पुलिस र लुम्बिनीको जित

0
Shares

पोखरा ।

नवौ राष्ट्रिय खेलकुदअन्तर्गत बुधबार महिला क्रिकेटमा लुम्बिनी प्रदेश र नेपाल पुलिसले जित हासिल गरेका छन् । लुम्बिनी प्रदेशल कर्णाली प्रदेशलाई १ सय ४ रनको फराकिलो अन्तरले हरायो भने योसँगै दुई जितसहित सेमिफाइनलमा पुग्ने संभावना बलियो बनायो ।

जितको लागि लुम्बिनीले १ सय २८ रनको लक्ष्य दिएकोमा कर्णालीको पूरै टोली ८.३ ओभरमा २३ रन बनाएर अल आउट भयो । कर्णालीको लागि ओपनर किरण कुँवरले सर्वाधिक पाँच रन बनाइन् । लुम्बिनीको स्पिन आक्रामणसामु कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मधु डिसीले कर्णालीको मध्यक्रम ध्वस्त बनाएकी थिइन् । यमुना थारु २, अंशु शाक्य शून्य, अन्जु गुरुङ १, कप्तान विना थापा ४, दीपा राना र दीक्षा पुरी शून्य आउट भए । लुम्बिनीकी मधुले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिइन् । उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । स्पिनर कृतिका मरासिनीले १.३ एक रन खर्चेर २ विकेट तथा सुस्मिता भुसालले १ विकेट लिए ।

त्यसअघि, पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । लुम्बिनीकी ओपनर लक्ष्मी चौधरीले सर्वाधिक ३१ रन बनाइन् । कप्तान सरस्वती घर्तीमगरले ३० रनको योगदान दिइन् । सुस्मिता बजगाईं र मधुले १२÷१२ रन बनाए । कर्णालीले ३८ रन अतिरिक्त दिएको थियो । कर्णालीको बलरमा अन्जु गुरुङले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । अन्जली क्षेत्रीले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिइन् ।

यसअघिको खेलमा पुलिसले पनि फराकिलो जित हात पारेको थियो । विभागिय टोलीले प्रदेश एकलाई १ सय १८ रनले पन्छाएको थियो । अन्तिम चारको निकट पुगेको पुलिसको यो लगातार दोस्रो जित हो । पुलिसले जितको लागि १ सय ५९ रनको ठूलो लक्ष्य दिएको थियो । जवाफमा प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ४० रन मात्रै बनायो ।

प्रदेश १ का लागि लकिता राजवंशी र कप्तान सनु राजवंशीले सर्वाधिक ११–११ रन बनाए । पुलिसकी हिरनमयी रायले ३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई, कविता कुँवर र कविता जोशीले एक एक विकेट लिए ।यसअघि, पुलिसले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । पुलिसका लागि सम्झना खड्काले १० चौकाको सहयोगमा सर्वाधिक ६० रन बनाइन् । सम्झनाले ३९ बलमा यस प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गरेकी थिइन् ।

राष्ट्रिय प्रतियोगितामा सम्झनाको यो पहिलो अर्धशतक हो । सुदूरपश्चिमबाट यसअघि घरेलु क्रिकेट खेल्ने सम्झना यस सिजनबाट पुलिसमा आएकी हुन् । कविता कुँवर ३७ रनमा रन आउट भइन् । अप्सरी बेगम २१ रनमा र कप्तान रुविना क्षेत्री बेलबासे १६ रनमा अविजित रहे । प्रदेश १ की निशा शाहले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन् ।

समूह ‘बी’ मा पुलिस दुई खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । लुम्बिनी दुई खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ । प्रदेश एक दुई खेलमा १ अंक जोेड्दै तेस्रो स्थानमा छ भने कर्णाली दुई खेल हारेर अंक विहीनमा रहेको छ ।