प्रजातन्त्रलाई स्थायित्व दिन गठबन्धनलाई भोट : देउवा

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले लडेर ल्याएको प्रजातन्त्रलाई स्थायित्व दिन गठबन्धनलाई भोट दिनुपर्ने बताउनुभएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं २ मा आइतबार सत्ता गठबन्धनको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै देउवाले प्रतिगमनको खतरा अझै पनि रहेको र त्यसबाट वर्तमान राजनीतिक व्यवस्था जोगाउन गठबन्धनले जित्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो– ‘नेपालमा पटकपटक लडेर ल्याएको यो प्रजातन्त्र जो छ, यसलाई स्थायित्व दिन जरुरी छ । प्रतिगमनको खतरा अझै पनि छ । त्यसैले सबै पार्टी एक हुन जरुरी छ ।’

प्रजातन्त्रलाई प्रतिगमनको खतराबाट बचाउनकै लागि अहिलेको गठबनधन गर्नु परेको दाबी गर्दै उहाँले भन्नुभयो– ‘यो गठबन्धन संविधानको रक्षा, राजनीतिक स्थिरता, समृद्धि र विकासका लागि आवश्यक भएर बनाइएको हो । गठबन्धन संस्कृतिको विकास जे भएको छ, यो मिलेर चुनाव लड्ने र मिलेर लोकतन्त्रको सुदृढीकरण गर्दै देशको गरिबी हटाउने मौका पनि हो, चुनौती पनि हो ।’

प्रधानमन्त्री देउवाले गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी ओनसरी घर्ती साहसी महिला भएको जिकिर गर्दै भन्नुभयो– ‘ओनसरी साहसी महिला हुनुहुन्छ । सभामुख हुँदा अत्यन्तै कुशलतासाथ जिम्मेवारी पूरा गर्नुभएको छ । मलाई त विश्वास पनि थिएन । तर, सफलतापूर्वक जिम्मेवारी पूरा गर्नुभयो । सभामुख हुँदा पार्टीभन्दा पनि राष्ट्रको हित हेर्नुभयो ।’

गठबन्धनका उम्मेदवारहरूलाई चुनाव जिताउन आम नागरिकलाई आह्वान गर्दै देउवाले भन्नुभयो– ‘चुनावपछि समेत यो गठबन्धन कायम रहने भएकाले देशको समृद्धि र विकासका लागि गठबन्धनका सबै उम्मेदवारहरूलाई जनताले मत दिएर जिताउनुपर्छ ।’प्रतिपक्षी दल नेकपा एमालेले दुईपटक संसद् विघटन गरेर संविधान र लोकतन्त्र नै मास्ने खालका गतिविधि गरेकाले यसपटक उसलाई नसिहत दिनु अहिलेको आवश्यकता रहेको टिप्पणी गर्दै देउवाले भन्नुभयो– ‘प्रतिगमनकारी शक्तिहरू अहिले एक ठाउँमा उभिएकाले त्यसलाई परास्त गर्न र अग्रगमनको पक्षमा राष्ट्र, जनता र विकासको पक्षमा रहेको सत्ता गठबन्धन जिताउने जिम्मेवारी जनताको काँधमा आएको छ ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानको रक्षा र कार्यान्वयनका लागि सत्ता गठबन्धन दलबीच चुनावी तालमेल भएको भन्दै चुनाव चिह्नमा नअल्मलिन आग्रह गर्नुभयो । उहाँले चुनाव चिह्नलाई लिएर आग्रह–पूर्वाग्रह नराख्न आग्रह गर्दै उहाँले भन्नुभयो– ‘हँसिया हथौडाले रूखमा कसरी भोट हाल्ने ? रूखले हँसिया हथौडामा कसरी भोट हाल्ने ? भनेर आग्रह–पूर्वाग्रह हुने गरेको कुरा सुनेको छु ।

म तपाईंहरूलाई स्मरण गराउन चाहन्छु कि हामीले धेरै पहिले नै रूख र हँसिया हथौडालाई एक बनाइसकेका हौँ । जति बेला हामीले शान्ति सम्झौता ग¥यौँ, त्यो बेला सात दलको तर्फबाट कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादीको तर्फबाट मैले हस्ताक्षर गरेको थिएँ । त्यो भनेकै मैले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप हाने बराबर हो ।’ उहाँले त्यति बेला सात दलको नेता केपी ओली भइदिएको भए १२ बुँदे समझदारी नहुने र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्मै नआउने अवस्था रहेको समेत दाबी पनि गर्नुभयो ।