खेलाडीकै खर्चबाट प्रदेशको नाम लेखियो

0
Shares

पोखरा । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीले आफ्नै खर्चमा जर्सीमा प्रदेशको नाम र नम्बर लेखेर सहभागी भएका छन् । राष्ट्रिय खेलकुद परिषद्को बदमासीका कारण सुदूरपश्चिम प्रदेशको ह्यान्डबल टोलीले आफ्नै खर्चमा प्रदेशको नाम र अंक लेखाएका हुन् ।

भद्रगोल तरिकाले खेलाइएको प्रतियोगितामा हेपाहा तरिकाले जर्सी दिएको खेलाडीहरूले गुनासो गरेका छन् ।
आफ्नो प्रदेशको नाम लगाएर खेल्ने सपनालाई साकार पार्न आफ्नै खर्चले प्रिन्ट गराए पनि सुदूरपश्चिम प्रदेशको महिला ह्यान्डबल टोलीले भने त्यो अवसरसमेत गुमाएको छ ।

अव्यवस्थित तवरबाट भएको प्रतियोगितामा पर्याप्त जर्सी नहुँदा र दिएको जर्सीसमेत विपक्षी टोलीसँग जुध्दा विफ लगाएर खेलाडी खेल्न बाध्य भएका हुन् । राखेपले दिएको जर्सी देखेपछि आफूहरूलाई खेल्ने चाहनासमेत नआएको सुदूरपश्चिम प्रदेश महिला ह्यान्डबलकी कप्तान निलम रानाले सुनाइन् । निकै कष्ट तरिकाले प्रशिक्षण गरेर अभावका बाबजुत पनि खुसी भएर आए पनि पोखरा आएपछि निराशामा बदलिएको बताइन् ।

पोखरामा निकै समस्या खेपेको उनको भनाइ छ । ‘हामीलाई धेरै अप्ठेरो भयो । हामीलाई एउटा जुत्ता पनि दिएको छैन । पुरानै जुत्ता लगाएर खेलेका हौं । त्यसमाथि हामीले विफ लगाएर खेलेका हौं । यहाँबाट हामीले न त ट्रयाक पाएका छौं न त जुत्ता नै । मन त दुखेको छ नि त्यति टाढाबाट यहाँ आएका छौँ’ उनले भनिन् । आफुहरू राष्ट्रिय टिममा परिन्छ कि भन्ने उद्देश्यका साथ ठूलो आशा लिएर पोखरा आएको उनी सुनाउँछिन् ।

‘सुदूरपश्चिमदेखि खेल देखाउनका लागि यहाँ आएका हौँ । गेम देखाउँछु अनि टिममा पर्छु भनेर (राष्ट्रिय टिममा) आयौँ । अनि यहाँ सुविधा नै नदिएपछि कसरी खेल देखाउने ? मैले सातौं खेलेँ, आठौँ खेलेँ अरुबेला हामीलाई ट्रयाक दियो, जर्सी दियो, सबै सेट थियो यहाँ त खेल्दा लगाउने मात्रै त्यो पनि केही नलेखेको ।’ घरपरिवारले ऋण गरेर खेल्नका लागि पठाउँदासमेत आफ्नै क्षेत्रको जर्सी नलगाउँदा कहाँबाट खेलेको भन्ने नै नभएको उनी बताउँछिन् ।

‘घरमा पनि हाम्रो त्यस्तो केही छैन । धेरै समस्या छ । आमा बाबाले ऋण झिकेर दिएको हो । अरुबेला जर्सीसँगै जुत्ता पनि पाइन्थ्यो । अहिले त जुत्ता पनि पाइएन’ त्यसैमा थपिन्,‘ त्यहाँबाट आउँदा हामी धेरै खुसी थियौँ । हामी यो फाटेको जुत्ता लगाउन पर्दैन भनेर यहाँ आउँदा न जुत्ता छ न ट्रयाक छ । राष्ट्रिय खेलकुदको सबै ठाउँमा दिन्छन् । यसपालि हामीलाई खै किन दिएनन् ।’
जर्सी पाएपछिको क्षण सुनाउँदै उनी भन्छिन्,‘सामान्य जर्सी थियो । हामी खेलाडीहरूले नै पैसा उठाएर आफँै प्रिन्ट गरेका हौँ । हामी कसैले ३ सय, कसैले दुई सय त कसैले एक सय रुपैयाँ हालेर प्रिन्ट गरेका हौँ । सुदूरपश्चिम लेखेको हुन्थ्यो यहाँ सिम्पल छ योभन्दा हाम्रो घरको जर्सी राम्रो छ । कम्सेकम सुदूरपश्चिम त लेखेको त छ ।’

