सडक दुर्घटना उद्धार सम्बन्धी पूर्व अभ्यास

0
Shares

नवलपरसी। 

हैन, के गरेको ? यति ठूलाे दुर्घटना हुँदा पनि घाइतेलाई अस्पताल नलगेर के रमिता हेरेर बसेको एक युवाको प्रश्न थियो यो ।
साँच्चै नै भित्रीमनबाट उब्जिएकाे ती युवाका मानवीय भावनाको यो प्रश्नले सडक दुर्घटनाका घाइतेको उद्धार मा रहेका सरोकार बालालाई चसक्क पार्छ।
आफन्तका साथ मोटर साइकलमा गन्तव्य तर्फ लाग्दै गरेका ती युवा घटनाबारे अनविज्ञ थिए र घटना स्थलको अवस्था देख्न साथ उद्धार को भावना प्रकट गरेका थिए ।

कुरो पूर्वी नवलपरासीको डन्डा जङ्गल स्थित मुख्य राजमार्गमा नेपाल प्रहरी, सशस्त्र बल तथा नेपाली सेनाले शनिवार गरेको सडक दुर्घटना संयुक्त उद्धार नमुना अभ्यास कार्यक्रमकाे हाे ।

स्थानीय जिल्ला प्रशासन, नेपाल रेडक्रस तथा मध्यविन्दु जिल्ला अस्पतालकाे सहभागिता रहेको उक्त कार्यक्रममा सडक दुर्घटना सम्बन्धी कारुणिक दृश्य सिर्जना गरिएको थियो ।

एक तर्फबाट आउँदै गरेको टिपर र बिपरति दिशातर्फ जाँदै गरेको बसकाे बीचमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा माेटरसाइकलमा सवार महिला पुरुष गरी दुई व्यक्ति गम्भीर घाइते भएका थिए ।
सडक दुर्घटानामा परेर रगताम्मे भई लडेका घाइतेको प्राथमिक उपचार तथा जटिल अवस्थामा पुगेका घाइतेको प्राण रक्षामा अपनाउनु पर्ने सावधानीका बारेमा अभ्यास गरिएको थियो ।

सडक दुर्घटनाका बेला देख्ने वा तत्काल घटना स्थलमा पुग्ने व्यक्तिले प्रहरीलाई सूचना दिने देखि  सम्बन्धित सराेकारवाला पक्षकाे परिचालन सहित उद्धार अभ्यास देखाइएको थियो ।

सोही क्रममा दुर्घटना गराउने चालक तथा सवारीको सुरक्षा तथा घटना स्थलमा घटनालाई देखेर आक्रोशित भिडबाट थप घटनाहुन नदिन सुरक्षा निकायले निभाउनु पर्ने भूमिका पनि उद्धार अभ्यासका क्रममा प्रदर्शन गरिएको थियो ।

यसै सन्दर्भमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले विश्वमा प्रति २५ सेकेन्ड १ जनाकाे सडक दुर्घटनाबाट मृत्यु हुने गरेको र यो दरलाई सन २०३० सम्ममा आधा बनाउँदै २०५०मा यसलाई शून्यमा  झार्ने विश्वव्यापी लक्ष्य रहेको बताउनु भयो ।

पोस्ट क्य्रास रेस्पाेन्स भनिने यस्ता अभ्यासले झन्डै ७० किमी  लामो पूर्वी नवलपरासी सडक खण्डमा हुने  दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ ।
अभ्यास कार्यक्रममा प्रजिअ सुमन घिमिरे , जिल्ला जनपद तथा ट्राफिक प्रहरी नवलपरासी पूर्व, वन तथा पर्यावरण सुरक्षा गण हात्तीखाेर र सशस्त्र प्रहरी बल ३१ नं. गुल्म भेडाबारीका प्रमुख लगायत विभिन्न संघसस्था प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।