आधिकारिक उम्मेदवारविरुद्ध दुवै गठबन्धनमा विद्रोहको ज्वाला

शीर्ष तहबाट गुट, नोट र निकटताका आधारमा टिकट वितरण गरिएको आरोप

0
Shares

काठमाडौं । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोहको ज्वाला दन्किएको छ । राजनीतिक वैचारिक र जनताका एजेन्डा बोक्नसक्ने युवा पुस्तालाई पाखा लगाउँदै निरन्तर खाईपाई आएका, पौसावाला र गुटका आधारमा टिकट वितरण भएको भन्दै गठबन्धन दलहरूभित्रै विद्रोको ज्वाला दन्किएको हो ।

पटक–पटक चुनाव लड्दै आएका पुरानै अनुहार, तिनका निकटता र नोटवालालाई टिकट दिएपछि सत्ता र प्रतिपक्ष दुवै समूहका नेताकार्यकर्ताले विद्रोह गर्न बाध्य भएको बताएका छन् । मङ्सिर ४ मा हुने यो निर्वाचनमा सत्ता र प्रतिपक्ष गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ । विगत २०७४ अघिका निर्वाचनमा दलहरूबीच गठबनधन गरेर चुनावमा जाने चलन थिएन । ०७४ मा एमाले–माकेले चुनावी तालमेल गरेपछि दलहरूमा कसले कोसँग कतिखेर गठबन्धन गर्छ र आफूलाई सिध्याउँछ भन्ने त्रास रहँदै आयो । सत्ता गठबन्धन गरेको कांग्रेस–माओवादी–नेकपा एकीकृत समाजवादीबीच त्यही त्रासका कारण चुनावी तालमेल हुन पुग्यो । त्यसैको भयले पोलेको प्रतिपक्ष दल नेकपा एमालले सानातिना दलहरू जोरजाम गरेरै भए पनि थोरै बल थपिने मनसायका साथ गठबन्धनको ढोका खोलेपछि राप्रपा, जसपा, राप्रपा नेपाल, जनमत पार्टीलगायत सात दलहरू एक ठाउँ भएर सत्ता गठबन्धनविरुद्ध लागेका छन् ।

जसरी पनि चुनाव जित्नुपर्ने त्यसमा पनि आफैंले जित्नुपर्ने भन्ने दलका शीर्षस्थ नेताहरूको सोचका साथ राजनीतिक विचार नमिल्नेहरूसँग समेत गठबन्धन गरेका कारण आन्तरिक पार्टी राजनीतिमा क्षति पुग्दै गएको छ । जसको परिणम यो निर्वाचनमा शीर्ष नेताहरूविरुद्ध नै बागी उम्मेदवारी दिनेहरूको लहर चलेको देखिन्छ ।

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संसदीय निर्वाचनमा हालसम्म सातौंपटक मनोनयन दर्ता गराउनुभयो । उहाँ २०४८ देखि निरन्तर संसद्मा प्रतिनिधित्व गर्दै पटकपटक मन्त्री र पाँचपटक प्रधानमन्त्री भइसक्नुभएको छ । देउवाले पत्नी आरजु राणा देउवामार्फत गृहनगर डडेलधुराबाट उम्मेदवारी दर्ता गराएसँगै देउवाकै पूर्वस्वकीय सचिवसमेत रहेका कांग्रेस पूर्वजिल्ला सभापति कर्ण मल्लले पनि सोही क्षेत्रबाट मनोनयन गर्नुभयो । बीपी कांग्रेसबाट मनोनयन दर्ता गराउनुभएका मल्ललाई एमालेले समर्थन गरेको छ । डडेलधुराबाट ६ पटक चुनाव जितेर पाँचपटक प्रधानमन्त्री भए पनि जिल्ला र क्षेत्रको विकासमा उल्लेख्य काम गर्न नसकेको मुद्दा अघि सारेर मल्ल आफ्नै राजनीतिक अभिभावक देउवाविरुद्ध होमिनुभएको हो  । त्यस्तै, देउवालाई विश्राम गर्न लगाउनुपर्ने भन्दै अर्का युवा सागर ढकालले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

त्यसै गरी कैलाली–५ मा देउवा पत्नी आरजु राणाले आफू समानुपातिकमा बसेर डिल्लीराज पन्तलाई गठबन्धनबाट उम्मेदवार बनाएपछि कांग्रेस नेता पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सोही निर्वाचन क्षेत्रको ‘ख’ प्रदेश क्षेत्रबाट आरजुका स्वकीय सचिव प्रकाश देउवालाई उम्मेदवार बनाइएको भन्दै उनको उम्मेदवारीविरुद्ध नेविसंघका पूर्वउपाध्यक्ष क्षितिज भण्डारीले बागी हाल्नुभएको छ । प्रधानमन्त्री देउवा र आरजुको हैकमविरुद्ध आफूले बागी उम्मेदवारी दिएको भण्डारी बताउनुहुन्छ ।

कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ–१ मा यसपटक पनि गोविन्दराज जोशीले बागी उम्मेदवारी दिनुभएको छ । पटक–पटक मन्त्री र पार्टी सहमहामन्त्री हुनुभएका जोशीको उम्मेदवारीले पौडेललाई चुनौती थपेको छ । ०७४ को संसदीय निर्वाचनमा पनि जोशीले पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका जोशीलाई भ्रष्टाचार मुद्दा सर्वोच्चमा विचाराधीन रहेको कारण देखाएर जोशीको उम्मेदवारी खारेज भए पनि रामचन्द्र पौडेलले एमालेका किसान श्रेष्ठसँग हार बेहोर्नुपरेको थियो । हाल नेकपा एकीकृत समाजवादीबाट बारा ४ मा गठबन्धनको उम्मेदवार बन्नुभएको किसान श्रेष्ठको विरुद्धमा कांग्रेस नेता इच्छाबहादुर वाग्ले उम्मेदवार बन्नुभएको छ ।

सोही क्षेत्र प्रदेशसभा (क) मा निरू रायमाझीले समेत बागी उम्मेदवारी दिनुभएको छ ।सत्ता गठबन्धनको तर्फबाट माओवादी अध्यक्ष पुष्पकमल दाहालले मनोनयन दर्ता गराएको गोरखा–२ मा कांग्रेसकी माधवी भट्टले बागी उम्मेदवारी दिएकी दिनुभएको छ । सत्यनिरूपण तथा मेलमिलाप आयोगकी पूर्वसदस्य भट्ट स्थानीय हुन् । दाहाल चितवन–३ बाट उम्मेदवार बन्ने इच्छा राखे पनि गठबन्धनका नाममा चितवनमा कांग्रेसलाई सधैं छायामा राख्न खोजिएको भन्दै बागी उम्मेदवारी दिने चेतावनी दिएपछि दाहाल हच्किएर गोरखा पुग्नुभएको हो । त्यहाँ आफूलाई दाहालले सुरसक्षत महसुस गरेर जानुभएको बताइएको छ ।

चितवन–३ मा माओवादीकै भोजराज अधिकारीलाई अघि सारेपछि त्यसको विरोधमा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले उम्मेदवारी दिनुभएको छ । भरतपुरको मेयरमा दाहालपुत्री रेनुविरुद्ध उम्मेदवारी दिएका जगन्नाथ पौडेलले पनि उक्त क्षेत्रमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।कांग्रेसका पूर्वसांसद अमरेशकुमार सिंहले सर्लाही–४ बाट बागी उम्मेदवारी दिनुभएको छ । उक्त निर्वाचन क्षेत्रमा कांग्रेसकै नागेन्द्रकुमार रायलाई गठबन्धनका तर्फबाट उम्मेदवार बनाइएको छ । सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतविरुद्ध कांग्रेसका पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले विद्रोह गर्नुभएको छ । सिन्धुपाल्चोक–१ माओवादीले पाएपछि बस्नेतलाई २ नम्बरबाट टिकट दिएपछि कार्यकर्तामा असन्तुष्टि बढेको हो ।

गठबन्धनबाट माओवादीले पाएको क्षेत्र नंं १ मा पनि नेपाली कांग्रेस सुनकोसी गाउँपालिका–२ का सभापति रामकुमार जीसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।उता, राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिह्नबाट उम्मेदवार बनाइएपछि एमाले कार्यकर्ताले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । थापालाई जिताउन एमाले अध्यक्ष केपी ओलीले मकवानपुर १ मा उम्मेदवारी उठाउनुभएको छैन । एमाले स्थायी कमिटी सदस्य प्रभु साहले रौतहट ३ मा स्वतन्त्रको हैसियतमा मनोनयन दर्ता गराउनुभएको छ । एमाले जसपा तालमेल गर्दा जसपाको भागमा परेका सबै क्षेत्रमा नेता साह समूहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । आफ्नो नेतृत्वमा एमाले प्रवेश गरेका अन्य नेतालाई एमालेले टिकट नदिएको भन्दै गठबन्धनका विरुद्धमा उम्मेदवारी दर्ता गराएको साहले बताएउनुभयो ।

त्यस्तै, रूपन्देही ५ मा एमालेका आधिकारिक उम्मेदवार खिमलाल भट्टराईविरुद्ध एमाले प्रदेश कमिटी सदस्य वासुदेव घिमिरेले बागी उम्मेदवारी दिनुभएको छ । मनोनयन दर्ताको केही समयअघि घिमिरेको टिकट खोसेर एमालेले राष्ट्रिय सभा सदस्य भट्टराईलाई उम्मेदवार बनाएपछि पार्टी कार्यकर्तामा असन्तुष्टि चुलिएको छ । ओलीको स्वेच्छाचारी प्रवृत्तिप्रति सम्झौता गरिरहन नसक्ने भन्दै एमाले त्याग गरेका घनश्याम भुसालले सत्ता गठबन्धनको समर्थनमा रूपन्देही १ स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो । तर, निर्वाचन आयोगले एमालेबाट सबैभन्दा पहिला उम्मेदवारी दर्ता गरेका बासुदेव घिमिरेलाई आधिकारिक दिएको छ । यो निर्णयसँगै खिमलालले घिमिरेलाई चुनाव हराउन लाग्ने परिस्थिति आएको रूपन्देहीका एक एमाले नेताले बताए ।

