सत्यमोहन शताब्दीको अन्त्य

0
Shares

ललितपुर । 

शताब्दीकै कला, साहित्य र संस्कृतिका अध्ययेता, अनुसन्धानकर्ता वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको आइतबार निधन भएको छ । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा आइतबार बिहान ७ बजेर ९ मिनेट जाँदा उहाँको निधन भएको हो ।

२४ दिनअघि डेंगु रोगको संक्रमण भएपछि जोशीलाई किष्ट अस्पताल भर्ना गरिएको थियो । डेंगुसँगै उहाँको मुटुको समस्या र प्रोस्टेटको उपचार गरिएको थियो । उपचारका क्रममा १४औं दिनसम्ममा उहाँको स्वास्थ्य सुधारोन्मुख भए तापनि त्यसपछिका दिनमा स्वास्थ्य क्रमशः चिन्ताजनक बन्दै गएपछि उहाँलाई सघन उपचारकक्षमा राखेर उपचार गरिएको थियो ।

१ सय ३ वर्ष पाँच महिना बाँचेका जोशीको उमेर मात्र नभई सक्रियता, स्फूर्ति, स्वास्थ्य र स्मरणशक्ति चिकित्सकहरुका लागि पनि उतिकै चाखलाग्दो विषय बन्ने गरेको थियो । आम मानिसका लागि जोशीको जीवनशैली एउटा लोभलाग्दो बनेको थियो । यस्तै लोभलाग्दो जीवन बाँचेर नेपाल र नेपाली भाषाको साहित्य, लोकसंस्कृति र कलामा जीवन उत्सर्ग गरेका जोशी जीवनसँगै पार्थिव शरीर पनि उत्तिकै जिज्ञासाको विषय बनेको छ ।

जोशीको इच्छाअनुसार नै उहाँको पार्थिव शरीरलाई परम्पराअनुसार दाहसंस्कार नै नगरी अनुसन्धानका लागि परिवारको सहमतिमा अस्पतालका चिकित्सकलाई आइतबार नै हस्तान्तरण गरिएको थियो । २०७७ श्रावण २९ गते किष्ट शिक्षण मेडिकल कलेजमा चिकित्सा विज्ञानमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक ज्ञान हासिल गर्न सकून् भनेर उहाँले मरणोपरान्त शरीर दान दिने घोषणा गर्नुभएको थियो । अस्पतालका निर्देशक प्रा.डा. सुरज वज्राचार्यले भन्नुभयो– ‘मरेपछि यो शरीरलाई जलाएर खरानी बनाउनुभन्दा चिकित्साशास्त्र अध्ययन गर्नेहरुका लागि उपयोगी हुने गरी शरीर दान दिने भनेर उहाँले त्यति बेला भन्दा हामी साह्रै खुसी भएका थियौं ।

त्यसपछि उहाँको परिवार, गुठियारहरुसँग यस विषयमा छलफल गर्न शुरु ग¥यौं । छलफल गर्नमै दुईतीन महिना लागेको थियो । त्यसपछि उहाँको यो शरीर हामी सम्मानसहित गोप्य तरिकाले राख्नेछौं, शरीरमा कुनै अप्ठ्यारो हुन दिने छैनौं भनी परिवारलाई आश्वस्त तुल्याएपछि परिवारले मञ्जुरी दिएको थियो ।’शवमा नसामा इन्जेक्सेनबाट रसायन हालेपछि लामो समयसम्म नकुहिने गरी संरक्षण गर्न सकिने जानकारी दिँदै निर्देशक वज्राचार्यले भन्नुभयो– ‘मृत शरीरलाई संरक्षण गर्न विभिन्न किसिमको रसायन हुन्छन् । जोशीको शरीरमा नसाबाट रसायन दिइएको छ । सो रसायन शरीरमा पसेपछि २५–३० वर्षसम्म पनि केही हुँदैन । त्यसका लागि चिस्यान पनि चाहिँदैन, केही चाहिन्न ।’

चिकित्सकहरुको मुख्य जिज्ञासा नै यति धेरै बाँच्नुको कारण के हो भन्ने रहेको जिकिर गर्दै उहाँले यो पत्ता लगाउन जोशीको शवको सूक्ष्म अध्ययन गर्ने बताउनुभयो । शवको विशुद्ध चिकित्साशास्त्रअनुसार अध्ययन हुने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो– ‘विस्तारै प्रक्रिया पु¥याएर काम अगाडि बढाउँछौं । हरेक अंगहरूबारे पनि अध्ययन गर्नेछौं । चिकित्सकहरुले विदेशमा हुने प्रक्रिया नै अपनाएर शरीर अध्ययनको काम अघि बढाउनेछ ।’ अध्ययनका क्रममा आवश्यक परे विदेशी चिकित्सकलाई समेत बोलाउन सकिने चिकित्सकहरु बताउँछन् ।

शरीर दान दिएपछि सर्वसाधारणले जोशीको शवलाई हेर्न पाउने छैनन् । जोशीको परिवारकै सदस्यले पनि हेर्न नपाउने बताउँदै प्राडा वज्राचार्यले हिजो बेलुकीबाटै अध्ययनको प्रक्रिया शुरु गरिने बताउनुभयो । शवलाई अस्पतालले सदाका लागि संरक्षण गरेर राख्ने नभई अस्पतालका अनुसार अध्ययन गर्नुका कारणहरू पत्ता लागेपछि दाहसंस्कार आफ्नै हिसाबले गरिने उहाँले बताउनुभयो ।

जोशीको निधनपछि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि डेढ घण्टा किष्ट अस्पतालमा राखिएको थियो भने त्यहाँबाट पुल्चोकस्थित ललितपुर महानगरपालिकाको परिसरमा लगिएको थियो । स्वर्गीय जोशीलाई नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको थियो । शोक सलामीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको प्लाटुन र १६ जनाको ब्यान्ड सहभागी थियो ।

