ओलीको असंवैधानिक कदमको विरोध गर्दा टिकट पाइनँ : नेता भीम रावल

0
Shares

काठमाडौं ।

नेकपा एमालेका नेता डा. भीम रावलले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोध गर्दा टिकट नपाएको बताउनुभएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले अध्यक्ष ओलीको राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेकै कारण आफूले टिकट नपाएको बताउनुभएको हो ।

रावलले भन्नुभयो– ‘पार्टी अध्यक्षले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको मैले विरोध गरेँ, जसकारण जिल्लाबाट सिफारिस हुँदा पनि केन्द्रले मलाई प्रतिनिधिसभा निर्वाचनको लागि टिकट दिएन ।’उहाँले पार्टी भित्र र बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको दाबी गर्दै पार्टी विभाजन रोक्नका लागि आफूहरूसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप लगाउनुभयो । उहाँले एमालेको चिह्नमा अन्य पार्टीका नेतालाई उम्मेदवार बनाउने निर्णय तथा तालमेलको पनि खुलेर आलोचना गर्नुभयो ।

रावलले अध्यक्ष ओलीमाथि एक दर्जन आरोप लगाउँदै १९ पृष्ठको प्रतिवेदन नै तयार पार्नुभएको छ । उहाँले प्रतिवेदनमा प्रश्न गर्नुभएको छ– ‘युनिफिकेसन चर्चसँग आबद्ध होलिवाइन भनी चिनिएका एकनाथ ढकाललाई समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य सुनिश्चित गर्ने, निरंकुश व्यवस्थामा एमालेका नेता र कार्यकर्ता प्रताडित गर्ने व्यक्तिलाई हेटौंडामा उम्मेदवार बनाउने, आफैंले प्रतिक्रियावादी भनेको राप्रपाका साथै अध्यक्ष ओली र माधव नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयास गर्नुका साथै संविधान दिवसलाई कालो दिवस एवं एमालेलाई नस्लवादी पार्टी भन्ने जसपासँग चुनावी साँठगाँठ गर्ने, लोसपाका मानिसहरूलाई बिहान पार्टी प्रवेश गराएर दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताका अनेकौं कर्म र कुकर्म गरेकाहरूलाई धमाधम उम्मेदवार बनाउने कार्य पार्टीको कुन सिद्धान्त, विधि र अनुशासन भित्र पर्छ ? के यस्तै पार्टी र व्यक्तिहरूलाई प्रश्रय दिएर समाजवाद आउँछ ?’ रावलले पत्रकार सम्मेलनमा आफूले एमाले भने नछाड्ने प्रष्ट पार्नुभएको छ ।