एसक्युसीको अन्तर्राष्ट्रिय मेला शुरु

0
Shares

काठमाडौं । क्वेष्ट नेपालद्वारा आयोजित विद्यार्थी गुणीय चक्रको २३ औं अन्तर्राष्ट्रिय सम्मेलन सेन्ट जेभियर्स स्कुल, गोदाबरीमा शुरु भएको छ । यस सम्मेलनमा भारत, बंगलादेश, श्रीलंका र मौरिससबाट ९९ जना र नेपालका झापा देखि सुर्खेत सम्मका विभिन्न २० वटा हब सम्मेलन मार्फत छनौट भै आएका सामूदायिक तथा निजी विद्यालयका ६७६ विद्यार्थी, पर्यवेक्षक, शिक्षक–शिक्षिका, प्रधानाध्यापक तथा शिक्षाविद्हरुले सहभागिता जनाएका छन् ।

कार्यक्रमको उद्घाटन शिक्षा विज्ञान तथा प्रबिधि राज्यमन्त्री बोधमाया कुमारी यादवले गर्नुभएको थियो भने सम्मेलनका मामला–अध्ययनको प्रस्तुति, प्यानल डिस्कशन, मनशा स्मृति सर्वगुणीय व्यक्ति अवार्ड, पेपर प्रिजेन्टेशन, कोलावोरेटिभ आर्ट एण्ड कोलाज, कोलावोरेटिभ स्टोरी फर्मेशन, कोलावोरेटिभ एस.क्यु.सी. ट्रेजर हन्ट, ध्यान सम्बन्धी कार्यशाला, फोटोग्राफी सम्बन्धी कार्यशाला र स्लाम पोइट्री सम्बन्धी कार्यशाला, सांस्कृतिक आदानप्रदानका गतिबिधिहरु संचालित छन् । विद्यार्थी गुणीय चक्र विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति वनाउने शैक्षिक कार्यक्रम हो र यो सन् २००५ देखि देशका विभिन्न शैक्षिक संस्थाहरुमा एक नविनतम शैक्षिक आन्दोलनको रुपमा लागू भइरहेको छ ।

क्वेष्ट नेपाल समान विचारधारा भएका शिक्षाविद्हरुद्वारा विद्यार्थी गुणीय चक्रको प्रचार र कार्यान्वयन गरी सार्थक सामाजिक, असल र चतुर विद्यार्थी उत्पादनको लागि प्रशिक्षित गर्ने उद्देश्यका साथ स्थापना गरिएको एक पूर्णतः स्वयमसेवी संस्था हो । हाल १ सय ३० भन्दा वढि विद्यालयहरुमा सह–पाठ्यक्रमको रुपमा विद्यार्थी गुणीय चक्र संचालन तथा पठन पाठन भइरहेको छ ।

विद्यार्थी गुणीय चक्रको अवधारणालाई नेपालमा प्रोफेसर दिनेश प्रसाद चापागाईँले सन् १९९९ मा प्रयोगमा ल्याउनु भएको हो, जो संसारभर फादर अफ एसक्युसीका नामले चिनिनुहुन्छ । विद्यार्थी गुणीय चक्रको अवधारणा सन्् १९६२ देखि जापानको उद्योगमा वस्तु तथा सेवाको गुणस्तरण अभिवृद्धि गर्न लागू गरिएको गुणीय चक्रबाट लिइएको हो । विद्यार्थी गुणीय चक्र विश्वका २५ भन्दा वढि देशहरुमा निकै लोकप्रीय रहेको छ ।

कार्यक्रममा उपस्थित सबैले सम्मेलनको नियम पालना गर्दै भविष्यमा आफ्नो प्रगति मात्र नभै अरुको लागि समेत केहि गर्ने प्रतिज्ञा गरे । उद्घाटन समारोहमा बोल्दै क्वेष्ट नेपालका प्रमुख सल्लाहकार निराजन अधिकारीले नेपालमा अग्रगामी र असल विद्यार्थी निर्माणमा भैरहेका प्रयासबारे प्रकाश पार्नुभयो भने क्वेष्ट नेपाका संरक्षक फादर लरेन्स मनियारले क्वालिटी गुरु डा. जगदीश गान्धीलाई स्मरण गर्दै अरुको लागि बांच्ने व्यक्तित्व निर्माणको लागि बिद्यार्थीकाल अत्यन्त उपयुक्त समय भएको बताउनुभयो ।

डब्ल्युसिटिक्युईईका सल्लहकार एवं भारतका सहभागी डा. शशिभूषण पूरोहितले विद्यार्थी र सिकाइको वातावरणको अन्तरसम्बन्ध बारे प्रकाश पार्नुभयो । त्यस्तै क्वेष्ट नेपालका प्रमुख संरक्षक प्रा. दिनेशप्रसाद चापागाईंले अरुसंग सहसम्बन्ध राख्न र आफैं संग प्रतिस्पर्धा गरी जीवनमा सफल हुन सुझाउनुभयो । उक्त समारोहमा सेन्ट जेभियर्स, गोदाबरीका विद्यार्थीहरुले प्रतिनिधिमूलक मामला–अध्ययनको प्रस्तुति गर्दै प्रायः जसो व्यक्तिले अन्तिम अवस्थामा काम गर्नुको कारण र यसका समाधानका उपायबारे प्रष्ट पारे ।

उद्घाटन समारोहमा बोल्दै शिक्षा विज्ञान तथा प्रबिधि राज्यमन्त्री बोधमाया कुमारी यादवले अन्तर्राष्ट्रिय विद्वतवर्गलाई एउटै छानामुनी नेपालमा ल्याउन सफल भएकोमा क्वेष्ट नेपाललाई धन्यवाद दिनुभयो । संसारभर उत्कृष्ट क्षमता देखाउन विश्व व्यापिकरणले नेपाललाई समेत अवसर प्रदान गरेको र विभिन्न देशहरुबाट नेपालमा विद्यार्थी आउन शुरुभएको तथा प्रतिभा पलायन रोक्नु राज्यको दायित्व भएको बताउंदै बन्दैगरेका ऐन कानूनले दीर्घकालमा सबैलाई लाभ हुने प्रष्ट पार्नुभयो । कार्यक्रमको अध्यक्षता क्ेवष्ट नेपालका अध्यक्ष सुरिना सुनयनी गुरुङ्गले गर्नुभएको थियो ।