‘बौद्धिक पलायन र भ्रष्टाचार रोक्ने मेरो पहिलो एजेन्डा हो’

0
Shares

काठमाडौं । 

नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले नेपालमा बौद्धिक पलान र भ्रष्टाचार रोक्ने आफ्नो पहिलो एजेन्डा रहेको बताउनुभएको छ ।

शनिबार टोखामा आयोजित चुनावी कार्यक्रममा पौडेलले नेपालमा बौद्धिक पलायन र भ्रष्टाचार सबैभन्दा ठूलो समस्या भएकाले यसको समाधानका उपायहरू खाज्ने आफ्नो पहिलो प्राथमिकता रहने बताउनुभयो । उहाँले भन्नुभयो–‘नेपाली युवाहरू रोजगारी नपाएर विदेशिन बाध्य छन् ।

परिवारको छाक टार्न जीवन जोखिममा पार्न बाध्य छन् । काठमाडौंका युवा पढेर, योग्य भएर नेपालमा आफ्नो योग्यता प्रयोग गर्न नपाएका कारणले विदेशमा जान बाध्य भइरहेको छ ।’ उहाँले ‘ब्रेन ड्रेन, करप्सन र डेभलपमेन्ट’ मा मुख्य समस्या रहेको जिकिर गर्दै भन्नुभयो– ‘यो बौद्धिक पलायनको समस्या हो । यसलाई अंग्रेजीमा ब्रेन ड्रेन भनिन्छ । एउटा नेपाली युवा नेपालमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न पाउने स्थिति राज्यले बनाउन सक्नुपर्छ । हामीले त्यस्तो नीति बनाउन सक्ने युवा नेतृत्वलाई यो चुनावबाट संसद्मा पु¥याउन सक्नुपर्छ ।’

देशको अर्को समस्या भ्रष्टाचार भएको बताउँदै नेता पौडेलले यदि भ्रष्टाचार यही ढंगले बढेर गयो भने राजनीतिले ‘डेलिभर’ गर्न नसक्ने बताउनुभयो । उहाँले राजनीतिले नैतिकता गुमाउने, राजनीतिक नेताहरू भ्रष्टाचारमा संलग्न हुने, र भ्रष्टाचार गर्नेहरूलाई संरक्षण गर्ने हो भने नेपालको राजनीतिप्रति कसैको विश्वास नरहने टिप्पणी गर्नुभयो । पौडेलले जनताको विकासको चाहना पूरा हुन नसक्दा उत्पन्न हुने निराशालाई पनि समस्याका रूपमा चित्रण गर्दै भन्नुभयो– ‘हामी व्यवस्थित विकास चाहन्छौँ । तर, हाम्रो समस्या समाधान हुँदैन ।

कम खर्चमा धेरै उपलब्धि हासिल गर्ने प्रकृतिको विकास मोडेल हामीले अपनाउन आवश्यक छ । म यो देशका यी समस्या आगामी चुनावबाटै सम्बोधन गर्न सक्ने आधारहरू देखिरहेको छु, त्यसका लागि म प्रतिबद्ध छु ।’ युवा नेता पौडेल सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुनुहुन्छ । काठमाडौं क्षेत्र नंं. ५ मा नेकपा एमालेले वरिष्ठ नेता ईश्वर पोखरेललाई उम्मेदवार बनाएको छ । पोखरेल गत निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित हुनुभएको हो । नेविसंघका पूर्व केन्द्रीय अध्यक्षसमेत रहनुभएका पौडेल चुनावी मैदानमा उत्रिएपछि पोखरेललाई चुनौती थपिएको छ । यही क्षेत्रबाट रन्जु दर्शना र हेमराज थापालगायत स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी मैदानमा छन् ।