चेल्सीद्वारा एसी मिलान पराजित


लन्डन, (एजेन्सी) । 

यूईएफए च्याम्पियन्स लिगको खेलमा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इटालियन सिरी ‘ए’ क्लब एसी मिलानलाई पराजित गरेको छ ।
चेल्सीले १० खेलाडीमा समेटिएको घरेलु टोली मिलानमाथि २–० गोलअन्तरको सहज जित निकालेको हो । चेल्सीको जितमा जर्गिन्हो र पिएरे इमरिक औवामियाङले गोल गरेका थिए । मिलानोमा मंगलबार राति भएको खेलमा घरेलु टोली १८औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्यो । पेनाल्टी बक्समा मासन माउन्टमाथि फउल गरेपछि रेफ्रीले फिकायो तोमोरीलाई सिधै रातो कार्ड देखाउँदै चेल्सीलाई पेनाल्टीको अवसर दिए । सोही पेनाल्टीमा जर्गिन्होले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाएका थिए ।

खेलको ३४औं मिनेटमा औवामियाङले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । उनले मासन माउन्टको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै चेल्सीको जितमा पर्याप्त बन्यो । यस जितसँगै समूह ‘ई’ मा चेल्सीले चार खेलबाट सात अंक जोडेको छ । पराजित मिलानको चार अंक रहेको छ । यही समूहको अर्काे खेलमा डिनामो जाग्रेब रेडबुल साल्जवर्गले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । साल्जवर्गको ६ अंक छ भने डिनामो जाग्रेबको चार अंक छ ।

त्यसैगरी, समूह ‘एच’को खेलमा अर्का इटालियन सिरी ए क्लब युभेन्ट्स पनि इजरायली क्लब मकावी हाइफासँग स्तब्ध बन्यो । युभेन्ट्स घरेलु टोली मकावी हाइफासँग २–० गोलअन्तरले स्तब्ध बनेको हो । युभेन्ट्सलाई स्तब्ध पार्न मकावी हाइफाका ओमेर एट्जिलीले दुवै गोल आफ्नो नाममा लेखाए । उनले दुवै गोल पहिलो हाफमा गरेका थिए । हाइफामा मंगलबार राति भएको खेलको सातौं मिनेटमा हाइफाको गोलबाट मकावीले सुरुवाती अग्रता लिएको थियो । उनले पिएरे कोरनुडको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको ४२औं मिनेटमा ओमेरले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै मकावीको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा मकावीले महत्वपूर्ण जित निकाल्न सफल भयो । घरेलु टोलविरुद्ध बल पोसेसन राख्दै दबाब बढाए पनि गोल गर्न नसक्दा युभेन्ट्स पराजित हुन पुग्यो । यसअघि युभेन्ट्सले मकावीलाई ३–१ ले पराजित गरेको थियो । मकावीसँगको हारसँगै युभेन्ट्सको नकआउट चरण पुग्ने सम्भावना क्षीण बनेको छ ।
समूह ‘एच’ कै अर्को खेलमा पिएसजी र बेन्फिकाले १–१ गोलको बराबरी खेल्दै समान अंक बाँडे । पिएसजीले घरेलु मैदानमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बेन्फिकासँग १–१ गोलको बराबरीमा रोकिन पुगेको हो । बेन्फिकाका लागि जोआओ मारियाले बराबरी गोल फर्काए । पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलको ४०औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट पीएसजीले सुरुवाती अग्रता लिएको थियो । एन्टोनियो सिल्भाले पेनाल्टी बक्समा जुआन बर्नाटमाथि फउल गरेपछि प्राप्त पेनाल्टीमा एमबाप्पे चुकेनन् ।

६२औं मिनेटमा जोआओ मारियोले पेनाल्टीमै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मार्काे भेराट्टीले पेनाल्टी बक्समा राफा सिल्भालाई फउल गरेपछि प्राप्त पेनाल्टीमा मारियोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । यो नतिजापछि समान आठ अंक भएपनि बढी गोलको आधारमा पिएसजी समूहको शीर्ष तथा बेन्फिका दोस्रो स्थानमा छ । युभेन्ट्स र मकावी हाइफाको समान तीन अंक रहेपनि युभेन्ट्स गोलअन्तरमा तेस्रो तथा मकावी पुछारमा छ ।