राष्ट्रिय सम्मानसहित सत्यमोहन जोशीलाई अन्तिम बिदाइ गरी ४ बजेर ११ मिनेट जाँदा उहाँको पार्थिव शरीरलाई पुल्चोकबाट फेरि किष्ट अस्पताल पु¥याइएको थियो । त्यसपछि परिवारजनले अन्तिम श्रद्धाञ्जली अर्पण गरी पार्थिव शरीर अस्पताललाई हस्तान्तरण गरेको थियो । जोशीका ९८ वर्षीय पत्नी राधादेवी शाक्यसहित तीन छोरा र तीन छोरी रहेका छन् ।

अन्तिम श्रद्धाञ्जली दिन आएका प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउनुभएको थियो । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल, जनकवि दुर्गालाल श्रेष्ठ, कलाकार हरिहर शर्मा, मदनकृष्ण श्रेष्ठ, मल्ल के सुन्दरलगायत साहित्यकार, भाषासेवी, अनुरागीहरुले श्रद्धाञ्जली अर्पण गर्दै जोशीको निधनले शताब्दी कला, साहित्य र संस्कृतिको एक अथक् साधक गुमाएको प्रतिक्रिया दिनुभएको थियो ।

विसं १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा उहाँको जन्म भएको थियो । नेपालको इतिहासको एक शताब्दीका साक्षी बन्नुभएका जोशी कोरोना संक्रमण हुनु अघिसम्म निकै सक्रिय हुनुहुन्थ्यो । ९७ वर्षमा फोक्सोमा पानी जमेर उपचार गराउने बाहेक झन्डै १ सय २ वर्षसम्म जोशीलाई खासै औषधि खानुपरेको थिएन । उहाँ दाल, भात नै खाने र राति सुत्ने बेला घरमै बनाएको रक्सी थोरै खाने गर्नुहुन्थ्यो । राणाकालमा जागिरको सिलसिलामा तनहुँ, लमजुङतिर जाँदा सुनेको लोकगीतले जोशीलाई निकै प्रभाव पारेको थियो ।

जुरेली चरीको जीवनले साधारण तरिकाले जिउन प्रेरित गरेको भन्दै जुरेली चरीको जीवन नै मेरो जीवन दर्शन रहेको भन्दै जोशीले जीवनको अन्तिम समयसम्म पनि बताउँदै आउनुभएको थियो । ‘के खायो के लायो होला, वनको जुरेली चरीले चरीको के छ र घर रात काट्यो डालीमा बसेर’ बोलको गीत नै जोशीको जीवन दर्शन बनेको थियो ।तीन पटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्ति संस्कृतिविद् जोशी हुनुहुन्थ्यो । जोशीले विसं २०१३ मा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ कृतिका लागि मदन पुरस्कार पाउनुभएको थियो ।

‘नेपाली राष्ट्रिय मुद्रा’ का लागि विसं २०१७ तथा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि २०२८ सालमा संयुक्त रुपमा जोशीलाई मदन पुरस्कार दिइएको थियो । नेपाल भाषाको साहित्य क्षेत्रमा पनि थुप्रै पुरस्कार पाएका जोशीलाई राज्यले पनि विभिन्न विभूषण र पदकहरु प्रदान गरिसकेको छ ।विसं २०१५ मा जोशी पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक बन्नुभयो । जोशीले २०१६ सालमा पाँचौं शताब्दीदेखि बीसौं शताब्दीसम्मका मुद्राका विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशन गर्नुभयो ।

भाषा, कला, संस्कृतिको संरक्षण, संवद्र्धन र विकासमा उहाँले महत्वपूर्ण योगदान पु-याउनुभएको छ । नेपाल भाषा एकाडेमीका चान्सलर समेत रहनुभएका जोशीको नेपाल भाषामा पनि ५० वटाभन्दा बढी पुस्तक प्रकाशित भइसकेको छ । नई प्रकाशन र न्हुज गुठीको प्रयासमा नेपाल सरकारले उहाँलाई ९६ वर्षको उमेरमा वाङ्मय शताब्दी पुरुषको उपाधि दिएको थियो । १ सय वर्षको उमेर टेक्दा ललितपुर, काठमाडौं, भक्तपुर र कीर्तिपुरमा जोशीको भव्य अभिनन्दन गरिएको थियो ।

जोशीलाई भेट्न आउने धेरैले दीर्घ र स्वस्थ जीवनको रहस्य के हो ? भनेर सोध्ने गर्दा जोशीले दीर्घ जीवनको रहस्य यसरी खोल्नुहुन्थ्यो– ‘चिन्तन गर्ने र चिन्ता नलिने । आफूलाई प्राप्त भएकोमा सन्तुष्ट भएर सक्रियतापूर्वक जीवन बाँच्ने । यो भएन, त्यो भएन भनेर धेरै गुनासो नगर्ने, छोरा, बुहारी, सन्तानबाट धेरै अपेक्षा नगर्ने ।’

पछिल्ला दिनहरुमा जोशीले विकास भनेको ठूलाठूला सडक, गगनचुम्बी भवन बनाउने मात्र नभई संस्कृति, सम्पदालाई जोगाउनुपर्ने विचार राख्दै आउनुभएको थियो । जोशीले २५ दिनअघि कुराकानी हुँदा भन्नुभएको थियोे– ‘संस्कृति, सम्पदा नै भएन भने राष्ट्रको प्रतिष्ठा, सभ्यता कसरी जीवित रहन्छ । राष्ट्र कसरी समृद्ध बन्दछ ।’