‘गण्डकीको गण्डकी हुन्छ । तर, यसपालि सामान्य पायौँ । त्यो पाउँदा सबैको मन दुख्याथ्यो । साथीहरूले त खेल्दै नखेल्नेसमेत भनेका थिए । गुरुहरूलाई पनि नराम्रो लागेको थियो । सम्बन्धित निकायमा भनेका थियौँ केही भएन ।’ उनका अनुसार केही खेलाडीले त अर्काको जुत्ता लगाएर खेलेको सुनाइन् ।

सुदूरपश्चिम महिला ह्यान्डबलका प्रशिक्षक कुवेर जित सावंदले खेलाडीले खेल्दा लगाउने पोसाकसमेत पूरा नपाएको बताए । उनले खेलाडीले पाउनुपर्ने सामान्य पोसाकमा समेत राखेपले छुट्याएको सुनाए । उनले गण्डकीसँगको खेल अन्तराष्ट्रिय मापदण्डअनुसार नदेखिएको बताए । ‘यो अन्तर्राष्ट्रिय नियमअनुसार छैन । हामीलाई जर्सी मात्रै उपलब्ध गराइयो त्यसमा कुनै प्रिन्ट थिएन । अन्तिम समयमा हाम्रो आफ्नै खर्चमा प्रिन्ट गराएर ल्यायौँ ।’

उनले थपे, ‘आखिर आफ्नो ठाउँबाट खेलेको भन्ने चिनारी भनेकै पोसाक हो । त्यो नै छैन भनेपछि आफैँ छपाउनुपर्ने कस्तो विडम्बना ? खेलाडीले पाँचौंदेखि आठौंसम्ममा पोसाक समयमै पाएका हुन् । तर, अहिले खाली कट्टु र भेस्ट मात्रै पाएका छन् । बाकीँ पाउने नपाउने थाहा छैन । कति खेलाडीले त जुत्ता नै नलिएर यहीँ पाइन्छ र त्यहि लगाएर खेल्ने भनेर आएका रहेछन् । तर, त्यसो भएन ।’

उनले केही नलेखेको सादा पोसाक आएको र त्यसमा पनि प्रशिक्षक र व्यवस्थापकको भने फिर्ता लगेको सुनाए । ‘यहाँ केही नलेको खेलाडीको लागि मात्रै जर्सी आयो । प्रशिक्षक र व्यवस्थापकका लागि त केही पनि छैन ।’ उनले भने, ‘सुरुमा कोच र म्यानेजरका लागि आएको थियो । पछि होइन् फिर्ता गर्नपर्छ भनेर खबर आयो हामीलाई त्यो तुरुन्त फिर्ता गर्नू भनेपछि अलग्गै राखेका छौँ । लगाएका छैनौँ अब बुझाउने छौँ । खेलाडीका लागि भद्रगोल भएको उनले सुनाए । खेलमा कुनै चिनारी नरहेको उनले बताए ।

राष्ट्रिय खेलकुदमा समेत विफ लगाएर खेल्नुपर्ने अवस्था भनेको निकै लाजको विषय रहेको ह्यान्डबलका एक केन्द्रीय पदाधिकारीले बताए । उनले राखेपले ठूलो गल्ती गरेको सुनाए । ‘राष्ट्रियस्तरको प्रतियोगिता भन्ने अनि खेलाडीले विफ लगाएर खेल्नुपर्ने ? यो कस्तो व्यवस्थापन हो ? राखेपको कम्जोरीले खेलाडीको मानसिकतामा ठूलो असर परेको महुसुस गरेको छु’ पदाधिकारीले भने,‘कम्सेकम टाइसिट बनाउँदा कुन रंगको जर्सी हो भन्ने त हुन्छ त्यो पनि छैन । अझ मधेस प्रदेशका खेलाडीले त हातैले अंक लेखेर खेलेका थिए ।’

राखेपले प्रतियोगिताको उद्घाटनका लागि जति तडकभडक गरेको छ खेलाडीहरूको व्यवस्थापनमा भने त्यति नै कम्जोरी देखाएको छ । खेलाडीलाई समयमै पोसाक दिन नसकेको राखेपले उल्टै दिएको पोसाकसमेत फिर्ता मागेको हो । ती पदाधिकारीका अनुसार नवौंको मुख्य सचिवालय नै रहेको कभर्डहलमा विद्युतको उचित व्यवस्थापन नहुँदा समय समयमा लाइन जाँदा खेलमा अवरोध आएको छ ।