आउँदो मंसिर ४ गते हुन गइरहेको आमचुनावमा आ–आफ्नो पक्षमा विजयी बन्न र सिट सङ्ख्या बढाउन दर्ता भएका सबैजसो राजनीतिक दलहरू लागिपरेका छन् । जसका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल धेरै पैसा खर्च गरेर चुनाव जित्ने ताकमा छन् ।
नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाले चुनावका बारेमा कुनै धारणा व्यक्त नगरे पनि आफू सत्तामा भएकाले जसरीतसरी जितिएला भन्ने मानसिक योजना सबल बनाउँदै लगेका होलान् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई आफू सत्तामा रहेको बेला बलजफत हुत्तिनुपरेका कारण आफूले पीडा भोग्नुपरेको भए पनि आम मतदाता जनताको आफूप्रतिको सहानुभूति धेरै रहेकोले आफूलगायतका धेरै उम्मेदवारले विजयी बनेर आफ्नो राजनीतिक दल सबैभन्दा ठूलो राजनीतिक दलका रुपमा स्थापित हुनसक्छ भन्ने विश्वास बोकेका देखिन्छन् ।
नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्रबाहेकका अन्य भुरेटाकुरे दलहरुलाई भन्दा पनि राजावादी राप्रपाका लागि केही सिटहरु सुरक्षित रहनेवाला छन् । यी सबै दलबीचको बीचबाट जाँदा पनि आफ्नो राजनीतिक दलको स्पष्ट बहुमत आउँछ भन्ने चुनावपूर्वको आँकलन नेकपा एमालेका अध्यक्ष केपी ओलीको रहेको छ । केपी ओलीको यो विश्वासभित्र केही यथार्थता पनि रहेको छ ।
विगतमा भारतले हामीमाथि लगाएको नाकाबन्दीमा उसले झुकाउन खोज्दा ओली झुकेनन् । भारतले हाम्रो पश्चिमी सिमानाका कालापानी, लिपुलेकलगायतका क्षेत्रमा अतिक्रमण गरेर दादागिरी मच्चाइरहँदा नेपालको नक्सा (विवादमै परे पनि) परिवर्तन गरी ती स्थानहरु नेपालकै हुन्, भारतका होइनन्, त्यसैले नेपाली भूभागमा अतिक्रमण नगर भनेर भारतलाई चेतावनी दिने काम पनि उनले नै गरेका थिए ।
समग्रमा भन्ने हो भने वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको तुलनामा केपी ओली नै केही मात्रामा भए पनि देशभक्त हुन् कि भन्ने कुरा दुनियाँले अड्कलेको सत्य कुरा हो थियो । एमालेकै प्रसिद्ध नेता मनमोहन अधिकारी प्रधानमन्त्री बनेर नौ महिने शासनकालमा केही प्रशंसनीय काम गरी जनप्रिय पार्टी बनाउन सफल भएका थिए । पूर्वका तिनै राष्ट्रवादी व्यक्तिहरुले बालेका बत्तीका उज्यालमा आजका अदूरदर्शी नेताहरुले नाम भजाएर वा नाम बेचेर आ–आफ्ना स्वार्थ पूरा गर्न लागेका छन् भन्ने कुरा प्रस्ट हुन्छ ।
आखिर जे भए पनि आउँदो चुनावमा स्पष्ट बहुमत त कुनै राजनीतिक दलको आउला भन्ने निश्चित छँदै छैन । सबैभन्दा बढी सिटको हकमा एमालेकै बढी सिट आएर सबैभन्दा ठूलो राजनीतिक दलको पगरी उसैले गुथ्न पाउनेछ भन्ने कुरामा भने कुनै मतभेद नगर्दा हुनेछ ।
पूर्वप्रधानमन्त्री केपी ओलीको तुलनामा नेपाली काङ्ग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आम नेपाली जनताको माझबाट धेरै कुरा वा धेरै विश्वास गुमाइसकेका छन् । यो भनाइ कुनै पूर्वाग्रहयुक्त भनाइ हुँदै होइन । उनी सत्तारोहण गरेपछिका दिनमा लाखौँ नेपाली जनताले राष्ट्रघाती ठानेको र अमेरिकाले बलजफत लागू गर्न खोजेको एमसीसी परियोजना आम जनतालाई ढाँटेर बलजफतसँग संसद्को दुई तिहाइ बहमतबाट पारित गराउन खोज्छन् ।
एक दर्जनभन्दा बढी मान्छेलाई हातखुट्टा बाँधेर बोरामा कोची हजार डिग्री सेन्टिगे्रट तापमान भएको इँटा भट्टामा फालेर मार्न लगाउने र ओली प्रधानमन्त्री हुँदाकै कालखण्डमा अपराधी ठहर गरी सबुत प्रमाणसहित कारावासको सजाय भोग्दै गरेका अफताव आलमजस्ता कुख्यात अपराधीलाई जेलमुक्त गराउने मात्र होइन प्रतिनिधिसभाकै चुनावका लागि उम्मेदवार बनाउने प्रयासमा लाग्छन् भने उनले आम जनताको मन जितेर कसरी चुनाव जित्लान् भन्ने प्रश्न खडा हुन्छ ।
जनता भनेको जनार्दन हो । जनार्दन भनेर भगवान्लाई भनिन्छ । भगवान्ले कहिल्यै अन्याय गर्नुहुँदैन र गर्दैनन् पनि भन्ने पौराणिक र ऐतिहासिक प्रमाणहरु हामी फेला पार्न सक्छौँ । पूर्वप्रम ओलीले पनि आफू प्रम बन्दाको कालखण्डमा विदेशी वैँङ्कमा अर्बौं रकम थुपारेका छन् भन्ने अफबाह धेरै फैलिएको पाइन्छ । यदि यो कुरा सत्य रहेछ भने र यथार्थ बन्न पुगेछ भने समयले नै त्यसको छिनोफानो गर्ला भन्न सकिन्छ ।
तर ओलीचाहिँ पूर्ण देशभक्त व्यक्ति हुन् भन्ने आधार भने उनले पनि गुमाइसकेका छन् । २०७२ सालको भूकम्पले भत्काएर पुनः निर्माणको पहल गरिएको धरहरा पूर्णरुपेण निर्माण हुन नपाउँदै हतार–हतार उद्घाटन गरेर आफ्नो गौरव बढाउने खेलमा मात्र लागेका होइनन्, त्यहाँ पनि कमिसनको ठूलै खेलोफड्को भएकोले पोल खोलिने डरले त्यसो गर्न भ्याएका पात्र हुन् ओली । एमसीसी पास गर्ने बेलामा पनि अलि–अलि विरोध गरेजस्तो गर्दै लाखौँ नेपाली जनताको भावनामा छुरा रोप्ने काम गरेजसरी अन्त्यमा एमसीसी पास गर्न सघाउने व्यक्ति पनि हुन् उनी ।
यता शेरबहादुर देउवाका त उनका हालका क्रियाकलाप वा उनका व्यवहारले नै प्रस्ट पारिसकेका छन् । उनी नेपाली जनता र देशको समग्र उन्नतिका लागि एउटा दिशानिर्देश गर्ने प्रम नबनेर अदालतको सेटिङमा भिलेन बन्न पुगेका प्रतिनिधि पात्र हुन् ।
हाल नेपालमा अस्तित्वमा रहेका र दर्ता भएकामध्ये सबैभन्दा पुरनो राजनीतिक दलको रुपमा नेपाली काङ्ग्रेस पार्टीलाई लिइने गरिन्छ ।
यस राजनीतिक दललाई पनि गणेशमान सिंहजस्ता नेताहरुले निकै लोकप्रिय बनाएर यसका नेता तथा तत्कालीन काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पटक–पटक सत्तारोहणको अवसर दिलाएकै हो । अहिले आम र स्थानीय चुनाव गराउने महत्वपूर्ण जिम्मेवारीसमेत नेपाली काङ्ग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नै पाएको छ । यति भएर पनि जनप्रिय काम एउटै गर्न नसक्नु, आम जनताले गर्न निषेध गरेको र त्यो काम गर्दा देश र नेपाली जनतालाई कति धेरै कष्ट वा पीडा हुन्छ भन्ने कुरा थाहा पाएर बलजफतसँग विदेशीको इसारामा काम गर्नुजस्ता राजनीतिक दाउपेचले आज निकै कमजोर बन्न पुगेको नेपाली काङ्ग्रेसलाई एमालेपछिको दोस्रो वा माओवादी केन्द्र वा राप्रपा लिङ्देन पक्षको पछाडितिर धकेलेर तेस्रो शक्तिशाली राजनीतिक दलको रुपमा स्थापित गरिदिनेछ भन्ने कुरा आजको चुनावी माहोलले प्रस्ट पार्दै लगेको पाइन्छ ।
उम्मेदवार मनोनयन गर्ने क्रममा आफ्ना विरोधी सबैजसोले टिकट नपाएर रिसाएका र कोही स्वतन्त्र उम्मेदवार बन्न पुगेका, कोही अर्को पार्टीमा प्रवेश गर्दै गरेकाले एमालेलाई ठूलै धक्का लाग्छ कि भन्ने अड्कल धेरैको रहेको छ । अलि प्रभावशाली मानिएका नेताहरुले स्वतन्त्र उम्मेदवार बनेर उठ्दा एमालेलाई घाटा नलाग्ने कुरो हुँदैन । तथापि घाटै लागे पनि केपी ओली आफ्नै घमण्डमा अडिग रहेर अर्को राजनीतिक दलसँग सहकार्य गर्दै अगाडि बढ्ने दिशामा समेत उद्यत् भइसकेका छन् । उनको चलाखीले कति काम गर्ला भन्ने कुरा मंसिर ४ को चुनावको नतिजासँगै प्रस्ट हुँदै जाला तर एमाले नै नेपालको सर्वाधिक ठूलो राजनीतिक दलको रुपमा देखा पर्ने कुरा पक्कै हो ।
