गोरखा-२ मा प्रचण्ड : मतदाताहरू आक्रोशित र आशातीत !

जीत सुनिश्चित

0
Shares

गोरखा, अजिरकोट । हरेक प्रतिनिधिसभाको चुनावको समयमा चर्चाको शिखरमा रहने गरेको गोरखाको निर्वाचन क्षेत्र नम्बर–२ यस पटक फेरि चर्चामा रहेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड मंसिर ४ मा हुने प्रतिनिधिसभाको चुनावका लागि गोरखा–२ मा आएपछि फेरि यसपटक यो क्षेत्र चर्चामा आएको हो ।

अघिल्लो चुनावमा डा.बावुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच भएको भीडन्तका कारण चर्चामा रहेको थियो भने अहिले प्रचण्डको गोरखा–२ बाट भएको उम्मेदवारीसँगै यस क्षेत्रका मतदाताहरूमा आक्रोश र आशा दुवै पलाएको देखिएको छ । कुनै बेला प्रचण्डको राजनीतिक आधारशिला मानिने गोरखा–२ तथा खासगरी भच्चेक क्षेत्रका मतादाताहरूले भने मिश्रित प्रतिक्रिया दिएका छन् ।

पूर्वप्रधानमन्त्री भएका नाताले प्रचण्डको उम्मेदवारीले गोरखा–२ मा बिकासको सवालमा फड्को मार्ने आशमा भने यहाँका मतदाताहरू रहेका छन् । सडक सञ्जालको उचित ब्यवस्थापन नभएको यस क्षेत्रमा प्रचण्डले राख्ने चुनावी कार्यक्रमबाट नै केही घोषणा हुने आशामा यहाँका मतादाताहरू रहेका छन् । तर, सशस्त्र संघर्षका क्रममा माओवादी केन्द्रको नाउबाट यस क्षेत्रका केही नागरिकहरू प्रताडित भएकाले प्रचण्डलाई आँखा चिम्लिएर भोट हाल्न सक्ने अवस्थामा आफूहरू नभएको उनीहरूको तर्क छ ।

माओवादी केन्द्र र प्रचण्डका कारण मानवीय र भौतिक क्षति व्यहोर्न परेकाले तत्काल उहाँलाई भोट दिने बिषयमा सकरात्मक हुन नसकिने यस क्षेत्रका सशस्त्र संघर्षमा पीडित भएकाहरूको भनाइ छ । माओवादी केन्द्रले तत्कालिन समयमा जनयुद्धको थालनी गर्दै गर्दा शुरुमा गोरखामा नै फौजी आक्रमण गरेको थियो ।

जीत सुनिश्चित

नेपाली कांग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवार प्रचण्डको जीत निश्चित जस्तै छ । प्रतिपक्षी दल नेकपा (एमाले)को जनआधार कम भएकाले पनि प्रचण्डको जीत निश्चित देखिएको हो । स्थानीय तहमा माओवादी केन्द्रको बाहुल्यता र कांग्रेसको समेत समर्थन रहेकाले कम्तीमा १० हजारभन्दा बढी मतले प्रचण्ड विजयी हुने आँकलन गरिएको छ । कांग्रेसको एक पक्षले मत नदिए पनि प्रचण्डले सहज रूपमा चुनाव जित्ने माओवादी केन्द्रको बुझाइ छ ।