नेपालमा भोकमरी बढ्यो

१ सय २१ मुलुकमा नेपालको स्थान ८१औं

0
Shares

विश्व भोकमरी सूचकांक (ग्लोबल हंगर इन्डेक्स) मा नेपाल ८१औं स्थानमा झरेको छ । विश्वका १ सय २१ देशमध्ये भोकमरीको स्थिति जनाउने सूचकांकमा सन् २०२२ मा नेपाल पाँच स्थान तल झरेको छ । सन् २०२१ मा नेपाल १ सय १६ देशमध्ये ७६औं स्थानमा थियो ।

बालबालिकाको पोषणसम्बन्धी तथ्यांकमा आधारित भएर देशको स्तर निर्धारण हुने पनि भोकमरीसम्बन्धी प्रतिवेदनमा जनाइएको छ । अल्पपोषित वा न्यूनपोषित दर, कुपोषण, बालबालिकाको उमेरअनुसार तथा उचाइअनुसार तौल नहुने र बालमृत्युदरमा आधारित तथ्यांकका आधारमा यस्तो सूची तयार गरिएको पनि प्रतिवेदनमा जनाइएको छ । आयरल्यान्डको विश्वव्यापी सरोकार र जर्मनीको वेल्टहंगर हिल्फे संस्थाद्वारा सार्वजनिक गरिएको यस वर्षको तथ्यांकमा नेपालले १९.१ अंक पाएको छ । यसलाई मध्यम खालको भोकमरीको स्थिति मानिन्छ ।

गत वर्ष पनि नेपालको भोकमरीको सूचकांक मध्यम खालकै थियो । भोकमरी सूचकांक ० देखि १०० को बीचमा हुन्छ । यो अंक जति कम भयो उति भोकमरी कम रहेको जनाउँछ । अंक बढ्दै जाँदा भोकमरीको स्थिति गम्भीर रहेको बुझिन्छ । प्रतिवेदनमा उल्लिखित १ सय २१ देशमध्ये सबैभन्दा गम्भीर भोकमरीको स्थिति यमनमा छ । १ सय २१ स्थानमा रहेको यमनको भोकमरी सूचकांक ४५.१ छ । सबैभन्दा न्यून भोकमरीको अवस्था बेलारुसमा छ । पहिलो स्थानमा रहेको बेलारुसको भोकमरी सूचकांक ५ भन्दा थोरै छ । चीन, चिली, हंगेरी, कुवेत, टर्कीलगायतका देशमा भोकमरीको स्थिति न्यून मात्रै छ ।

प्रतिवेदनअनुसार दक्षिणएसियामा भोकमरी सूचकांकमा तुलनात्मक राम्रो स्थितिमा श्रीलंका छ । ६४औं स्थानमा रहेको श्रीलंकाको भोकमरी सूचकांक १३.६ छ । श्रीलंकापछि नेपालको स्थान राम्रो छ । छिमेकी भारतको स्थान १०७औं नम्बरमा छ । भारतको भोकमरी सूचकांक २९.१ छ । ८४औं स्थानमा रहेको बङ्लादेशको भोकमरी सूचकांक १९.६ छ । त्यसै गरी, २६.१ सूचकांक रहेको पाकिस्तान ९९औं नम्बरमा छ । अफगानिस्तान १०९औं स्थानमा छ ।

सन् २००० देखि नियमित प्रकाशन गरिँदै आएको यस प्रतिवेदनमा गत वर्षको तुलनामा खराब अवस्था देखिए पनि पछिल्लो दशकमा नेपालले भोकमरीको स्थितिमा ठूलो सुधार गरेको देखिएको छ । सन् २००० मा ३७ अंकसहित नेपालको भोकमरीको स्थिति गम्भीर थियो । यो सन् २०१४ मा आइपुग्दा २१.२ अंकमा ओर्लिएको थियो । त्यसयताका आठ वर्षमा नेपालले भोकमरीको अवस्था सुधार गरेको देखिएको छ ।