बितेका पाँच वर्षको देश उन्नतिको हिसाबकिताब गर्ने हो भने २–४ प्रतिशत उन्नति भएको थियो भन्ने स्थान रहला तर फेरि तिनै कुख्यात पात्रहरू चुनावी मैदानमा उत्रेर अनेक थरीका नाटक र अभिनय गर्दै आम जनतासँग भोट मागिरहेका छन् । अबदेखि गलत काम नगर्ने भन्ने बाचा कसम पनि केही पात्रले खाएका देखिन्छन् ।
यति भएर पनि निकै वर्षअगाडिदेखि तर मार्न पल्केका साधु बिरालाको रुप धारण गरेका नेताले हामी जनताले चाहेजस्तो देशको उन्नति गरिदेलान् र हामी सुखी जीवन बाँचौँला, देशमा अमनचयन कायम होला, युवाले वैदेशिक रोजगारीमा जान छाडेर आफ्नै देशका पाखापखेरामा श्रम पोखेर सुन फलाउने अवस्था सिर्जना हुनेछ भनेर ढुक्क पर्न सकिने अवस्था पटक्कै छैन । पाँच वर्षमा आउने चुनावमा आफ्नो मताधिकारको उपयोग नगरेर पनि भएन ।
अहिले स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा आउने र जनतालाई ललीपप देखाएर आफ्नो पक्षमा भोट तान्न खोज्ने केही नयाँ अनुहारका मान्छेलाई पनि उनीहरुको नियत कत्तिको स्वच्छ छ भनेर नाप्ने कुनै तराजु छैन । राम्रो उम्मेदवार चिनेर चुनावमा भोट हाल्न पाए समग्र देशको उन्नति चाँडै हुने थियो भन्ने अधिक जनताको विश्वास रहेको छ । तर फेरि नचाहेरै पनि तिनै पुराना अनुहारका बुख्याचाहरुलाई भोट नदिएर अरु कसलाई खोज्ने भन्ने प्रश्न पनि आम मतदाताको मानसमा पलाउन थालेको छ ।
आम मतदाताले नचाहेरै पनि अबको चुनावमा सामान्य बहुमत एमाले पार्टीको हुनेवाला छ भने त्यसैका अध्यक्ष केपी ओली पुनः नेपालको कार्यकारी प्रधानमन्त्री बनेर फेरि पनि उखान टुक्काकै भरमा देश चलाउने जमर्कोमा लाग्नेछन् । त्यसपछिका दिनमा उही भागवण्डाकै कुरा, कमिसन र घूसखोरीकै कुरा, तँ जित्ने कि म जित्नेका अहंताले भरिएका कुराले हामी आम नेपाली जनताको दिमाग चाट्न थाल्नेछ ।
ओली पुनः प्रधानमन्त्री बनेपछिका दिनमा उनको हैसियत पहिलोचोटि प्रधानमन्त्री बन्दाको तुलनामा १० गुना बढेर जानेछ । अहिले टिक नपाएर के गरौँ के गरौँ भएका नेताहरु पनि ओलीसँगै आत्मसमर्पण गर्न बाध्य बन्नुपर्नेछ । यसरी बाहेकमा परेका सबैसँग छुट्टै राजनीतिक दल खोल्ने समथ्र्य हुँदैन भने पार्टी खोल्ने सामथ्र्य राखे पनि एक्लो बृहस्पति बन्न पुग्छन् । माओवादीबाट विद्रोह गरेर गएका नेता डा. बाबुराम भट्टराई प्रवृत्तिका नेताले आफूले खोलेको राजनीतिक दललाई हाँकेर लैजान कसरी असफल भए भन्ने प्रश्नको उत्तर खोज्न सकेमा धेरै कुरा प्रस्ट हुनेछ ।
आखिर जे भए पनि अहिलेको आम चुनावबाट पनि देशले कुनै त्राण पाउला भन्ने आशा हराएर जान थालेको छ । पुरानै नेतृत्व, पुरानै सोचविचार, पुरानै तरिका, पुरानै उखान टुक्का आदिका भरमा अबका पाँच वर्ष देश चल्ने भएपछि आम नेपाली मतदातालाई पाडो पाए पनि पाडी पाए पनि भतुवालाई बिगौती भन्ने उखान चरितार्थ हुन पुगेको छ । दुई–चार स्थान वा क्षेत्रमा दुई–चार स्वतन्त्र उम्मेदवारहरु पनि विजयी बन्लान् तर दुई–चारजना विजयी बनेर केही अर्थ लाग्नेवाला छैन । नेपाल देश अबका पाँच वर्षसम्म पनि पुरानै नेतृत्व र शैलीमा चल्नेछ । त्यसैले कुनै ठूलो आशा र भरोसा नगर्नु नै उचित हुन्छ ।
प्रतिक्रिया