त्यस्तै, दाङ १ मा एमालेका आधिकारिक उम्मेदवार शान्ता चौधरीविरुद्ध गंगा चौधरीले बागी हाल्नुभएको छ भने काठमाडौं–७ मा एमालेबाट टिकट नपाएपछि रामवीर मानन्धरले पनि विद्रोह गर्नुभएको छ । एमालेबाट कास्की–३ मा पनि बागी उम्मेदवारी परेको छ । एमालेका आधिकारिक उम्मेदवार दामोदर बैरागीविरुद्ध प्रदेश सचिवालय सदस्य जगन्नाथ बास्तोलाले बागी उम्मेदवारी दिनुभएको हो ।कैलालीमा टिकट वितरणमा असन्तुष्टि प्रकट गर्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मानबहादुर रावलले पार्टीबाटै राजीनामा गर्नुभएको छ । दैलेख १ मा एमालेका आधिकारिक उम्मेदवार रवीन्द्रराज शर्माविरुद्ध एमाले नेता गोपाल नेपालीले विद्रोह गर्नुभएको छ । त्यस्तै, स्याङ्जा–२ मा पनि एमाले सचिव पद्मा अर्यालविरुद्ध कपिलदेव न्यौपानेले बागी उम्मेदवारी दिनुभएको छ । एमाले–जसपा गठबन्धनका उम्मेदवार प्रमोद साहविरुद्ध सर्लाहीमा एमालेका मानबहादुर खड्काले बागी उम्मेदवारी दिनुभएको खड्का समर्थित नेताहरूले बताएका छन् ।

यता, काठमाडौं १० मा सत्ता गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार राजन केसीविरुद्ध माओवादी स्थायी कमिटी सदस्य अञ्जना विशंखेले उम्मेदवारी दिनुभएको छ  । त्यस्तै, धनकुटामा कांग्रेसका सुनीलबहादुर थापाविरुद्ध माओवादीको पोलिटब्युरो समितिबाट राजीनामा दिएका हेमराज भण्डारी बागी उठ्नुभएको छ । माओवादीका सप्तरी इन्चार्ज अशोककुमार मण्डलले सप्तरी १ मा बागी उम्मेदवारी हाल्नुभएको छ । कपिलवस्तु १ मा गठबन्धनका तर्फबाट माओवादीका सचिव एवं पूर्वमन्त्री चन्द्रप्रसाद खनालविरुद्ध कांग्रेसका ललित गुरुङले बागी दिनुभएको हो । गठबन्धनका तर्फबाट कास्की ३ का माओवादी उम्मेदवार रामजी बरालविरुद्ध अनिता भुर्तेलले उम्मेदवारी दिनुभएको छ ।

एता, माओवादी उपमहासचिव हरिबोल गजुरेलले सिन्धुली २ बाट टिकट नपाएपछि असन्तुष्टि व्यक्त गर्नुभएको छ । गुल्मी २ मा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस गुल्मीका क्षेत्रीय सभापति दामोदर भुसालले बागी उम्मेदवारी दिनुभएको छ । कास्की–२ मा एकीकृत समाजवादीका श्रीनाथ बरालविरुद्ध पनि कांग्रेसका पूर्वराज्यमन्त्री महादेव गुरुङको स्वतन्त्र उम्मेदवारी परेको छ । गठबन्धनका दलका शीर्ष नेताहरूको सधैं आफैं सत्ता र शक्तिमा बसिरहनुपर्ने प्रवृत्तिलाई दोहो-याउँदा कार्यकर्तामाझ यस्तो समस्या देखिएको राजनीतिक विश्लेषक जैनेन्द्र जीवन बताउनुहुन्छ । धेरै क्षेत्रमा नेताहरूले गठबन्धनको अर्थ बुझाउन नसकेपछि गठबन्धनले गरेको निर्णयलाई चित्त नबुझेर र एक्लै भए पनि आफैंले चुनाव जित्न सक्छु भन्नेहरूले विरुद्रको गरेको देखिएको उहाँले बताउनुभयो । केही क्षेत्रमा पार्टी नेतृत्वले गुटका आधारमा पेलेर जाँदा पनि विद्रोहको आस्था आएको उहाँको बुझाइ छ ।

 

देउवाको उम्मेदवारीविरुद्ध उजुरी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक–फरक भएपछि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।
डडेल्धुरामा कांग्रेस वीपीबाट उम्मेदवार बनेका कर्ण मल्लले देउवाविरुद्ध उजुरी दर्ता गराउनुभएको हो । ‘उहाँको उम्मेदवारी शतप्रतिशत खारेजी हुनुपर्छ’ –मल्लले भन्नुभयो ।