हङकङमा सङ्कलित ४० लाख रुपियाँ हस्तान्तरण

0
Shares

म्याग्दी ।

जिल्लामा गरिब तथा विपन्न परिवारको उपचारमा आर्थिक सहयोग गर्नेगरी हङकङमा सङ्कलित ४० लाखभन्दा बढी सहयोग हस्तान्तरण भएको छ । ओमकुमारी शान्ति कोष म्याग्दीको गरिब बिरामीको उपचारमा सघाउन अक्षयकोष स्थापनाको लागि म्याग्दी प्रवासी नेपाली संघ मोना हङकङले सङ्कलित सहयोग रकम हस्तान्तरण गरेको हो ।

म्याग्दी सदरमुकाम बेनीमा एक कार्यक्रमको आयोजना गरी हङकङमा सङ्कलित नगद ४० लाख ११ हजार एकसय ११ रुपियाँ ओमकुमारी शान्ति कोषलाई हस्तान्तरण गरिएको मोना हङकङले जनाएको छ । उक्त रकम बेनी नगरपालिकाका प्रमुख सुरत केसी र म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाको विशेष उपस्थितिमा मोना हङकङका अध्यक्ष कर्णबहादुर पुनले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभयो ।

मोना हङकङको २०औं वार्षिक साधारणसभाको अवसरमा शान्ति कोषका लागि सङ्कलन भएको सो रकम हस्तान्तरण गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो । मोना हङकङले हालसम्म जिल्लामा विपन्नको उपचार तथा प्राकृतिक प्रकोपबाट प्रभावितहरुलाई राहतसहित शिक्षा, स्वास्थ्यलगायत विविध क्षेत्रमा साढे दुई करोडभन्दा बढी सहयोग गरेको उहाँले बताउनुभयो । मोना हङकङले सहयोग गरेको उक्त रकम सङ्कलन अभियानमा हङकङमा रहेका १५ जना म्याग्देलीहरुले प्रतिव्यक्ति दुईलाख रुपैयाँको दरले आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा शान्ति कोषको अक्षयकोषमा दुईलाख रुपियाँ आर्थिक सहयोग गर्नेहरुलाई व्यक्तिगत संरक्षक सदस्यता प्रदान गरी सम्मान गरिएको थियो । उक्त कार्यक्रममा कर्ण पुन, ईन्द्र थापामगर, प्रमोद गिरी, जेबेन्द्र फगामी र राजु गर्बुजा पुनको दम्पतिलाई नगर प्रमुख केसी, प्रजिअ राना र शान्ति कोषका अध्यक्ष शाक्यले माला लगाएर संरक्षक सदस्यतापत्र प्रदान गरी सम्मान गर्नुभएको थियो । शान्ति कोषमार्फत हालसम्म २ सय ६५ जना गरिब तथा विपन्न बिरामीहरुको उपचारमा आर्थिक सहयोग गरिएको छ । कोषमा हालसम्म आर्थिक सहयोग गरी ८ सय ३० जनाले आजीवन, ४१ जनाले व्यक्तिगत र ९ वटा संघसंस्थाले संस्थागत संरक्षक सदस्यता लिएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ रानाले प्रवासी म्याग्देलीहरुले जिल्लाको आवश्यकता र पहिचान गरेर विभिन्न क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशमा पलायन हुने युवा जनशक्तिलाई स्वदेशमै रोक्नका लागि रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै प्रवासीहरुको मेहनत र लगानी उत्पादन तथा व्यवसायमूलक क्षेत्रमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको छ । युवा जनशक्तिलाई स्वरोजगार बनाउने र उद्यमशीलताको विकास गर्ने सवालमा ध्यान दिनुपर्ने प्रजिअ रानाले बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख केसीले अब जिल्लामै रोजगारी सिर्जना गर्नेगरी उत्पादनका क्षेत्रहरु पहिचान गरेर लगानी गनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले मोनामार्फत म्याग्दी जिल्लाको विविध क्षेत्रमा भएको लगानी प्रभावकारी र सराह्रनीय रहेको बताउँदै प्रवासीहरुले लगानी गर्दा आवश्यकताको आधारहरु पहिचान गरेर मात्रै लगानी भित्रयाउनु पर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, मोना म्याग्दीका संस्थापक रमेश गिरी, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्दै मोना हङकङले जिल्लामा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो ।