देशको अर्थतन्त्र हाँक्न को आउला ?

0
Shares

काठमाडौं

नयाँ निर्वाचनका निम्ति उम्मेदवारी दर्ता भएसँगै आर्थिक क्षेत्रमा देशको ‘नयाँ अर्थमन्त्री को बन्ला ?’ भन्ने विषयमा विभिन्न अड्कलबाजी हुन थालेको छ । देशको आर्थिक अवस्था संकटबाट गुज्रिरहेकाले अर्थतन्त्र हाँक्ने व्यक्तिका विषयमा चासो बढेको हो ।

राष्ट्रिय ढुकुटीको तालाचाबी बोक्ने राजनीतिक पद ‘अर्थमन्त्री’ आफैँमा आकर्षणको पद मानिन्छ । तथापि, यसपटक अन्तर्राष्ट्रियरूपमै आर्थिक संकट बढ्दै गएको सन्दर्भमा नेपालको अर्थतन्त्रलाई अगाडि बढाउने नेतृत्वको विषयमा अहिलेदेखि नै चर्चा हुनु स्वभाविक रहेको सरोकारवालाहरूको जोड छ । नयाँ निर्वाचन भई सरकार गठन हुन कम्तीमा पनि दुई महिना अझै समय लाग्छ । यस अवधिमा देशको अर्थतन्त्र अहिलेकै नेतृत्वले हाँक्छ । त्यसपछिको नेतृत्वका विषयमा चासो राखिएको हो ।

कोभिड–१९ का कारण थला परेको विश्व अर्थतन्त्र तथा रूस–युक्रेन युद्धका कारण उत्पन्न नयाँ घटनाक्रमले अर्थतन्त्रमा पारेको प्रभावको बाछिटा नेपालमा पनि परेको छ । अझ दक्षिण एसियाली देशहरूमाथि मडारिइरहेको आर्थिक संकटको बादल चिर्न सक्ने नेतृत्व आओस् भन्ने अपेक्षा आर्थिक जगतमा हुनु स्वभाविक पनि रहेको यस क्षेत्रका व्यक्तिहरूको भनाइ छ ।

अहिले निर्वाचनका बेला यो वा त्यो व्यक्तिले निर्वाचन जित्नुपर्छ र अर्थमन्त्री हुनुपर्छ भन्ने तर्क गर्नु असान्दर्भिक हुन्छ । तर, अबको अर्थमन्त्री राजनीतिक व्यक्ति मात्र होइन राष्ट्रिय अर्थतन्त्र बुझेको, अन्तर्राष्ट्रिय दातृ निकायसँग भिजेको, आर्थिक दृष्टिकोण भएको अनुभवी व्यक्तिको आवश्यकता रहेको यस क्षेत्रका जानकारहरू बताउँछन् ।

नेपालको राजनीतिले एउटा अध्याय पूरा गरिसकेका कारण अब आर्थिक एजेन्डालाई अगाडि बढाउनुपर्ने जनस्तरबाटै आवाज उठेको छ ।त्यसमाथि अहिले देखिएको विश्वव्यापी आर्थिक मन्दीले जनभावनालाई थप बल पुगेको छ ।अहिलेसम्मको राजनीतिक परिदृश्यले नयाँ सरकारमा कांग्रेस, एमाले, माओवादी केन्द्रजस्ता पार्टीको वरिपरिबाटै नयाँ अर्थमन्त्री बन्ने सम्भावना देखिन्छ । दुई महिनाको अवधिमा नयाँ राजनीतिक घटनाक्रम विकास भई अर्कै माहौल निर्माण नभएसम्म पुरानै राजनीतिक शक्ति नै नेतृत्वमा आउने विश्लेषण गरिन्छ । यो अवस्थामा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिएका व्यक्तिहरूमध्ये को नयाँ अर्थमन्त्री बन्न सक्छ भन्ने विषयमा अड्कलबाजी भएको हो ।

त्यसो त विगतको अनुभवमा प्रतिनिधिसभामा निर्वाचित अर्थशास्त्री र अर्थतन्त्रमा ज्ञान भएका व्यक्ति मात्र अर्थमन्त्री हुन्छन् भन्ने छैन । सरकार सञ्चालकले विश्वास गरेका गैरआर्थिक क्षेत्रका व्यक्ति पनि अर्थमन्त्री भएका उदाहरण छन् । यद्यपि, अब विगतको जस्तो शैलीबाट अर्थतन्त्र हाँक्ने व्यक्ति आउँदा देशको अर्थतन्त्र दुर्र्घटनामा पर्न सक्ने खतरा यस क्षेत्रका जानकारहरू औंल्याउँछन् ।विगतमा अर्थमन्त्री भइसकेका तथा देशको अर्थराजनीतिमा भिजेका व्यक्तिहरू डा. रामशरण महत, महेश आचार्य, डा. युवराज खतिवडा, कृष्णबहादुर महराजस्ता व्यक्ति चुनावी रिङ बाहिर छन् । त्यस्तै, चुनाव लड्ने इच्छा देखाएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू प्राडा गोविन्दराज पोखरेल, डा. स्वर्णिम वाग्ले, प्राडा पुष्पराज कँडेल,

अर्थशास्त्रीसमेत रहेका पूर्वसांसद् डा. डिल्लीराज खनाल, डा. विजय पौडेललगायतले टिकट नै पाएनन् । नेपालको संविधानले ६ महिनासम्म गैरसांसद व्यक्ति मन्त्री बन्न सक्ने छुटलाई उपयोग गर्दै बेलाबखत म्यादी मन्त्री बनाइने गरेको छ । त्यसका लागि नेतृत्वले चाहेमा अहिले चुनाव जितेर आउनै पर्छ भन्ने छैन । प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक सूचीमा नपरेका व्यक्ति राष्ट्रियसभामार्फत् सांसद् बनेर सरकारमा सहभागी हुन पनि सक्छन् ।

यसपटक वर्तमान अर्थमन्त्रीसहित जम्मा पाँच जना अर्थ मन्त्रालय पुगेका व्यक्ति प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धामा छन् । जसमध्ये वर्तमान अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल रुपन्देही–२, सुरेन्द्र पाण्डे चितवन–१, वर्तमान सञ्चारमन्त्रीसमेत रहेका पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी–४ र वर्षमान पुन रोल्पाबाट प्रतिस्पर्धामा छन् ।

त्यस्तै, राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत रहिसकेका परराष्ट्रमन्त्री डा. नारायण खड्का उदयपुर–१ र राष्ट्रिय योजना आयोगका निर्वमान उपाध्यक्ष डा. विश्व पौडेल चितवन–१ बाट चुनाव लडेका छन् । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समानुपातिक सूचीमा छन् । साथै, यसपटकको निर्वाचनमा एक दर्जनभन्दा व्यक्ति प्रतिनिधिसभाको प्रत्यक्षतर्फबाट निर्वाचनमा होमिएका छन् ।