उम्मेदवारको नामावली आज सार्वजनिक हुँदै

0
Shares

काठमाडौं । 

यही मंसिर ४ गते सोमबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरूको नामावली बुधबार प्रकाशन हुने भएकाे छ ।

७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत कार्यालय र ८८ निर्वाचन अधिकृत कार्यालयमा परेको सोमबार परेको उजुरीमाथि छानबिन गरी आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेकाे हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुनेछ ।

यसैबीच आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मनोनयन कायमै राख्ने निर्णय गरेको छ । देउवाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने निर्णय गरिएको हो ।

आयोगले प्रकाशन गर्ने नामावलीहरूमध्ये कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा आज बुधबार बिहान १० बजेदेखि १ बजेसम्मको समयमा फिर्ता लिन सक्नेछन् । त्यसपछि आज दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभाका लागि २ हजार ५ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका थिए, त्यसमा २ हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिला रहेका छन् ।

प्रदेश सभाका लागि ३ हजार ४ सय ७६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसै गरी ९ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा ८ सय ५८ पुरुष र ८५ महिला रहेका छन् ।

शिक्षक र कर्मचारीलाई कारबाही शुरू

निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारबाही शुरू गरेको जनाएको छ ।

निर्वाचन आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोस्ट वा सेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ ।

आयोगले सो आचारसंहिता, २०७९ को अनुगमन गर्दा आचार संहिताको प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत् कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरू राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ– ‘त्यसरी प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकहरूले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारहरूका प्रचार सामग्रीहरूको सेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएकाले आयोगले आवश्यक कारबाही प्रारम्भ गरिएको छ ।’

आचारसंहिता, २०७९ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक, सरकारी वा गैरसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचरणहरूबारे स्पष्ट व्यवस्था गरिएको छ ।