीले समान १ कांस्य जितेका छन् ।

भारोत्तोलनमा पनि पुलिसकै रवाफ

नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा चौथो स्वर्णपदक जितेको छ । सोमबार दोस्रो दिन महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन् । अघिल्लो दिन पुलिसले ३ स्वर्ण र त्रिभुवन आर्मीले १ स्वर्ण जितेका थिए ।

टीकामायाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८० गरी कुल १ सय ४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भइन् । आर्मीकी प्रभा थारूले न्स्याचमा ५८ र क्लिन एन्ड जर्कमा ७१ गरी कुल १ सय २९ केजी भार उठाउँदै रजत जितिन् । लुम्बिनीकी कृष्णकला विष्टले कास्य जितेकी थिइन् । उनले स्न्याचतर्फ ५६ र क्लिन एन्ड जर्कमा ७२ गरी कुल १२८ केजी तौल उठाइन् ।
यसअघि, महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राई, पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतो र महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारूले स्वर्ण जितिसकेका छन् ।