विद्यार्थी गुणीयचक्रको २३ औँ अन्तराष्ट्रिय सम्मेलन २८ गतेदेखि सुरु


ललितपुर ।

विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकास गर्नको लागि स्थापना भएको विद्यायर्थी गुणीय चक्र (क्बेष्ट) नेपालको २३ औं अन्तर्राष्ट्रिय सम्मेलन असोज २८ देखि ३० गतेसम्म हुने भएको छ । गोदावरीको सेन्ट जेभियर्स मा आयोजना हुने सम्मेलनमा चार मुलुकका ९९ विज्ञले सहभागिता जनाउने भएका छन् ।

सम्मेलनमा भारत, बंगलादेश, श्रीलका र मौरिससबाट ९९ जना र नेपालका विभिन्न २० बटा हव सम्मेलन मार्फत छनौट भै आएका सामुदायिक तथा निजी विद्यालयका ६ सय ७६ विद्यार्थी, पर्यवेक्षक, शिक्षक, प्रधानाध्यापक तथा शिक्षाविद सहभागीता जनाउने भएका छन् ।

क्वेष्ट नेपालले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका सल्लाहकार निराजन अधिकारीले १७ वर्ष अघि नेपालमा स्थापना भएको क्वेट नेपालमा १० लाख भन्दा बढी विद्यार्थीले ज्ञान हासिल गरिसकेको जानकारी दिए । उनले भने–आफ्नो समस्या पहिचान गरी समुहगत रुपमा आफैँ समाधान गर्न गुणीयचक्र नेपालमा चर्चाको शिखरमा रहेको बताए । ‘हामीले हालसम्म हजारौ विद्यार्थीलाई यो बारेमा विभिन्न तालिम , सेमिनार , गोष्ठी आयोजना गरिसकेका छौ । विद्यार्थीले आफ्नो समस्या आफैँ समाधान गर्ने बनाइसकेका छौँ,यस्तो कार्यक्रमको अन्तराष्ट्र्रिय सम्मेलन आयोजना गर्न पाउँदा हामी खुसी भएका छौँ–सल्लाहकार अधिकारीले बताए ।

विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने उद्देश्यले सन २००५ स्थापना भएको क्वेष्ट नेपाल अन्तर्गत १ सय ३० भन्दा बढी विद्यालयमा सहपाठ्यक्रमको रुपमा विद्यार्थी गुणीय चक्र संचालन तथा पठन पाठन भइरहेको सम्मेलनमा जानकारी दिइयो ।सम्मेलनमा क्वेष्ट नेपालका सचिव रामवावु अधिकारीले सम्मेलनमा देश र विदेबाट सहभागि भएका विद्यार्थी र विज्ञले आफ्लो परियोजना पेश गर्ने बताए । उनले भने–विश्वलाई नेपालको सर्वगुण सम्पन्न शिक्षाको बारेमा जानकारी दिन सम्मेलन आयोजना गरेका हौ ।

विद्यार्थी गुणीय चक्रको अवधारणालाई नेपालमा प्रोफेसर दिनेश प्रसाद चापागाईले सन् १९९९ मा प्रयोगमा ल्याएका थिए । विद्यार्थी गुणीय चक्रको अवधारणा सन १९६२ देखि जापानको उद्योगमा बस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गर्न लागू गरिएको गुणीय चक्रबाट लिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै चापागाईले शिक्षा क्षेत्रमा गरिने प्रयोग र विद्यार्थीको मनोभावना परीक्षण गर्न सम्मेलन महत्त्वपूर्ण रहेको जानकारी दिए ।

शिष्ट, शुशिल र असर स्वभाव भएका विद्यार्थी उत्पादन गरी विश्वमा परिचित बनाउन यो सम्मेलनले महत्वपुर्ण भुमिका खेल्ने जानकारी गराउदै चापागाईले भने–यो कार्यक्रम सबै विद्यालयमा पु-याउने क्वेष्ट नेपालले निरन्तर प्रयास गरिरहेको बताए ।

कार्यक्रममा अन्तराष्ट्रिय सम्मेलनका आयोजक समितिका संयोजक एवं क्वेष्ट नेपालका वरिष्ठ उपाध्यक्ष नारद रिजालले तीनदिने मेलामा विदेशी पाहुनालाई नेपालको शिक्षाको अवस्था, गुणीय चक्रले गरेको परिवर्तन लगायतका विषयमा जानकारी हुने बताए । क्वेष्ट नेपालका उपाध्यक्ष देवराज घिमिरेले सम्मेलनले विद्यार्थीको क्षमतामा परिवर्तन हुने बताए । सम्मेलनमा विद्यार्थीले प्यानल डिस्कसन, मनशा स्मृति सर्वगुणीय व्यक्ति अवार्ड, कोलावरेटभ आर्ट एण्ड कोलाज, स्टोरी फार्मेशन, एसक्युसी ट्रेजर हन्ट, ध्यान, योगा, फोटोग्राफी, स्लाम पोयट्री, सांस्कृतिक आदानप्रदान लगायतका कार्यक्रम रहेको छ ।

विश्वका २५ भन्दा बढी देशहरुमा लोकप्रीय रहेको यो कार्यक्रमले नेपाल प्रख्यात रहेको जानकारी गराउदै क्वेष्ट नेपालका अध्यक्ष सुरिना सुनयनी गुरुङले यस्मा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए ।