ऐतिहासिक तथ्यको ‘सत्यमोहन’ वृत्तान्त

सन्दर्भ: शताब्दी पुरुष स्व. जोशी

0
Shares

अस्ति आइतबार बिहान अशुभ समाचारले मथिङ्गल रन्थनाइदियो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन । उफ ! यमराजको निर्दयीपन । चित्रगुप्तले बहिखाताबाट सत्यमोहन जोशीको नाम किन हटाएनन् होला ? प्रश्नको झटारो हान्दै छ मनभित्र ।

फुर्सदको परिभाषा के हो ? मानिसलाई फुर्सदचाहिँ हुन्छ कहिले ? म आफैँ पनि र अरु धेरै मानिसहरु कुरैकुराको प्रसंगमा फुर्सद नै छैन भनिदिन्छन् । मेरो आफ्नै थेगो बनेको फुर्सदको परिभाषा र फर्मुला खोजिरहेको छु म अहिले । उपलब्धिमूलक काम पनि छैन र साँच्चै भन्नुपर्दा मनग्य फुर्सद पनि छैन । फुर्सद नभएरै त होला नि झन्डै ६ महिनाअघि किनेको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ अहिलेसम्म पनि पढिसकेको छैन ।

२०७९ को यो दशैँमा चाहिँ पढिसक्छु भन्ने थियो । अहँ सकिन ! अझै केही अध्याय पढ्न बाँकी नै छ । तिहारलाई बिदाइ गर्दासम्म भने पुस्तक पढी भ्याइन्छ कि भन्ने अपेक्षा छ । कस्तो पीडादायी संयोग, लेखक जीवित रहँदै पढ्न शुरु गरेको पुस्तक, उनको मृत्युको खबर आउँदासम्म पनि पढी भ्याइएन ।

‘सत्यमोहन’ भित्र जेलिएका शब्दहरुको मेल गराउने कुरामा लेखक गिरीश गिरीले निकै मेहनत गरेका छन् । त्यसैले पनि म ‘सत्यमोहन’ पुस्तकभित्रका पौराणिक तथ्यलाई विश्लेषण गर्दै अक्षर, शब्द र वाक्यमा भाषिक चमत्कार छर्न सक्ने लेखक गिरीश गिरीलाई स्यालुट गर्दछु । ‘सत्यमोहन’ पुस्तक शताब्दी पुरुष सत्यमोहन जोशीकै पनि महत्वाकांक्षी पुस्तक थियो । धेरै ठाउँमा पढेको हो, सत्यमोहन जोशीले आफ्नो आत्मकथा ‘सत्यमोहन’ साफीको क्रममा पनि बारम्बार जिज्ञासा राख्थे रे ! अनि ‘सत्यमोहन’ तयार भएर उनको हातमा पर्दा अनौठो चमक देखिएको थियो रे मुहारमा ।

१०३ वर्ष बाँचेका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी किस्ट अस्पतालको बेडमा मृत्युसँग संघर्ष गरिरहेको समय देश–विदेशबाट नेपालीले मात्र हैन गैरनेपाली समुदायले समेत उनको स्वास्थ्य लाभको कामना गरिरहेका थिए । किनभने सत्कर्मले शताब्दी उमेर पार गरेका सत्यमोहन जोशीले नेपाल र नेपालीलाई गौरव गर्नलायक धेरै कुरा दिएका छन् । भनिन्छ नि दैवको लीला, स्वास्थ्यकर्मीहरुको अथक प्रयत्न र आम समुदायको प्रार्थनाले पनि उनले थप जीवन पाउन सकेनन् ।

सत्यमोहनको नाममा धेरै रेकर्ड छन् । मदन पुरस्कार लेखन क्षेत्रको शिखर विभूषण मानिन्छ । मदन पुरस्कार आफूले चाहेर या सितिमिति लेखनले प्राप्त गर्ने पुरस्कार हैन । सत्यमोहन जोशीले त्यही शिखर विभूषण तीनपटक प्राप्त गरेका छन् । यो उनको नामको अकाट्य रेकर्ड बनेको छ । किनभने मदन पुरस्कार गुठीले यो पुरस्कार एक व्यक्तिलाई एकपटकभन्दा बढी नदिने निर्णय गरिसकेको छ ।

२०१० सालमा मदनशमशेरको निधनपछि स्थापना गरिएको मदन पुरस्कार पहिलोपटक २०१३ सालमा सत्यमोहन जोशीको पुस्तक ‘हाम्रो लोक संस्कृति’ लाई प्रदान गरिएको थियो । त्यसपछि उनले अर्को दुईवटा पुस्तकको लागि मदन पुरस्कार प्राप्त गरेका थिए । २०१७ सालमा उनको पुस्तक ‘नेपाल राष्ट्रिय मुद्रा’ ले दोस्रो मदन पुरस्कार प्राप्त गरेको थियो भने २०२८ सालमा उनको ‘कर्णाली लोक संस्कृति’ पुस्तकले तेस्रोपटक मदन पुरस्कार प्राप्त गरेको थियो ।

सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’मा धेरै कुरा छन् । जसले नेपालको सांस्कृतिक, धार्मिक, पौराणिक, साहित्यिक, राजनीतिकलगायतका विषयवस्तुको ऐतिहासिक तथ्यलाई जानकारी गराइदिन्छ । उमेर र कर्मको हिसाबले आफैँमा एउटा इतिहास बनेका सत्यमोहनको आत्मकथा कुनै विश्वविद्यालयभन्दा कम छैन । त्यसैले पनि यसको अध्ययन अनिर्वायमात्र हैन अपरिहार्य नै छ भन्छु म ।

‘सत्यमोहन’ले दुईवटा कुरा दिन्छ– पहिलो, नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक विशेषताका तथ्यगत विवरण । र दोस्रो, लेखनकार्य तथ्यमा आधारित नेपाली विशेषतासहितको विविध विषयमा केन्द्रित हुनुपर्छ भन्ने ज्ञान । यो पुस्तक विशेष गरी लेखनमा सक्रिय युवा लेखकहरुको लागि महत्वपूर्ण छ ।हरेक मानिसको महत्वाकांक्षा लेखनसँग पनि जोडिएको हुन्छ । उमेरको एउटा विन्दुमा कविता नै भए पनि लेख्छन् मानिसले । कविताबाट शुरु हुने मानिसहरुको लेखनकर्म कहाँ गएर टुङ्गिन्छ भन्ने ठेगानचाहिँ हुन्न । कसैले त्यो एउटै कवितामा लेखन यात्रालाई बिट मारिदिन्छन्, कसैले त्यसलाई तन्काउँदै र विस्तार गर्दै मृत्युपर्यन्त निरन्तरता दिइरहेका हुन्छन् ।

अर्का शताब्दी पुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो लेखन कार्यलाई मृत्युपर्यन्त तन्काइरहेका थिए । ‘ऋतम्भरा’ र एउटा गीत ‘यसरी होस् मरण…’ त्यसैको उदाहरण थियो । जीवनको अन्ततिर लेखेका थिए राष्ट्रकवि माधव घिमिरेले यी दुवै रचना ।
यसरी लेखनलाई निरन्तरता दिनेहरुको लागि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ मार्गदर्शन पुस्तक हुनेछ । अबको लेखन ऐतिहासिक तथ्यसहितको हुनुपर्छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो मदन पुरस्कार दिलाउने पुस्तक ‘हाम्रो लोक संस्कृति’ तथ्यमा आधारित लेखनी थियो । त्यसमा नेपालको विभिन्न ठाउँमा प्रचलनमा रहेका लोक गीतहरु सङ्कलित थिए ।

नेपाली भूगोल, भाषा र समाजको प्रचलन अनुसारका स्थायी, अन्तरा रहेका लोकगीतहरुको संग्रहले नेपालको सांस्कृतिक एवं साहित्यिक सभ्यताको परिचय दिएको थियो ‘हाम्रो लोक संस्कृति’ पुस्तकले ।हाम्रो मुलुकमा, हाम्रो मुलुकको गाउँघरमा महाभारतकालीन सभ्यताहरु छन् । प्रमाण र तथ्यसहितका विभिन्न लोकोक्तिहरु छन् । शिव, राम–सीता, पाँच पाण्डव, बुद्ध भगवान्का तथ्यगत लोकोक्ति छन् । यस्ता तथ्यलाई हाम्रो लेखनमा समाविष्ट गर्न सकियो भने यो पुस्तौंपुस्तासम्म निरन्तर रहनेछ ।

वाङ्मय शताब्दी पुरुषको ‘सत्यमोहन’मा उल्लेख भएका धेरै तथ्यहरु हामीले अहिलेसम्म नदेखेको मात्र हैन नसुनेका समेत छन् । यदि उनले ती तथ्यहरुलाई आफ्नो आत्मकथा ‘सत्यमोहन’मा उल्लेख नगरेको भए भोलिका दिनहरुमा त्यो किंवदन्तिको रुपमा समेत सम्झने अवस्था बन्ने थिएन । त्यसैले लेखनको विषय कविता, कथा, संस्मरण, नियात्रा, नाटक, निबन्ध, गीत–गजल जेसुकै होस्, त्यसमा तथ्यगत पौराणिक प्रसंगहरु उल्लेख हुनु उपयुक्त हुन्छ ।

हाम्रो लेखनले नै हाम्रो सभ्यतालाई शताब्दीयौंसम्म जीवन्त राख्नेछ । हामी अहिले सोह्रौं, सत्रौं शताब्दीका विषयहरु उल्लेख गरिरहेका छौं । त्यो कसरी सम्भव भयो होला ? त्यति बेला ढुङ्गामा कोरेर तथ्यगत विवरण उल्लेख गरिएकैले त्यो सम्भव भएको हो ।