त्यसैगरी, समूह ‘जी’ को खेलमा म्यानचेस्टर सिटी बराबरीमा रोकियो । एफसी कोपेनहेगनको मैदानमा भएको खेलमा सिटी पहिलो हाफमै १० खेलाडीमा सामेटिदा खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको ३०औं मिनेटमा विपक्षी खेलाडीलाई गोल गर्ने अवसरबाट हातले तान्दै रोकेपछि रेफ्रीले सिटीका डिफेन्डर सर्जी गोमेजलाई रातो कार्ड दिएका थिए । युवा फरवार्ड एर्लिङ हालान्डलाई बेन्चमा राखेको खेलमा सिटीले बल पोसेसनमा पकड राख्दै अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । सुरुवाती ३० मिनेटमा भिडियो असिस्टेन्ट रेफ्रीका कारण खेलमा निकै विवाद सिर्जना भएको थियो ।

खेलको ११औं मिनेटमा रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेपनि भीएआरले उक्त गोललाई मान्यता दिएन । गोल हुनभन्दा केहि समयअघि रियाद माहरेजको हातमा बलले लागेको भन्दै रेफ्रीले गोल खारेज गरेका थिए । खेलको २५औं मिनेटमा सिटीले पेनाल्टी पायो । तर, माहरेजको प्रहार कोपेनहेगनका गोलरक्षक ग्रबराले बचाए । यस बराबरीका बाबजुद सिटीको चार खेलमा १० अंक छ । टोली अझै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

सिटीले यसअघि भने तीनै खेलमा जित हासिल गरेको थियो । प्रशिक्षक पेप गुआर्डीओलाले हालान्डलाई सुरुवाती ११ मा राखेका थिएनन् । हालान्डले उनले दोस्रो हाफमा वार्म अप गरेपनि मैदानभित्र छिरेर खेल्न पाएनन् । यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमन्डविरुद्ध सेभियाले १–१ गोलको बराबरी खेल्दै समान अंक बाँडेका छन् ।

त्यसैगरी, जर्मन डिफेन्डर एन्टेनियो रुडिगरले अन्तिम समयमा गोल गरेपछि स्पेनिस क्लब रियल मेड्रिड च्याम्पियन्स लिगमा हारबाट जोगिएको छ । रियलले समूह चरणको चौथो खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कसँग १–१ गोलको बराबरी खेल्दै समूहमा अपराजित रहन सफल भएको हो । वार्सजावामा मंगलबार राति भएको खेलमा घरेलु टोलीका ओलेकसान्डर जुभकोभले गोल गर्दा रियलका रुडिगरले इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा गोल गर्दै रियललाई हारबाट जोगाए ।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा घरेलु टोली साख्तरले दोस्रो हाफको शुरुमै अग्रता लिन सफल भएको थियो । खेलको ४६औं मिनेटमा जुभकोभले बोगडानको पासमा गोल गर्न सफल भएका थिए । तर, साख्तरले त्यसलाई अन्तिम समयसम्म जोगाउन नसक्दा जितबाट वञ्चित बन्न पुग्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा रुडिगरले टोनी क्रुसको पासमा हेडरमार्फत गोल गर्दै रियललाई हारबाट जोगाए । उक्त गोल गर्ने क्रममा उनी घाइते हुन पुगेका थिए ।

यस बराबरीसँगै गत सिजनको विजेता तथा सर्वाधिक १४ पटकको च्याम्पियन रियल मेड्रिड समूह चरणको दुई खेल बाँकी छँदै यस सिजनको च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । रियलले अब समूह चरणमा आरबी लाइप्जिग र सेल्टिकसँग खेल्न बाँकी छ । यी दुई खेलमा अंक गुमाए पनि रियल अर्को चरणमा प्रवेश गर्नेछ ।

समूह ‘एफ’ मा अपराजित रहेको रियलको चार खेलबाट १० अंक पुगेको छ । समान खेलबाटै लाइप्जिग ६ अंक जोडेर दोस्रो स्थानमा उक्लदा साख्तर ५ अंक जोडेर तेस्रो तथा एक अंक जोडेको सेल्टिक पुछारमा छ । यही समूहको अर्काे खेलमा लाइप्जिगले सेल्टिकलाई २–० ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।