झापामा सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम सञ्चालन

0
Shares

भद्रपुर।

विदेशबाट फर्केर नेपालमै काम गर्न खोज्ने र व्यवसाय गर्न खोज्नेहरुलाई लक्षित गरी झापामा सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम सञ्चालन भएको छ ।कथा नेपाल नामक संस्थाले जिल्लाका चारवटा पालिकाहरुमा ‘वेलकम होम’नामक सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

शिवसताक्षी र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिकामा गत मे महिनाबाट सो कार्यक्रम संचालन गरिएको कथा नेपालले जनाएको छ ।

सरकारले भर्खरै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनःएकीकरण (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ सार्वजनिक गरेको छ ।

यस कार्यक्रमअन्तर्गत मुख्य तीन वटा काम गर्ने सरकारको योजना छ । रोजगारीमा आवद्धता कार्यक्रमअन्तर्गत सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप परीक्षण तथा प्रमाणीकरण गराई उनीहरुलाई रोजगारीमा लगाउन खोजेको छ । सीप परिक्षण तथा प्रमाणीकरणपश्चात् बजारको माग र व्यक्तिको क्षमता अनुरूप रोजगारीको व्यवस्था गर्न सहज हुने सरकारको बुझाई छ ।

त्यस्तै उद्यमशीलता प्रर्वद्धधनअन्तर्गत सरकारले वैदेशिक रोजगारीका क्रममा आर्जन गरेको पूँजी, ज्ञान, सीप, प्रविधि र अनुभवको सदुपयोग गर्दै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई उद्यमी बनाउन खोजेको छ । यसको लागि सरकारले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको वित्तीय साक्षरता र पहुँच बढाउन खोजेको छ ।

त्यस्तै सामाजिकीकरण कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीको सिलसिलामा लामो समय विदेशमा बसेर फर्कदा परिवार तथा समाजमा अन्तर्घुलन हुन समस्या परिरहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । यही समस्यालाई हल गर्न सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र परिवारबीच मेलमिलाप गराई समाजमा पुनःस्थापित गराउन खोजेको छ । यसका लागि वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई मनोसामाजिक परामर्श दिइदैँछ ।

त्यसैगरी नेतृत्व विकास, सामाजिक सञ्जाल निर्माण तथा स्वयम्सेवक परिचालन कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ । यी तीनवटै कार्यक्रमलाई अघि बढाउन सरकारले आप्रवासी विवरण तयार पार्दैछ । यो विवरणमा वैदेशिक रोजगारीबाट फर्किएकाहरुको व्यक्तिगत विवरण रहनेछ । वैदेशिक रोजगारीको सिलसिलामा काम गरेको मुलुक र कामको प्रकृति, आर्जन गरेको ज्ञान, सीप, अनुभव पनि विवरणमा रहनेछ ।

यतिमात्र होइन, यो प्रोफाइलमा देशभित्र रोजगारी गर्ने वा स्वरोजगार बन्ने भन्ने सम्बन्धमा रोजगारीबाट फर्किएका व्यक्तिको इच्छा, आवश्यकता, प्राथमिकता, योजनालगायतका विवरण पनि प्रोफाइलमा समावेश हुनेछ । यो कार्यक्रम लागु गर्ने मुख्य जिम्मा स्थानीय निकायको हो । अब हरेक स्थानीय निकायले आप्रवासी प्रोफाइल तयार पार्नेछन् । स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रले यससम्बन्धी सूचना तथा परामर्श उपलब्ध गराउने छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)का नेशनल प्रोजेक्ट को–अर्डिनेटर ताराप्रसाद बहडियाले चारवटा नतिजा आउनेगरी सिंगो झापा जिल्लालाई कार्यक्षेत्र बनाएर हाल चारवटा पालिकाहरुमा वेलकम होम कार्यक्रम संचालन भइरहेको बताउँनुभयो ।

स्थानीय तहलाई जिम्मेवार बनाउँदै वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई समाजमा पुर्नस्थापित गराउनका लागि पव्लिक प्राइभेट डाइलग , तथ्यांक संकलन, पुनःएकीकरणको नीति निर्माण , कमिटी गठन ,करिअर काउन्सिलिङ, क्षमता विकासजस्ता कार्यक्रम संचालन भइरहेको उहाँले जानकारी दिनुभयो । करिब १ हजार ५ सय जनाको व्यक्तिगत विवरण संकलन गर्ने लक्ष्य राखिएको बताउँदै उनले ८६० जनालाई तालिम दिने योजना अनुसार हालसम्म सयजनालाई तालिम प्रदान गरिएको जानकारी दिनुभयो । यस कार्यक्रममा विभिन्न रोजगारदाता संस्थाहरु पनि संलग्न रहेको बहडियाको भनाई छ ।

सोही परियोजनामा सहकार्य गर्दै आएको पौरखी नेपालकी मन्जु गुरुङले ‘म को हुँ ? विदेशबाट के लिएर आएँ ? समाजमा के गर्न सक्छु ? जस्ता विषयमा उहाँहरुलाई करिअर काउन्सिलिङ गर्ने गरिएको बताउँनुभयो । चारवटा पालिकामा विदेशबाट फर्केकाहरुको विवरण संकलन गर्ने कार्य भइरहेको उहाँले बताउँनुभयो । पालिकाहरुमा रहेका रोजगार संयोजकहरुलाई केही दिनअघि तालिम दिइएको उहाँले जानकारी दिनुभयो ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा आफ्नो नगरपालिकाले गरिरहेको प्रयासका बारेमा जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नेपालमा गरिबी र बेरोजगार समस्याका कारण अर्थतन्त्र धान्नका लागि बैदेशिक राजगारीमा जानुपर्ने बाध्यता रहेको बताउँनुभयो । यसलाई अपरिहार्यताको रुपमा लिनु दुर्भाग्य भएको धारणा राख्नुभयो ।