अहिले आधुनिक प्रविधिको विकाससँगै त्यस्ता तथ्यहरुलाई संग्रहित गर्न पुस्तक, दृश्य आदि उपयुक्त माध्यम बनेको छ ।
म लेखक नै त हैन, तर मैले मनमा शब्दहरु तरङ्गित बन्दै गर्दा जति कुराहरु कोरेको छु त्यो तथ्यगत पौराणिक प्रसंगलाई केन्द्रमा राखेरै कोरेको छु । शुरुका लेखन यात्रा शुद्ध प्रेमका भावनाहरुसँग मात्र सम्बन्धित थिए होलान् तर जति बेला पौराणिक सभ्यता र तथ्यगत लेखन महत्वको बोध भयो मैले मेरा हरेक शब्द यात्रालाई पौराणिक तथ्यकै सेरोफेरोमा केन्द्रित गर्न शुरु गरेको छु ।

यहाँ दोलखासँग जोडिएको एउटा प्रसंग कोट्याउन चाहन्छु । नेपालमा पहिलो सिक्का प्रचलनमा ल्याउने राजा जय इन्द्रसिं देव हुन् भन्ने तथ्य नेपालको राष्ट्रिय मुद्रा संग्राहलयमा समेत उल्लेख गरिएको छ । पुस्तकका अध्यता इ.सुरेश राउत, राजनीतिज्ञ वसन्तराज कार्की, पत्रकार जीवन लामालगायतसँगको भेटमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अंग्रेजी भाषामा भन्नुभएको रहेछ– ‘फस्ट क्वाइन इभर मिन्टेड इन् दोलखा’ ।

इ. सुरेशले सम्झनुभयो, त्यो भेटको प्रसंग, शताब्दी पुरुष सत्यमोहनले सुरेशलाई नेपालको पहिलो सिक्काको विषयमा त्यसका अघि र पछिका इतिहास खोज्न अराउनुभएको थियो रे !इतिहासका अध्यता दोलखाका स्थानीय शान्तकृष्ण श्रेष्ठको अध्ययनमा पनि जय इन्द्रसिं देवको पालामा १६ औं शताब्दीमा दोलखाबाट प्रचलनमा आएको चाँदीको (मोहोर) सिक्का नै नेपालको पहिलो सिक्का हो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले २०१७ सालमा मुद्रासम्बन्धी एउटा लेख प्रकाशित भएको र त्यस लेखमा नेपालमा पहिलो चाँदीको सिक्का दोलखाबाट प्रचलनमा आएको प्रसंग उल्लेख भएको शान्तकृष्ण श्रेष्ठले बताए ।तर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’मा उल्लेख भएको राष्ट्रिय मुद्रासम्बन्धी विवरणमा भने नेपालमा पहिलो चाँदीको मुद्रा १६ औं शताब्दीमा काठमाडौँमै राजा महीन्द्र मल्लले शुरु गरेको उल्लेख छ ।

इ. सुरेशसँगको भेटमा र २०१७ सालमा लेखिएको मुद्रासम्बन्धी लेखमा नेपालमा पहिलोपटक चाँदीको मुद्रा चलाउने राजा दोलखाका जय इन्द्रसिं देव भएको चर्चा गर्ने वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नो आत्मकथामा उल्लेख गरेको राष्ट्रिय मुद्रासम्बन्धी विषयमा कहीँ कतै दोलखाको प्रसंग र राजा जय इन्द्रसिं देवको प्रसंग उल्लेख नगर्नु प्राविधिक भूल हुनसक्छ ।

सत्यमोहन जोशीले आफ्नो आत्मकथामा मुद्राको प्रसंगमा दोलखा र राजा जय इन्द्रसिं देवको चर्चा नगरेकोले इतिहासको एउटा तथ्य मर्ने हो कि भन्ने चिन्ता थपिएको छ । त्यसैले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र इ. सुरेशबीचको भेटमा जोशीले दोलखाबाट प्रचलनमा आएको मुद्राको खोजीका लागि गरेको आग्रहलाई आत्मसात् गर्दै हामी सबै त्यसमा जुट्नुपर्छ । जसको कारण ‘सत्यमोहन’ भित्र छुटेको एउटा तथ्य लिपिबद्ध हुने कुरामा सहयोग पुग्नेछ ।

अन्त्यमा, हरेक कालखण्डको पौराणिक एवं ऐतिहासिक तथ्यलाई लिपिबद्ध गरेर जीवन्त राख्न पहल गर्ने वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति शब्द श्रद्धा–सुमन अर्पण गर्दछु । नेपालको नक्सा, नेपाली मुद्रा, अरनिको, चर्या नृत्य, विष्णु विक्रान्तको मूर्ति, खस सभ्यताजस्ता धेरै विषयको खोज र तथ्य प्रमाणीकरणको लागि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आवश्यकता अरु धेरै वर्ष थियो तर यमराजको अघि कसैको जोड चलेन ।